गोलभेँडाको दोब्बर मूल्य पाउँदा गौँथलेका किसान दङ्ग

859 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नारायण ढुङ्गाना / (रासस)

धादिङ : गत वर्ष उत्पादन कम र भाउ न्यून हुँदा धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका वडा नम्बर ४ गौँथलेका किसान निरास थिए । लगानीसमेत उठाउन धौ धौ हुँदा डराइडराइ तरकारी खेती गरेका उनीहरु यसपालि गोलभेँडाको दोब्बर मूल्य पाउँदा दङ्ग छन् । वातावरण अनुकूल हुँदा उत्पादन पनि झण्डै दोब्बर नै भएको किसान सुनाउँछन् ।

गोलभेँडाले नसोचेको भाउ पाउँदा माथिल्लो गौथलेका ४७ वर्षीय कुलबहादुर थापामगरलाई खुशीको सीमा छैन । झण्डै दुई रोपनीमा खेती गर्नुभएका उहाँ थली बारीमा वृद्ध आमा र बालबालिकाको साथमा गोलभेँडा टिप्दै हुनुहुन्थ्यो । यसपालि राम्रो भाउ पायो, प्रति किलो पचासबाट उँधो झरेकै छैन, किलोको सत्तरी÷असीसम्म आएको छ, धेरै खुशी छौँ , गोलभेँडा टिपेर डालोमा राख्दै उहाँले थप्नुभयो, पोहरको तुलनामा दोब्बर फलेको छ, भाउ पनि राम्रो छ ।

गौँथले गाउँका रातमाटे पाटा अहिले लटरम्म गोलभेँडाले भरिएको छ । उहाँको बारीमा एक खेपमा २० क्रेट गोलभेँडा उत्पादन हुन्छ । त्यसैले गत वर्ष भाउ नपाएर निरास किसानको मुहार उज्यालिएको प्रष्ट झल्किन्छ ।

कुलबहादुरले पोहोर झण्डै रु एक लाख बुझुन्भएको थियो । त्यही जमिनमा यसपालि तीन छिमल टिप्दैमा रु एक लाख ५० हजार कमाइ भइसक्यो । अझै राम्रो फलेकाले दुई लाख आउँछ भन्नेमा उहाँ ढुक्क हुनुहुन्छ । कोभिड–१९ ले बाहिरबाट आयात नहुँदा भाउ आएको किसानको अनुमान छ ।

गोलभेँडामात्रै होइन गाउँमा काउली, बन्दा, बोडी, मास, भटमास, कोदो पनि फल्छ । बस्तुभाउ बाख्रा पालनसमेत छ । उहाँको मास झण्डै दुई मुरी र धटमास एक मुरी उत्पादन हुन्छ । बीस वर्षदेखि तरकारी खेतीमा आबद्ध कुलबहादुर पहिलेको जस्तो दुःख नहुने सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, शुरुमा डोकोमा बोकेर मलेखु÷सलाङ्घाट झारेर काठमाडौँ पठाउने गरिन्थ्यो, अहिले घरमै गाडी आउँछ ।

मलेखुबाट त्रिशूली तरेपछि गाडीमा झण्डै एक घण्टाको कच्ची सडकको उकालो लागेपछि माथिल्लो गौथले आइपुग्छ । तल्लो र माथिल्लो गौथलेमा राम्रो तरकारी खेती हुन्छ । यहाँको मौसम चिसो हुँदा उत्पादित तरकारीको स्वाद बेग्लै हुन्छ । किसान एउटै समस्या सिँचाइको अभाव रहेको बताउँछन् ।

कुलबहादुरले मात्रै तरबारी र पशुपालनबाट वार्षिक रु आठ÷दश लाख कमाइ गर्ने गरेको सुनाउनुभयो । विदेश जाने युवालाई नजान अनुरोध गर्ने उहाँ भन्नुहुन्छ, गरेदेखि यहीँ छ, अल्छी मान्नुभएन पसिना विदेश गए पनि चुहाउनै पर्छ, आफ्नै भूमिका त्यही पसिना चुहायो भने सुन फल्छ ।

