संक्रमित भेटिएपछि गल्छीको कटुवालपौवा गाउँ सिल

1352 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी । बिहीवार साँझ ८. ३० वजेपछि धादिङ जिल्लाबासीमा शुरु भएको एउटा मनोबैज्ञानिक त्रास शुक्रवार विहानबाट केही कम भएको छ । स्वास्थ्य मन्त्रालयको बिहीबार राति साढे ८ बजेको बुलेटिनमा प्रसारित धादिङकी एक ३० बर्षिया महिला सहित अरु जिल्लाका समेत गरी ३ जना कोरोना संक्रमितको पुस्ट्याइँसँगै धादिङ जिल्ला वाहिर रहेका धादिङबासीका मनमा  ति महिला को हुन  ? कुन ठाउँकी हुन भन्ने हल्लीखल्ली भएको भयो । सो बुलेटिनमा धादिङकी ३० वर्षीया महिलामा पनि कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको थियो ।

संक्रमित महिला आफ्नो गाउँठाउँको कोही हो कि भनेर अड्कलवाजी गर्नेहरु राती देखिनै सामाजिक सञ्जालमा निकै सक्रिय भएका थिए । कतिले सरकारलाई गाली गर्न भ्याएका थिए भने कतिले स्थानीय प्रशासनले जिल्लामा आवागमन खुल्ला बनाईदिएको परिणाम भन्दै गाली गलौज मात्रै होइन आक्रोश पोख्न पनि भ्याएका थिए ।

विभिन्न अड्कालवाजी चलिरहेको बेला जिल्ला सुरक्षा समितिको बैठक शुक्रवार विहान गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित बैरेनी हेल्थपोष्टको सभाहलमा बस्न थालेपछि धेरैको ध्यान गल्छी गाउँपालिका तिर सोझिएको थियो ।

धादिङको गल्छी गाउँपालिका वडा नं ८ कटुवाल पौवा गाउँक्षेत्रलाई शिल गर्ने जिल्ला सुरक्षा समितले निर्णय गरेको छ । कटुवाल पौवा घर तथा माइत भई हाल काठमाण्डौंको चन्द्रागिरि नगरपालिका वडा नं १२ सतुंगलमा कोठा भाडामा लिएर बस्दै आईरहेकी ३० बर्षिया महिलामा कोरोना संक्रमण भएको पुष्टि भएपछि ति महिला गाउँमा आउँदा भेट भएका आफन्त, मेलापात जाँदा भेट भएका गाउँले र अन्य नजिकका व्यक्तिको पहिचान गरी पिसिआर परिक्षण गर्न र थप संक्रमण फैलन नदिन जिल्ला सुरक्षा समितिले स्थानीय जनप्रतिनिधिहरुसंगको संयुक्त बैठक बसि गाउँ क्षेत्रलाई शिल गर्ने निर्णय गरेको हो । ९ बर्ष देखि उनिहरु काठमाण्डौंमा बस्दै आईरहेका छन ।

महिलाका पति सडक निर्माण कम्पनीमा कार्यरत छन । लकडाउन पछि सात बर्षिय छोरालाई लिएर महिला र उनको श्रीमान गाउँ आएका थिए । चैत १८ गते मोटरसाईलमा आएका उनिहरु फकिंदा पनि सोही मोटरसाईकल प्रयोग गरेका थिए । ४० दिन घरमा बसेपछि बैशाख २८ गते उनीहरु काठमाण्डौ फर्किएका हुन । उनी घरमा केही समय बसेर मेलपात जाने बजार आउजाउ गर्ने गरेकी थिइन् । तर उनी वैशाख २८ गतेमात्रै काठमाडौं फर्केकी थिइन् । काठमाडौं डेरामा उनलाई रुघाखोकी लाग्ने र ज्वरो धेरै आएपछि सतुंगलस्थित सशस्त्र प्रहरी अस्पतालमा जँचाएपछि मात्रै रोग थाहा भएको हो । स्वाब परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको छ भने पति र छोराको आरडिटी रिपोर्ट नेगेटिभ देखिएपनि उनिहरुको पिसिआर परिक्षण हुँदैछ ।

उनी गाउँमै हुँदा भाइरस संक्रमण सुरु भएको शंकामा गल्छी गाउँपालिकालाई धादिङ जिल्ला प्रशासनले शिल गरेको छ । जिल्ला सुरक्षा समितिको शुक्रबार बिहानको निर्णयअनुसार गल्छी गाउँपालिकाको केही क्षेत्रलाई शुक्रबार बिहानदेखि नै शिल गरिएको छ ।

जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षता र त्यस क्षेत्रका जनप्रतिनिधिहरुसहितको शुक्रबार बिहानको संयुक्त बैठकले गाउँलाई   शिल गर्ने निर्णय गरेको थियो ।निषेधाज्ञा जारी गरिएको चार किल्लाभित्र कसैलाई पनि बाहिर निस्कन र आवतजावत गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। सुरक्षा समितिले संक्रमित महिलासँग प्रत्यक्ष सम्पर्कमा आएका सबैलाई सम्पर्क गरी क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउन गल्छी गाउँपालिकालाइ निर्देशन दिएको छ।

सोही निर्णयअनुसार गल्छी गाउँपालिका वडा नं ८ को पूर्वमा चैनपुर चुली, पश्चिममा नेपाली सेना ६ नम्बर बाहिनी अड्डा, उत्तरमा महेशखोला र त्रिशूली नदी तथा दक्षिणमा पृथ्वी राजमार्गको गल्छी बजारबाट नुवाकोट जाने सडक बीचको क्षेत्रमा केही पनि आउजाउमा रोक लगाइएको हो । यी चारकिल्लाभित्र आगामी जेठ ६ गते राति १२ बजेसम्मका लागि संक्रामक रोग ऐनअनुसार निषेधाज्ञा जारी गर्दै शिल गर्ने निर्णय भएको जिल्ला सुरक्षा समितिले जनाएको  छ  ।