तराई हुंदै पहाड तिर उक्लिन थाल्यो सलह किरा

2759 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

विश्वव्यापी महामारीको रुपमा कोरोना भाइरस ( कोविड १९) ले आतंक मच्याईरहेको बेला सलह किराको आतंक पनि थपिएको छ ।

नेपालमा सलह किरा  प्रवेश गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरिसकेको छ । मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव डाक्टर हरिवहादुर केसीले शनिवार प्रेस बिज्ञप्ति जारी गर्दै सलह किराबाट हुन सक्ने नोक्सानी तर्फ सचेत रहन सबैलाई आग्रह गर्नु भएको छ । भारतसँग सीमा जोडिएका रुपन्देही, पर्सा, बारा, चितवन र सर्लाहीका साथै  मकवानपुर,सिन्धुली जिल्लाका विभिन्न ठाउँमा समेत सलह किराका समूह देखिन थालेको छ ।

शनिवार विहानबाट देखिन थालेको सहलको बारेमा विभिन्न जिल्लाका स्थानीयले तस्बिर खिचेर सामाजिक सन्जालमा पोष्ट गरिरहेका छन ।

यसअघि नेपालमा सलह प्रवेश गर्न सक्ने भन्दै कृषि मन्त्रालयले प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति गठन गरेको थियो । अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा नेपालमा पनि आएको हो ।

 वाली बिज्ञहरुका अनुसार सलह किराले बालीमा अमेरिकी फौजी कीराले भन्दा अनेकौ गुना बढी क्षति पुर्‍याउने गर्दछ । विज्ञका अनुसार करोडौंको संख्यामा रहने सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ। जेठ देखि असोजसम्म बढी प्रकोप हुने सलह किरा एकै दिनमा १५० किलोमिटर भन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति पुर्‍याउने विज्ञहरु बताउँछन ।