धादिङमा सोमबार १६ संक्रमित फेला

2010 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ : धादिङमा कोरोना संक्रमितको संख्या २२ पुगेको छ। नीलकण्ठ नगरपालिकाको विभिन्न वडाका १६ जनामा सोमबार कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ।यसअघि धादिङका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

भारतबाट आई सीमा नाकामा अलपत्र परेपछि नगरपालिकाले उद्धार गरी ल्याएर क्‍वारेन्टाइनमा राखेकाहरुमा एकै पटक ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो। विभिन्न सीमा नाकाबाट नगरपालिकाले उद्धार गरी धादिङबेसीस्थित क्‍वारेन्टाइनमा राखेको थियो। उनीहरुको आरडिटी रिपोर्ट पोेजेटिभ देखिएपछि स्वाब संकलन गरी जेठ २४ गते किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडा पठाइएको थियो।

सोमबार थपिएका १६ जनामध्ये नीलकण्ठ १ का १७ वर्षका पुरुष, वडा २ का २२ वर्षका पुरुष, वडा ३ का ४० वर्षका पुरुष, वडा ५ का ३० र ३५ वर्षका पुरुष, वडा ११ का ४२ र ५५ वर्षका पुरुष, वडा १४ का १४, २३, ३५, ४५, ५० वर्षका पुरुषहरु तथा २१, २७, ३६ वर्षका महिला र २० महिनाकी बालिका रहेका धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले बताए। १६ मा ४ जना महिला छन्।

एकै पटक ठूलो संख्यामा संक्रमित भेटिएपछि प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको संक्रमण व्यवस्थापन समिति (सिएमसी) को बैठकले जिल्लामा आइसोलेसन बेड थप्ने निर्णय गरेको छ। समितिले डिभिजन वन कार्यालयको क्‍वारेन्टाइन कक्षमा आइसोलेसन बेड थप गर्ने र गजुरीको प्राविधिक शिक्षालय भवनलाई क्‍वारेन्टाइनका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ। जिल्लामा यसअघि कोरोना संक्रमित नेत्रावती डवजोङ गाउँपालिका ३ का पुरुष, गल्छी गाउँपालिका ८ की ३० वर्षीया महिला, थाक्रे गाउँपालिका ७ का ४१ वर्षीय पुरुष निको भएर घर फर्किसकेका छन्।