फलिरहेको गोलभेँडा जोतेर बारीमा मकै छर्न थाले किसानले

1252 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । लकडाउनका कारण गोलभेँडा बेच्न नसकेपछि धादिङ गल्छी गाउँपालिकाका किसानले फलिरहेको गोलभेँडा जोतेर बारीमा मकै छर्न थालेका छन् ।

बजारको अभावले गोलभेडा बिक्री हुन छाडेपछि फलिरहेको बोटसहित जोतेर मकै रोप्न थालेको गल्छी गाउँपालिका कल्लेरीटारका कृषक रामकृष्ण खतिवडाले बताए । एकपटक पनि नबेची गोलभेडा लगाएको ठाउँमा ट्रयाक्टर लगाएर मकै रोपेको उनले बताए । गोलभेँडामात्रै होइन, बन्दा पनि नबिकेपछि भैँसीलाई खुवाएको उनी बताउँछन् ।

एक रोपनी जग्गामा लगाएको वर्णशंकर जातको गोलभेँडा चैत अन्तिम हप्ताबाट वैशाख तेस्रो हप्तासम्म टिपेर ८० हजार जति कमाई गर्ने आशा बोकेका सोही स्थानका वासुदेव खतिवडाको आशा कोरोना सन्त्रासको कारण निराशामा बदलिएको हो । २० हजार लगानी गरेर गोलभेँडा रोपेका उनले बजारमा व्यापारीले नकिन्ने भनेपछि जोतेर मकै रोप्नु परेको बताए ।

सोही ठाउँका सुव्वा श्रेष्ठले पनि २० हजारभन्दा बढी लगानी गरेर गोलभेँडा खेती गरेकोमा बेच्न नपाएको बताउँछन् । डेढ रोपनीमा गोलभेँडा खेती गरेका बलराम खतिवडाले जम्मा २० केजीमात्र गालभेडा बेचर बारी जोतेर मकै रोपेको बताउँछन् । स्थानीय जातको गोलभेँडा खेती गरेको र श्रम आफैँले गरेकाले सात हजारमात्र लगानी परेको उनको भनाइ छ ।

यहाँका प्रायः सबै परिवारले आफ्नो खेतबारीमा लगाएको तरकारी बेच्नै नपाई अहिले खनजोत गरिरहेका छन् । गोलभेँडासहित अन्य तरकारी बाली मासेर मकै रोप्न थालेको कल्लेरीटारका अर्का किसान रामबहादुर कार्कीले बताए ।

गल्छी गाँउपालिका वडा नं ७ डल्टारका कृषक उत्तम धितालले गत वर्षको तुलनामा यो वर्ष एक तिहाई मूल्यमा पनि बिक्न गाह्रो परेको बताए । धितालले काँक्रो बेच्न नपाएपछि त्यत्तिकै खेर फाल्नुभन्दा काठमाडौँबाट पैदल यात्रा गरेर घर फर्केकाहरुलाई वितरण गरेको सुनाए ।

गतवर्ष ४५ देखि ५० रुपैयाँ प्रतिकेजीसम्ममा बिकेको काँक्रो अहिले १२ रुपैयाँसम्म र गत वर्ष ३५ देखि ४० रुपैयाँमा विकेको गोलभेँडा १५ रुपैयाँसम्म मुस्किलले बिकेको उनी बताउँछन् । बिक्री गर्ने मुख्य समयमा बजार नभएका कारण कल्लेरीटारका अधिकांश किसानले तरकारी मासेर मकै छर्न थालेको हुन् ।