सल्यानटारमा खानेपानीको हाहाकार समाधान हुने तरखरमा

1096 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ : हिउँद होस या वर्षा धादिङको सल्यानटारमा बाह्रैमास खानेपानीको हाहाकार हुने गर्दछ।

देशभरिका ठूला टारमध्येमा पर्ने सल्यानटार त्रिपुरासुन्दरी गाउँपालिका १ र २ मा विभाजन गरिएको छ। पहिला सिंगो टारलाई सल्यानटार गाविस बनाइएको थियो। नामले निकै चर्चामा रहेको भए पनि यहाँका बासिन्दालाई खानेपानीको हाहाकारले सधैं सताउने गर्छ।

उचाइमा रहेको बस्ती भएका कारण सल्यानटारमा पानीको मुहान भेट्नै मुस्किल पर्छ। बस्ती नजिकै पानीको स्रोत नभएपछि गाउँबासी पानी लिन हरेक दिन घण्टौं धाउनुपर्ने समस्या छ।

बीचमा कुनै खोला, खोल्सीसमेत नभएको सिंगो एउटै टारलाई साविकको सल्यानटार गाविस बनाइएको थियो। १७.९३ वर्ग किमिमा फैलिएको सल्यानटारमा कुमाल, दराई, क्षत्री बाहुन र जनजातिको बसोबास रहेको छ।

सिँचाइको लागि पानी नहुँदा सुक्खा खेती मात्रै हुने गरेको सल्यानटार प्रस्तावित बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र नजिकै पर्ने भएकाले अहिले धेरैको आकर्षणको केन्द्र बन्न थालेको छ।

केही वर्षयता यहाँ नयाँ घर बनाउने र घडेरी किन्नेहरुको संख्या थपिंदै गएको छ। भूकम्पपछि स्थानीयले सल्यानटारमा व्यवस्थित घर निर्माण गर्न थालेका छन् भने बूढीगण्डकी आयोजना बनेपछि पर्यटकीय स्थल बन्न सक्ने भन्दै यहाँ घडेरी किन्नेहरुको भीड लाग्न थालेको छ।

अहिलेसम्म टार क्षेत्रमा १५ सयभन्दा बढी कित्ता घडेरी बिक्री भइसकेका छन्। बसोबासका लागि उपयुक्त देखिए पनि खानेपानी समस्या भने रहेको स्थानीय बताउँछन्।

बुढीगण्डकी र नेत्रावती (आँखु) नदी बीचको टापुको रुपमा रहेको सल्यानटारमा बढ्दै गएको खानेपानीको अभावलाई दीर्घकालीन रुपमा समाधानका लागि मनपाङखोला सल्यानटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले गाउँदेखि केन्द्रसम्मको सरकारलाई घचघच्याइरहेको छ।

समुदायको अग्रसरता र स्थानीय त्रिपुरासुन्दरी गाउँपालिकाको समन्वयमा बस्तीभन्दा माथि सात किलोमिटर टाढा रहेको मनपाङखोलाबाट गाउँसम्म खानेपानी ल्याउन खानेपानी विभाग अन्तर्गत रहेको सहलगानी कोषले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरी खानेपानी लाइन बिस्तारका लागि सर्भे गर्ने कार्य सुरु गरेको छ।

मनपाङखोला सल्यानटार खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कृष्णकुमारी थापाका अनुसार करिब ३२ करोडको लागत अनुमान गरिएको खानेपानी आयोजना सञ्चालन गर्न कोषले विस्तृत अध्ययन थालेको हो।

कोषका प्राविधिक कर्मचारी यतिबेला सल्यानटारमा गाउँ गाउँमा पुगेर सर्भे गरिरहेका छन् भने उपभोक्ता समिति लागत साझेदारीका लागि चाहिने ३० प्रतिशत नगद जुटाउन उपभोक्ता र सरोकारवालासँग छलफलमा जुटेका अध्यक्ष थापा बताउँछिन्।

खानेपानी समस्याले समुदायले भोग्नु परेको पीडालाई कम गर्न त्रिपुरासुन्दरी गाउँपालिकाले सहलगानी कोषको आयोजना सफल पार्न साझेदारी गर्ने प्रतिबद्धता जनाएको छ।

गाउँपालिकाका अध्यक्ष शम्भु थापा र उपाध्यक्ष देवी बुर्लाकोटीले सल्यानटारको सबैभन्दा ठूलो समस्या खानेपानी रहेकाले यस्को दिगो समाधानका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएका उपभोक्ता समितिका अध्यक्ष थापाले बताइन्।

सल्यानटारमा खाद्य अधिकार सुरक्षा र दिगो खानेपानी व्यवस्थापनका लागि फियान नेपालले जनवकालत गर्दै आइरहेको छ। समुदाय जागरणका लागि २०५१ सालबाट सल्यानटार खाद्यअधिकार समूह गठन गरी सोही समूहमार्फत फियान नेपालले जनचेतनाको काम गर्दै आइरहेको छ।

समूहले उपभोक्ता समितिका पदाधिकारी, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग पटक पटक समन्वय बैठक राखी खानेपानीको दिगो समाधानका लागि गर्दै आएको पहलले आयोजना सञ्चालनका लागि लगानी गर्न सहलगानी कोष तयार भएको समूहका अध्यक्ष डोलबहादुर अधिकारीले जानकारी दिए।

फियान नेपालका कोषाध्यक्ष झपेन्द्र भट्टराई, कार्यकारी निर्देशक अशोकबहादुर सिंह, फिल्ड संयोजक राजेन्द्रकुमार बस्नेतले सोमबार सल्यानटार पुगेर आयोजना कार्यान्वयनका लागि चाहिने श्रोत व्यवस्थापन, चुनौती र सञ्चालनका विषयमा गाउँपालिका र उपभोक्ता समूहका पादधिकारीबीच छलफल गराएका छन्।