गल्छी आईपुगेका ८९ जना भारतीय नागरिक नुवाकोट फिर्ता

983 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १२ वैशाख- नुवाकोट जिल्लाको वेलकोटगढी नगरपालिकामा रहेका इँटाभट्टामा कार्यरत मजदुरलाई उद्योगले रातीको समय पारेर धादिङको गल्छीमा ल्याएर छाड्न थालेको छ ।

शुक्रवार विहान ४।३० वजे नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ८ ठूलोखोलामा रहेको एसपी इँटाभट्टा उद्योगबाट गल्छी ल्याएर छाडिएका ८९ जना भारतीय नागरिकलाई गल्छी प्रहरीले सम्वन्धित उद्योगमा फिर्ता पठाइदिएको छ । उद्योगका संचालक रामहरि नेपाल र दिलीप शाहसँग समन्वय गरी कामदार फिर्ता पठाइएको हो । नेपाल भारतको सिमा नाका सिल भएका कारण भारतीय नागरिकहरु उनीहरुको गाउँसम्म पुग्न सम्भव नभएकाले उद्योगमै फिर्ता पठाउनु परेको गल्छी ६ का वडा अध्यक्ष राजन श्रेष्ठले वताउनुभयो ।

गल्छी गाउँपालिकाले गल्छी प्रहरी चौकीसँग समन्वय गरेर चैत १३ गते देखि गल्छीचोकमा स्थापना गरेको हेल्प डेस्क मार्फत् पैदलयात्रीको स्वास्थ्य परीक्षण, उनीहरुलाई खाजा पानी खुवाउनुका साथै गन्तव्यसम्म पुग्न उपलब्ध मोटर चढाएर पठाइदिने गरिएको वडा अध्यक्ष श्रेष्ठले वताउनु भएको छ ।

हेल्प डेस्क स्थापना भएको एक महिनाको अवधिमा एक हजारभन्दा धेरैलाई गाउँपालिकाले प्रत्यक्ष सहयोग गरिसकेको र बेखर्र्ची भएकाहरुलाई गाउँपालिकालेनै मोटरको प्रवन्ध गरेर उनीहरुको गाउँसम्म पु¥याईदिने गरेको गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले जानकारी दिनुभयो ।

शुक्रवार विहान आएका मजदुरहरु भारतीय नागरिक भएका कारण उनीहलाई गन्तव्यमा पठाउन नसकिने भएपछि उनीहरु काम गरिरहेका इँटाभट्टा उद्योग संचालकलाई सम्पर्क गरेर कामदार फिर्ता लैजान गल्छी प्रहरी चौकीले निर्देशन दिएको थियो । यस अघि पनि गल्छीबाट उद्धार गरिएका व्यक्तिहरु नुवाकोटको इँटाभट्टामा काम गर्नेहरु नै धेरै रहेको हेल्प डेस्कले जनाएको छ ।