बूढीगण्डकीआयोजनाको कारण मध्यपहाडी लोकमार्ग निर्माणमा अलमल

2246 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी

कटुन्जे -धादिङ । प्रस्तावित १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनाको मोडालिटी नटुंगिएका कारण मध्यपहाडी लोकमार्गको धादिङ जिल्लाको खण्ड निर्माण कार्य रोकिन पुगेको छ ।

बूढीगण्डकी आयोजनाको मोडालिटी तयार नभएकाले मध्यपहाडी लोकमार्गको लागि प्रस्ताव गरिएको सडक रेखांकन क्षेत्र डुवानमा पर्ने भन्दै भौतिक तथा पूर्वाधार मन्त्रालयले पहिलेकै ठाउँमा सडक निर्माण गर्न नसकिने बताएपछि सडकको निर्माण कार्य रोकिन पुगेको हो ।

दुईवटा राष्ट्रिय गौरवका आयोजना एकै ठाउँमा परेका कारण अन्यौल देखिएपछि समस्या समाधानका लागि सरोकारवाला स्थानीय निकायसँग छलफल गर्न र आयोजना क्षेत्रको अवस्था अवलोकन निरिक्षण गर्न योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्प कँडेल आफै खटिनु भएको छ । डाक्टर कँडेलको नेत्तृत्वमा रहेको टोलीले मंसिर १२ र १३ गते मध्यपहाडी लोकमार्गको नुवाकोटको सामरीभन्ज्याङ देखि धादिङको भ¥याङभुरुङ, भोगटेनी, कटुन्जे, लपाङफेदीसम्मको सडकको पछिल्लो अबस्थाको अवलोकन निरीक्षण समेत गरेको छ ।

अनुगमन टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेल, धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद खेम लोहनी, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, वागमती प्रदेश सभाका सांसद डाक्टर रामकुमार अधिकारी,मध्यपहाडी लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख दिपक केसी , आयोजना पश्चिम क्षेत्रका प्रमुख रामकुमार गुरुङ, डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख इन्जिनियर कृष्णराज अधिकारी, नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष दुर्गकुमार शाक्य, गंगाजमुना गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारी लगायतको संलग्नता रहेको थियो ।

पाँचथर जिल्लाको चियो भन्ज्याङबाट शुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिमको नेपाल भारत सीमानास्थित बैतडीको झुलाघाटमा पुगेर टुंगिने गरी निर्माण भईरहेको छ । करिब १ हजार किलोमिटर पहिलेकै पुरानो चल्तीको सडक र थप ७ सय ५६ नयाँ ट्रयाक खोलेर शुरु भएको मध्यपहाडी लोकमार्गको पूर्व र पश्चिम दुई खण्डमा बाँडिएको छ । आर्थिक बर्ष २०७९÷२०८० भित्रमा निर्माण कार्य सक्ने गरी निर्माण शुरु गरिएको भएपनि धादिङ जिल्लाको खण्डमा अहिलेसम्म कार्य प्रगति सन्तोषजनक नभएको धादिङ जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल बताउनुहुन्छ ।

लोकमार्गको पूर्वी खण्ड पाँचथर जिल्लाको चियोभञ्ज्याङदेखि नुवाकोट जिल्लाको पातीभञ्ज्याङसम्मलाई कायम गरिएको छ भने नुवाकोटको पातीभञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मलाई पश्चिमी खण्ड नामाकरण गरिएको छ । पुरानो नक्सांकन अनुसार पूर्वी खण्ड सात सय ७६ किलोमिटर लामो छ भने पश्चिमी खण्ड एक हजार किलोमिटर छ । दुवै खण्डमा गरी नयाँ सडक करिब सात सय ६५ किलोमिटर विस्तार गर्नुपर्ने अवस्था रहेको मध्यपहाडी लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख दिपक केसीले जानकारी दिनुभयो ।

