बन्चरेडाँडामा पुस पहिलो साताबाट फोहोर फ्याँकिने

910 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धुनिबेसी – धादिङ र नुवाकोट जिल्लाको सिमानामा रहेको बन्चरेडाँडामा निर्माणाधीन स्यानिटरी ल्याण्डफिल साइट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

निर्माण कार्यमा कुनै अप्रत्याशित अबरोध नआए अबको डेढ साता भित्रमा राजधानीको फोहर बञ्चरेडाँडामा व्यवस्थापन गर्न थालिने छ ।
शहरी विकास मन्त्रालयले पुस पहिलो सातादेखि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन गर्न सकिने बताएको छ ।

बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी सँग ठेक्का सम्झौता भएको थियो । विसर्जन स्थल निर्माण गर्न रु ३४ करोड ६८ लाख ७४ हजार ८९५ ठेक्का सम्झौता भएको थियो ।

तेह्र वर्षदेखि नुवाकोटको सिसडोलमा उपत्यकाकाको १८ स्थानीय तहको फोहर विसर्जन गरिँदै आएको छ । उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहर निस्कन्छ । सबैभन्दा बढी काठमाण्डौं महानगरपालिकाबाट निस्कने गरेको छ । काठमाडौँ उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।