धादिङको तरकारी बिक्री गर्न साना किसान सहकारीको पहल

1352 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-लकडाउनका कारण  बजारको अभावमा हरेक दिन लाखौं रुपैयाँको तरकारी खेर गईरहेको समाचार आईरहेको बेला साना किसान कृषि सहकारी संस्था कुम्पुरले काठमाण्डौंमा तरकारी बिक्री केन्द्र संचालनमा ल्याएको छ ।

साना किसान कृषि सहकारी केन्द्रिय संघको संयोजनमा काठमाडौंको विभिन्न चार स्थानमा शुरु भएको तरकारी बिक्री वितरण केन्द्रमा धादिङका साना किसान सहकारीले मार्फत तरकारी लगेर बिक्री बितरण शुरु गरिएपछि किसानले थोरै भएपनि राहतको महसुस गरेका छन् ।

लकडाउन शुरु भएपछि विभिन्न जिल्लाबाट तरकारी आयात गरेर काठमाडौंमा बिक्री गर्दै आएको संघले बिहीबारबाट कपनमा पनि बिक्री बितरण थालेको हो । अध्यक्ष खेम पाठकको सक्रियतामा संघले यसअघि काठमाडौंको कलंकी,बसुन्धारा र स्वयम्भुबाट तरकारी बिक्री सुरू गरेको थियो ।


बिहीवारबाट कपनमा खुलेको बिक्री केन्द्रमा कुम्पुरबाट लगिएको ताजा तरकारीको बिक्री गरिनेछ । कपनको राधाकृष्ण चोकबाट सुरू गरिएका तरकारी बिक्री अभियानलाई वडाका कम्तीमा ५ स्थानमा पुर्याइने वुढानीलकण्ठ नगरपालिकका १२ का वडाध्यक्ष शम्भु भट्टराईले बताउनुभयो । वडाको खरिबोट र घटराज भट्टराईको शालिक छेउमा पनि तरकारी बिक्री केन्द्र स्थापना गर्न लागिएको वडाध्यक्ष भट्टराईले जानकारी दिनु भयो ।

बजारबाट गोलभेडा प्रति केजी रु।१००, घिरौला रु। ७० र करेला रु १६० मा खरिद गरिरहेका उपभोक्ताले सहकारीमार्फत बिक्री गर्न थालिएको तरकारी पसलबाट गोलेभेडा प्रति केजी रु ४०,घिरौला रु ३५ र करेला ६५ रुपैयाँमा किन्न पाएको वताएका छन् । बजारको भन्दा सस्तोमा सहकारीले ताज तरकारी उपलब्ध गराएपछि राजधानीका विभिन्न स्थानमा बिक्री केन्द्रको माग बढेको संघका केन्द्रिय अध्यक्ष खेम पाठकले जानकारी दिनु भयो ।

संघले देशैभरीका साना किसानहरुको हक हितका निम्ति काम गरिरहेको र व्यवसायिक रुपमा तरकारी उत्पादन गरेर पनि बिक्री गर्न नपाउँदा लाखौं नोक्सानी व्यहोर्न वाध्य किसानलाई थोरै भएपनि सहयोग पुगोस भनेर लकडाउनको बेलामा तरकारी बिक्रीको लागि पहल गरेको पाठकले वताउनु भयो ।

धादिङ लगायत अन्य जिल्लाका साना किसान कृषि सहकारी संस्था मार्फत किसानको उत्पादन राजधानी सम्म ल्याएर बिक्रीका लागि स्थान तय गर्न संघले समन्वय गरिरहेको पनि अध्यक्ष पाठकले वताउनु भएको छ ।

‘लडडाउनको बेला काठमाडौंमा तरकारी व्यववस्थामा थोरै भएपनि उपभोक्ता माग पुर्तिका लागि संस्थाले तरकारी विक्री थालेको हो’पाठकले भन्नु भयो ।

 

तरकारी विक्रीबितरणमा विचौलिया हावी हुने गरेका कारण उपभोक्ता मारमा थिए । तर, सहकारीबाट बिक्री थालेपछि सस्तो मूल्यमा ताजा तरकारी पाइएको उपभोक्ताले बताएका छन् ।