आयोजना प्रमुख केसीका अनुसार पूर्व पश्चिम जोड्ने १७ सय ६५ किलोमिटर लामो उक्त लोकमार्गमा झण्डै ८ सय ७९ किमी नयाँ सडक निर्माण गर्ने कार्यका साथै आयोजना स्थापना हुनुअघि निर्माण भएर सञ्चालनमा रहेका सडकलाई मध्यपहाडी राजमार्गको स्तरमा स्तरोन्नतिको काम भइरहेको छ । केसीका अनुसार लोकमार्गले मध्य पहाडका २४ जिल्ला र २ सय २५ वटा बस्तीलाई सडक सञ्जालमा जोड्दा ७० लाखभन्दा बढी जनतालाई प्रत्यक्ष रुपमा फाइदा पुग्नेछ ।

लोकमार्गको पश्चिम खण्डको धादिङ जिल्लामा बूढीगण्डकी आयोजनाका कारण रोकिन गएको सडक निर्माण कार्य अब नयाँ रेखांकन गरेर जानेकी पुरानैलाई मान्यता दिइने भन्नेबारे केही दिनमै टुंगो लाग्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेलले बताउनुभयो ।

जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजना कसरी बन्ने भन्ने बारेमा मोडालिटी तयार हुन नसकेकाले सडक निर्माण कार्य रोकिन नहुने धादिङको नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष दुर्गकुमार शाक्यको भनाई छ । मध्य पहाडी लोकमार्गको धादिङ खण्डको लामो दुरी नेत्रावती डवजोङ गाउँपालिकामा पर्दछ ।

तराईका जिल्ला जोड्ने पूर्व–पश्चिम राजमार्गको विकल्पको रुपमा नेपालको पूर्वदेखि पश्चिम सम्मका पहाडी र हिमाली जिल्ला सडक सञ्जालबाट जोड्ने लक्ष्यका सरकारले आर्थिक वर्ष ०६४र६५ देखि मध्यपहाडी लोकमार्ग निर्माण कार्य थालेको हो । निर्माण कार्य थालेको ७÷८ वर्षभित्र उक्त लोकमार्गको निर्माण सकिने योजना बनाइएको भएपनि भौतिक प्रगतिको लक्ष्यमा पुग्न नसकेको योजना आयोगका उपाध्यक्ष कँडेलको भनाइ छ ।

लोकमार्गको पूर्वी खण्डको तुलनामा पश्चिम खण्डको सडक निर्माणमा धेरै कठिनाइ रहेको आयोजनाले जनाएको छ । पश्चिम खण्डमा कडा चट्टान रहेको र सडकको दूरी पनि बढी भएकाले पूर्वको तुलनामा पश्चिमको काम सक्न बढी समय लाग्ने मध्य लोकमार्ग आयोजना निर्देशनालयका प्रमुख केसी बताउनुहुन्छ ।

मध्य पहाडी लोकमार्गले पूर्वका पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, उदयपुर, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोकलाई जोड्ने छ ।त्यस्तै काठमाडौंभन्दा पश्चिमका नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा, बैतडीलाई जोड्नेछ ।

यो मार्गको मध्यविन्दू नुवाकोटको पातीभन्ज्याङलाई बनाइएको छ । नेपाल सरकारको आन्तरिक स्रोत साधनबाटै सम्पूर्ण खर्च व्यहोरिने गरी बनिरहेको यो लोकमार्गमा हाल सञ्चालनमा रहेका राष्ट्रिय तथा साना राजमार्ग र सडक खण्डहरु जोडिनेछन ।कुल १ हजार ७ सय ६५ किलोमिटर लामो मध्यपहाडी लोकमार्गको चौडाई साढे ८ मिटरको दुई लेन हुनेछ । यो लोकमार्गमा चल्ने सवारी साधनको गति ५० किलोमिटर प्रति घण्टा तोकिनेछ ।

नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गका लागि सरकारले बजेटमा कञ्जुस्याइँ गरेको छैन । तर, पनि काम भने सोचेजस्तो हुन नसकेको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कँडेल बताउँछन् । मध्यपहाडी लोकमार्ग बनेपछि पहाडी जिल्लाका केही बस्तीहरु ठूला शहरमा परिणत हुने धादिङ जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका सदस्य खेमप्रसाद लोहनी बताउनुहन्छ । राष्ट्रिय गौरवको आयोजना भएकाले कार्यान्वयनमा देखिएका समस्या समाधानमा सरोकार पक्ष बसेर निकास दिई कार्य अघि बढाउनु पर्ने सांसद लोहनीको सुझाव छ ।