कोरोना संक्रमण बढेपछि धादिङमा एकसाताका लागि निषेधाज्ञा जारी

1624 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ जिल्लाको सदरमुकाम धादिङबेशी आसपासका क्षेत्रमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिम बढेसँगै सदरमुकाम धादिङबेशी र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । बुधबार जिल्ला प्रशाशन कायाृलय धादिङमा बसेको सरोकारवालाहरुको बैठकले कोरोना संक्रमण फैलन नदिन कडा कदम चाल्न स्थानीय प्रशाशनलाई आग्रह गरेपछि जिल्ला प्रशाशन कार्यालय धादिङले बुधबार राति १२ बजेबाट लागू हुनेगरि भदौ ३ गते राति १२ बजेसम्मका लागि सो निशेधाज्ञा जारि गरेको हो ।

धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत फुर्केखोलादेखि धादिङबेशी खण्ड आसपास सम्म निषेधाज्ञा जारी गरिएको हो । जिल्लाका होटल संचालक ,उच्च प्रहरी अधिकारी, रेडक्रस कर्मचारी समेतलाई संक्रमण देखिएपछि स्थानीय प्रसासन ऐन २०२८ को ६ (३) र संक्रमण रोग ऐन २०२० अनुरुप निशेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
हालसम्म जिल्लाका १३ वटै स्थानीय तहमा कोरोना संक्रमित भेटिएका छन् । जसमा नीलकण्ठ नगरपालिकामा ७३ जना,ज्वालामुखी गाउँपालिकामा ३२ जना, त्रिपुरासुन्दरीमा २१ जना रहेका छन् । यस्तै सिद्धलेकमा ४ जना, नेत्रावती डबजोङमा ४, बेनिघाट रोराङका २ जना, गल्छीमा ४ जना, थाँक्रेमा ३ जना, धुनीबेसी नगरपालिकामा ४, गजुरीमा ४ जना, खनियाबासका ३,रुविभ्यालीका १ र गंगाजमुनामा १ जना गरी १ सय ५६ जना रहेका छन् ।

यसैगरि बुधबार काठमाडौ स्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएका धादिङ धुवाकोट निवासी एक पुरुषलाई कोरोना पोजेटिभ देखिएको छ । मृत्यु भएपछि स्वाव संकलन गरि टेष्ट गराउंदा कोरोना पोजिटिभ देखिएको छ । सोमबार ज्वरो आएपछि जिल्ला अस्पताल धादिङमा उपचारका लागि आएका उनको फोक्सोमा खराबी देखिएपछि सोमबार राति ११ बजे नै काठमाण्डौं पठाइएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि ह्याम्स अस्पतालमा भेन्टिलेटरमा राखिएको उनको मंगलबार बिहान ४ बजे मृत्यु भएको थियो ।