धादिङमा कोरोना संक्रमितको संख्या १ सय १७ पुग्यो

929 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–विश्वव्यापी महामारीका रुपमा फैलिएको (कोभिड १९ )कोरोना भाईरसबाट धादिङ जिल्लामा शनिवार थप ३ जनामा संक्रमण पुष्टी भएसंगै जिल्लामा संक्रमित हुनेको संख्या १ सय १७ जना पुगेको छ । ति मध्ये अहिले सम्म २३ जना निको भएर घर फर्किसकेका छन् ।

शनिवार गल्छी गाउँपालिका वडा नम्बर ८ का ३३ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टी भएको गल्छी गाउँपालिका स्वास्थ्य शाखाका सह–संयोजक शिव पौडेलले धादिङ न्यूजलाई बताउनु भयो । गल्छी गाउँपालिकाको क्वारेनटाइनमा बसेका १३ जना मध्ये १ जनामा कोरोना भाइरस देखिएको हो भने १२ जनाको रिपोर्ट नेगेटिभ आएको पौडेलले जानकारी दिनुभयो । उनिहरुको असार ११ गते स्वाब संकलन गरिपठाइएको थियो ।

यसै गरि गजुरी गाउँपालिकाको क्वारेनटाइनमा रहेका २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ति मध्ये एक जना गजुरी गाउँपालिका वडा नम्बर १ का २७ वर्षका पुरुष हन् । उनि आदर्श माविको क्वारेनटाइनमा बसेका थिए । उनिसंगै क्वारेनटाइनमा बसेका १२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यसै गरि भारतबाट आएर होटल क्वारेनटाइनमा बसेका ८ मध्ये २१ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको छ । संगै क्वारेनटाइनमा बसेका अन्यको रिपोर्ट भने नेगेटिभ आएको गजुरी गाउँपालिकाका स्वास्थ्य संयोजक डा.रामहरी रेग्मीले जानकारी दिनु भयो । उनिहरुको असार १० गते स्वाब संकलन गरि परिक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको थियो ।

विगत २४ घण्टामा ५ सय ५४ जनामा कोरोना संक्रमण भएको पुष्टी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । नेपालमा हाल सम्म १२ हजार ३ सय ९ जनामा संक्रमण भएको छ । यस मध्ये २ हजार ८ सय ३४ जना निको भएर डिस्चार्ज भएका छन् । कोरोनाका कारण नेपालमा २८ जनाको ज्यान गएको छ ।