यस गाउँमा मगर जातीको मात्रै ३२ घर छ । सबै तरकारी खेतीमा मग्न छन् । अन्य समुदायको पनि पेशा खेती किसानी नै हो । छिमेकी लोकीमाया मगर पनि गोलभेँडा टिपेर बेच्न मै व्यस्त हुनुहुन्छ । कति रोपनीमा गोलभेँडा रोपेको यकिन गर्न नसक्ने उहाँ दुई हलको मेलोमा छ भन्नुहुन्छ ।

दुई क्विन्टलभन्दा बढी गोलभेँडा फलाउनुहुन्छ । यसपालि राम्रो भाउ पाएकोमा उहाँ पनि फुरुङ्ग हुनुहुन्छ । गोलभेँडा बेच्ने तर्खर गर्दै गर्नुभएका अर्का किसान गुञ्जबहादुर मगर विगतको भन्दा भाउ राम्रो आएकोमा खुशी हुनुहुन्छ ।

सिद्धलेख–४ का वडाध्यक्ष रामहरि बराकोटी पैसा कुलिचिएर बसेको छ, टिप्न खोज्दैनन्, पैसा फल्छ झैँ गरेर विदेश जान्छन्, गरे यहीँ छ भन्नुहुन्छ । गाउँका किसानले गरेको कमाइले पनि यो कुरा प्रष्ट पार्छ ।

उहाँका अनुसार वडामा ७७५ घरधुरी रहेको छ । त्यसमा ९० प्रतिशत कृषि, १० प्रतिशत वाह्य रोजगारी र केही अन्य व्यवसायमा आबद्ध छन् । गोलभेँडा, काउली, बन्दा, घिउसिमी, बोडी, पशुपालन रहेको मुख्य पेशा हो । माथिल्लो भागमा बाख्रापालन राम्रो रहेको र तल्लो भागमा गाई÷भैँसी पालेर दूध बिक्री हुन्छ । मौसमअनुसार सबै क्षेत्रमा तरकारी खेती हुन्छ ।

गाउँमा रहेको साना किसान कृषि सहकारी संस्थाले किसानलाई ठूलो सहयोग गरेको उहाँ बताउनुहुन्छ । सहकारीसँग स्थानीय तहको समेत राम्रो समन्वय रहेकाले किसानलाई राहत दिने गरेको छ । साना किसानले मात्रै वार्षिक रु २२ करोड बढी मुल्यको तरकारी सङ्कलन गर्ने गरेको छ ।

आफ्नो वडामा मात्रै ३०० परिवारलाई कुनै न कुनैरुपमा कृषि अनुदान दिएको र सडक सञ्लाल, विद्यालय, खानेपानीमा सहयोग गरिरहेको वडाध्यक्ष बराकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँमा ८० प्रतिशत घरधुरीमा एक घर एक धारा बनिसकेको र बाँकी २० प्रतिशतलाई पनि यही वर्ष पानी पु¥याउने लक्ष्य रहेको छ । उहाँले भन्नुभयो, गाउँवासी कृषिमा आबद्ध भएकाले कसरी अनुदानका कार्यक्रम ल्याएर प्रोत्साहन गर्न सकिन्छ र बजारीकरणमा सहयोग गर्न सकिन्छ भन्नेमा वडाको ध्यान छ ।

यस गाउँपालिकामा चैत/वैशाखको समयमा बेँसीभेग अरुवासटार, दारिमटार, निबुवाटार, मझुवाटार र बुङचुङ क्षेत्रमा पकेटकै रुपमा तरकारी उत्पादन हुन्छ । हिउँदे मौसममा माथिल्लो आरुवास, भेँडाबारी, गौथले, सलाङ मैदान, खोगफोक, द्वारथोक, चालिसे, बसन्त, इटपानी, झारलाङ्दीलगायतमा राम्रो हुने गरेको छ ।

किसानले उत्पादित तरकारी सलाङ्घाट बजारमा किसानले ल्याउँछन् । यसपछि सहकारीले काठमाडौँ, पोखरा, चितवनमा पु¥याउने गरेको छ । यो क्षेत्रमा गोलभेँडा अत्यन्तै धेरै उत्पादन हुने गरेको छ । यहाँको गोलभेँडा अन्य क्षेत्रको तुलनामा चमकदार देखिने हुँदा भाउ राम्रो आउने गरेको छ ।