काठमाण्डौंमा जागिरे धादिङकी महिलामा कोरोना संक्रमण

2518 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २३ जेठ – रोजगारीको लागि राजधानी बस्दै आएकी धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ३ छत्रेपाटी महेशफाँट घर भएकी एक महिलालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । यो संगै कोरोना संक्रमित हुने धादिङ जिल्ला घर भएका पाँच जना पुगेका छन् ।

काठमाण्डौंको एक सञ्चारगृहमा कार्यालय सहयोगीका रुपमा कार्यरत ति महिला लकडाउन शुरु भएपछि घर आएर जेठ १२ गते काठमाण्डौं फर्किएकी थिइन । काठमाण्डौं फर्किएलगत्तै स्वास्थ्यमा केही समस्या देखिएपछि जेठ १६ गते उनको स्वाब परिक्षण गरिएकोमा २१ ग्ते कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको थियो ।

ति महिलालाई कोरोना संक्रमण गाउँमै बस्दा भएको हो या राजधानी फर्किएपछि हो भन्ने खुल्न नसकेपनि स्थानीय प्रशासन र धुनिबेसी नगरपालिकाले शुक्रवारबाट उनको घर रहेको गाउँ शिल गरेर सम्पर्कमा रहेका व्यक्तिहरुको पहिचान तथा आफन्तहरुको स्वाब परिक्षण गर्ने कार्य अघि बढाईने भएको छ ।
धुनिबेसी नगरपालिकाका प्रमुख वालकृष्ण आचार्यका अनुसार नगरपालिकाको पूर्वमा चामेखोला, पश्चिममा भालुखोला, उत्तरमा सेंढाईगाउँ र दक्षिणमा महेशखोला भित्रको क्षेत्रमा बाहिर बाट कसैलाई प्रवेश गर्न नदिएर खोजी तथा उपचार कार्य शुरु गरिने छ ।
धादिङ जिल्लाका स्थानीयमा देखिएको यो पाँचौं संक्रमण हो । यसअघि धादिङ जिल्ला घर भएका ४ जनामा संक्रमण देखिएपनि ३ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् । यसअघि संक्रमण देखिएका चारैजनामा जिल्ला भित्र संक्रमण नभएको र उनीहरुमार्फत अरुलाई पनि संक्रमण नसरेकोे स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।