धादिङको नीलकण्ठमा आरडिटी नेगेटिभ,पिसिआर पोजेटिभ

1674 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- भारतका विभिन्न शहरबाट आएर दुई साता सदरमुकाम धादिङबेसीमा क्वारेन्टाईनमा बसेर घर फर्किएका २४ जनामा पिसिआर रिपोर्ट पोजेटिभ आएपछि सिंगो बस्तीमा तनाव बढेको छ ।

शनिवार र आइतवार कोरोना संक्रमण देखिएका नीलकण्ठ नगरपालिकाका विभिन्न वडाहरुका गाउँटोल शील गरिने भएको छ । क्वारेन्टाइनबाट घर फर्किएका २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएपछि उनीहरु बसेको गाउँटोललाइ शील गरेर उनीहरुको सम्पर्कमा रहेकाहरुको पनि पिसिआर परीक्षण गराउने संकट ब्यवस्थापन केन्द्र धादिङको आईतबार बसेको बैठकले निर्णय गरेको सिएमसिका संयोजक एवं धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।

शनिवार नीलकण्ठ नगरपालिकाको वडा नं १ का ६ जना, वडा नं ४ का १ जना, वडा नं ७ का ९ जना र वडा नं १४ का ७ जनामा कोरोनाको पुष्टि भएको थियो । उनीहरु सवै भारतबाट आएका नेपाली नागरिकहरु हुन । त्यस्तै आइतबार थप १ जनामा संक्रमण देखिएको छ । संक्रमित ब्यक्तिहरुलाइ नीलकण्ठ माविको छात्रावास र सघन सहरी विकास तथा भवन कार्यालयमा आइसोलेसन बनाएर राख्ने सिएमसिको बैठकले निर्णय समेत गरेको छ ।

क्वारेन्टाईनमा बस्दा आरडीटी परिक्षण गर्दा नेगेटिभ देखिएपछि घर पठाइएका नीलकण्ठ नगरपालिकाका २४ जनाको पिसिआर रिपोर्टबाट कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि गाउँबस्तीमा मात्रै होइन सरोकारवाला निकायमा पनि तनाव शुरु भएको छ ।

भारतका विभिन्न स्थानबाट भैरहवा सम्म आईपुगेर अलपत्र परेका ६८ जना नगरवासीलाई गत जेठ १० गते नगरपालिकाले पठाएको बसमा ल्याएर धादिङबेंसीको बालमन्दिर माविमा वनाईएको क्वारेन्टाइनमा राखिएको थियो । जेठ १८ गते सबैको आरडीटी परीक्षण गरेर उनिहरुलाई घर पठाइएको थियो । उनिहरु घर फर्कदा क्वारेन्टाइनमा २८ जना बाँकी थिए । भारतबाट जेठ १४ गते १८ जना र १६ गते थप १० जना आएका उनीहरुको भने थ्रोट स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएकोमा जेठ २५ गते १६ जनामा कोरोना संक्रमण पुष्टि भएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख बिष्णु रिजालले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा संगै बसेका १६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले आरडीटी गराएर घर पठाएकोहरुको धमाधम खोजी गर्दे स्वाब संकलन गरेर परिक्षणका लागि पठाएको स्वास्थ्य शाखा प्रमुख रिजालले वताउनुभयो । नगरपालिकाले ७५ जनाको स्वाब संकलन गरेर परिक्षणका लागि पठाउँदा २४ जनामा कोरोना सक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकाहरुमा वडा नं ७ र १४ का ७÷७ जना, वडा नं १ का ६ जना र वडा नं ४ का एक जना रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले थप ८१ वटा स्वाब संकलन गरेर पठाएको भएपनि रिपोर्ट आउन बाँकी रहेको वताईएको छ ।

स्वास्थ्य कार्यालय धादिङका प्रमुख डाक्टर भुवन पौडेलका अनुसार हरेक संक्रमितको परिवारबाट श्रीमान या श्रीमती मध्ये एक जनाका साथै वृद्धवृद्धा र दीर्घरोगी छन् भने उनीहरूको समेत स्वाब संकलन गरिनेछ । यसरी परीक्षण गर्न बढीमा ५० वटा किट आवश्यक पर्नसक्ने अनुमान गरिएको छ ।

आईतबार बसेको समितिको बैठकले संक्रमित व्यक्तिको मृत्यु भएमा निर्देशिका बमोजिम शव गाड्नु पर्ने भएकोले प्रत्येक स्थानीय तहले उपयुक्त स्थान छनौट गरी जिल्ला विपद् व्यवस्थापन केन्द्रलाई जानकारी गराउनको लागि निर्देशन समेत दिएको छ ।

साथै संक्रमित व्यक्तिको डिस्चार्ज सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट निर्दिष्ट गरिएको व्यबस्था अनुरुप निर्णय गरिएको संकट ब्यवस्थापन केन्द्रका संयोजक एवं प्रजिअ तामाङले जानकारी दिनुभयो ।