सानाकिसान सहकारी गोगनपानीमा शेयर सदस्यले लगाए ताला

2203 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

थाक्रे, ७ असोज
संस्थामा अनियमितता बढेको भन्दै निष्पक्ष छानविनको माग गरि साना किसान कृषि सहकारी संस्था गोगनपानीका शेयर सदस्यहरुले कार्यालयमा तालावन्दी गरेका छन् ।

 सहकारीका केही शेयर सदस्यहरुले संस्थामा लामो समयदेखी  कर्मचारीहरुले किर्तेरुपमा किसानहरुको नामबाट ऋण प्रवाहगरी अपचलन गरेको भन्दै छानविनको माग राखी कार्यालयको मुल गेटमा ताला लगाएका हुन । सहकारीका कर्मचारीहरुले आफुखुसी रु.६७ लाख ५० हजार रुपैया सदस्यहरुको नामबाट ऋण निकाली आंफैले प्रयोग गरेको  छानविन समितिले किटान गरेको थियो ।

 छानविन समिति दिएको प्रतिवेदन पछि कर्मचारीहरुले आंफुहरुबाट गल्ती भएको भन्दै ऋण लगानीका नाममा लिईएको रकम संस्थामा फिर्ता गरेका थिए । आरोप लागेका कर्मचारीले पदबाट राजिनामा दिएका छन् । उनिहरुको राजिनामा पछि पाउने सेवा सुविधाका बिषयमा शेयर सदस्यहरुले आपत्ति जनाउँदै विरोध जनाएका छन् ।

छानविनमा देखिएको रकम संस्थाले असुलउपर गरेतापनि थप छानविन गर्नुपर्ने र निजहरुको सेवा अवधिमा विभिन्न गलत तरिकाबाट प्रोत्साहन भत्ता स्वरुप दिनुपर्ने देखिएको रकम भुक्तानी दिने भन्ने सञ्चालक समितिको निर्णय भएको भन्दै संस्थामा मिति  असोज ६ गते तालाबन्दि गरेका छन् ।

तालाबन्दि भएको अवस्थामा सहकारीबाट हुने सेवा प्रवाह प्रभावित बनेको छ । संस्थामा तालाबन्दि भएको विषयमा सञ्चालक समितिको तर्फबाट आज एक प्रेस विज्ञप्ति जारी गरी वास्तविक विषयमा जानकारी गराउँदै भोली ८ गतेको लागी छलफल गर्न आह्वान गरेको छ । संस्थाले विगत समितिहरु हुँदाबखत देखीनै कर्मचारीहरुले आफुखुसी गलत तरिकाबाट ऋण प्रवाह भएको र वर्तमान अवस्थामा विभिन्न शेयर सदस्यहरुको समेत गुनासो प्राप्त भएको आधारमा छानविन समिति बनाई छानविन गर्दा उक्त रकम फर्जी देखिएको अवस्थामा कर्मचारीहरुले राजीनामा दिएको अवस्था र निजउपर छानविनमा देखिएको रकम असुलउपर गरिसकिएको र वाँकी छानविन प्रकृयाको लागी निजहरुको सम्पत्ती समेत दृष्टि वन्धकी गरी छानविन प्रकृया अगाडी बढेको जानकारी गराएको छ ।

 सञ्चालक समितिले निजहरुबाट फर्जिदेखिएको रकम असुलउपर गरिएको र निजहरुले पाउने गत बर्षको लेखापरिक्षण प्रतिवेदनमा समेत देखिएको सेवाअवधि पछि पाउने सञ्चयकोष लगाएतको रकम दिने निर्णय भएता पनि छानविन प्रकृया अन्त्य नभएको संस्थाका अध्यक्ष बद्रि रुपाखेतीले विज्ञप्ति मार्फत जनाउनुभएकोछ ।