धादिङमा आलोपालो गरेर सामान ढुवानी हुने

1441 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १२ जेठ – लकडाउनको समयमा वजार क्षेत्रमा मालसामान ढुवानी गर्ने सवारीहरुको भिडभाड बढ्न थालेपछि धादिङमा स्थानीय तहलाई आलोपालो प्रणालीबाट सामान ढुवानी गर्ने व्यवस्था मिलाईएको छ ।

नेपाल सरकारले अति आवश्यक भनी तोकिएका बस्तुहरु र निर्माण सामाग्रीहरुको ब्यापार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म मानिसहरुका बिच दुरी कायम गरि बिक्री वितरण गर्न जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रले व्यवसायीहरुलाई निर्देशन दिएको छ । मालसामान ढुवानीका लागि भन्दै वजारमा साना गाडीहरुको प्रवेश बढ्न थालेपछि ढुवानीमा नयाँ व्यवस्था शुरु गरिएको धादिङका प्रमुख जिल्ला अधिकारीले अस्मान तामाङले जानकारी दिनुभयो ।

अति आवश्यकीय सामान लिएर पृथ्वीराजमार्ग भएर धादिङ जिल्ला प्रवेश गर्ने सवारी साधनलाइ जिल्लाको बेनिघाटरोराङ गाउँपालिकाको मझिमटारमा र सदरमुकाम क्षेत्रमा भित्रिने सवारी साधन नीलकण्ठ नगरपालिकाको ससाह प्रतिक्षालय (मैदी जाने चोक) मा कम्तिमा ६ घण्टा होल्ड गर्नुपर्ने संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ ।

निर्मलीकरण गरि आएका गाडीबाट विहान ५ देखि ८ र बेलुवका ५ देखि ८ बजेसम्म मात्रै सामान अनलोड गर्ने र अनलोड गर्ने सम्पुर्ण कामदारहरुको कोरोना सुरक्षा ब्यवस्था सम्वन्धित ब्यवसायीले मिलाउनुपर्ने निर्णय गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो ।

अब मालसामान ढुवानी गर्नको लागि जिल्लाको मध्य र उत्तरी क्षेत्रका विभिन्न स्थानीयतहको लागि छुट्टाछुट्टै बार तोकिएको छ । रुवीभ्याली र खनियावास गाउँपालिका क्षेत्रमा मालसामान ढुवानी गर्न आइतवार, नेत्रावती र गंगाजुमना पालिकाको लागि सोमबार, ज्वालामुखी र सिद्धलेक गाउँपालिकाको लागि मंगलवार, नीलकण्ठ नगरपालिका क्षेत्रको लागि बुधवार र विहीवार तथा त्रिपुरासुन्दरी गाउँपालिका क्षेत्रमा सामान ढुवानी गर्न शुक्रवार तोकिएको छ । उल्लेखित नियम बमोजिम अत्यावस्यकिय सामान ढुवानीको अनुगमन गर्न र अनावश्यक सवारी आवागमनमा रोक लगाउन शसस्त्र प्रहरीलाइ जिम्मा दिइएको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।

आईतबार सम्पन्न भएको केन्द्रको बैठकले धादिङ जिल्ला र सदरमुकाम धादिङवेशी भित्रिने सवै मालवाहक सवारी साधनले अनिवार्य निर्मलीकरण गर्नुपर्ने निर्णय गरेको हो । जिल्लाका खाद्यान्न ब्यवसायीहरुले संकटग्रस्त जिल्लाबाट नियमित सामान ढुवानी गरिरहँदा कोरोनाको जोखिम बढेको र साना ब्यवसायीलाई पसल बन्द बाध्य पारिएको भन्दै आईतबार दिउँसो सदरमुकामका अधिकांश पसलहरु खुलेका थिए ।

लकडाउनको अवज्ञाहुने गरि वजार खुलेको भन्दै सर्वत्र विरोध आउन थालेपछि संकट व्यवस्थापन केन्द्रले वजार वन्द गर्नुका साथै धादिङ भित्रिने सवारी साधनलाइ निर्मलीकरण अनिवार्य गर्ने निर्णय गरेको हो ।

संकट व्यवस्थापन केन्द्रले लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन कडाई गर्र्ने भएको छ । सदरमुकाम धादिङवेशीका वजारहरु आईतबार एक्कासी खुलेपछि संकट ब्यवस्थापन केन्द्र धादिङले बजार व्यवस्थापन गर्न नयाँ नियम लागु गरेको हो।

निजी क्षेत्रको प्रतिनिधित्व गर्ने तथा अन्य संघ संस्थाको शनिवार बसेको संयुक्त बैठकले धादिङ जिल्लाका अति आवश्यकिय सेवाका पसलहरु खोल्ने निर्णय गरेपछि स्थानीय प्रशासनले आईतबार ति पसलहरु वन्द गराएको छ ।

ठुला ब्यापारीहरुले मनोमानी ढंगबाट मालसामान ढुवानी र विक्री गरिरहेका र साना ब्यापारीहरुलाई भने पसल बन्द गरेर बस्न बाध्य पारिएको भन्दै साना ब्यवसायीहरुले आइतवार अपरान्ह केही समय पसल खुल्ला गरेपछि प्रहरीले पसलहरु बन्द गराएको थियो ।

सदरमुकाम धादिङवेशी भित्रिने मुख्य नाका फुर्केखोलामा स्थापना गरिएको अस्थायी चेकपोष्टलाइ थप मजबुत बनाउन आवश्यकता अनुसार शसस्त्र प्रहरी खटाउने भएको छ । जोखिम क्षेत्र मानिएका जिल्लाबाट आएका सवारी साधनलाइ अनिवार्य निर्मलीकरण पछि मात्रै जिल्ला भित्र आउने दिने प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।