धादिङमा एकै दिन ७१ जनामा कोरोना संक्रमण

1189 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२२ असोज । धादिङ जिल्लामा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको आशंका गरिएको छ । लक्षणनै नदेखिएका र कुनै ट्राभल हिस्ट्रि नभएका व्यक्तिहरु समेत धमाधम कोरोना संक्रमित देखिन थालेका छन् । विहीवार मात्रै धादिङ जिल्लाका ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नीलकण्ठ नगरपालिका भित्रका ३९ जना रहेका छन् । बाँकी खनियावास,ज्वालामुखी, गल्छी,गजुरी गंगाजमुना,त्रिपुरासुन्दरी र थाक्रे गाउँपालिका भित्रका रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

विहिवार कोरोना संक्रमण पुष्टि भएकाहरुमा जनप्रतिनिधि, राजनैतिक कार्यकर्ता,स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,सरकारी कर्मचारी, बैंकका कर्मचारी देखि सामान्य व्यक्तिहरु समेत रहेका छन् । घर छाडेर बाहिर नगएका व्यक्तिमा समेत संक्रमण देखिन थालेपछि समुदायमा संक्रमण फैलिएको हुन सक्ने सर्वसाधरणमा डर फैलिएको छ ।

सार्वजनिक यातायात सञ्चालन हुन थालेपछि एक ठाउँबाट अर्को ठाउँमा मानिसहरुको आवतजावत बढ्न थालेकाले संक्रमणको डर पनि बढेको छ ।

धादिङमा सार्वजनिक यातायात, बिद्यालय,मानिसहरुको भिडभाड हुने सरकारी कार्यालय, बैक तथा वित्तिय संस्थामा स्वास्थ्य सुरक्षाका उपायहरु निकै कमजोर हुने गरेको जनगुनासो छ ।

विहिवार सम्ममा गरी धादिङमा कुल कोरोना संक्रमितको संख्या ५ सय ७१ पुगेको छ । अहिले सम्ममा संक्रमित भएकाहरुमा नीलकण्ठ नगरपालिका भित्र १सय ६२ जना, गल्छीमा ७७ जना,त्रिपुरासुन्दरीमा ७६ र ज्वालामुखीमा ५६ जना, थाँक्रेमा ४० जना, वेनिघाटरोराङमा २३ जना र बाँकी अन्य स्थानीय तहका रहेको छ ।