पढ्न चाहने चेपाङ किशोरीका लागि गजुरीमा छात्रावास बनाईदै

1059 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी

गजुरी (धादिङ ) –  धादिङको गजुरी गाउँपालिका–१ हाँगेटारमा चेपाङ किशोरीहरुका लागि सुविधा सम्पन्न छात्रावास निर्माण गरिने भएको छ। सिमान्तकृत समुदयायमा सूचीकृत चेपाङ समुदायमा विद्यालय जाने छात्राको संख्या निकै कम रहेको छ। गरिबी, अशिक्षा र अन्धविश्वासका कारण चेपाङ समुदायमा अहिले पनि बालविवाह प्रथा कायमै रहेको छ।

आर्थिक समस्या र घरदेखि विद्यालय टाढा हुँदा धेरै चेपाङ बालिबालिकाहरुले बीचमै विद्यालय छाड्ने गरेका छन्। पढ्न जाने उमेर भएका किशोरीहरु कलिलै उमेरमा आमा बन्नुपर्ने बाध्यतालाई तोड्न चेपाङ किशोरीलाई विद्यालय पठाउने कार्यमा चेपाङ समुदाय बसोवास रहेका स्थानीय तहले अभियान सञ्चालन गरिरहेका छन्।

पढ्ने चाहना भएर पनि गाउँ नजिकै माध्यमिक विद्यालयको अभाव र विद्यालय रहेको स्थानमा गएर बस्न, खान खर्चको अभाव झेल्न वाध्य किशोरीहरुलाई सहयोग पुर्‍याउनमा छात्रावास निर्माण सुरु गरिएको हो। ३० जना क्षमताको छात्राबास भवनको बुधबार जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालबाट शिलान्यास भएको छ।शिलान्यास कार्यक्रममा गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रबिक्रम बस्नेत, उपाध्यक्ष सिता ढुंगाना, प्रयास नेपालका अध्यक्ष रेष्टन कँडेल, नेपाल चेपाङ संघका सचिव कृष्णवहादुर चेपाङका साथै अन्य सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो ।

भवन निर्माणका लागि प्रयास नेपाल धादिङ प्लानेट इन्फान्ड एण्ड डेभलपमेन्ट फ्रान्स, जिल्ला समन्वय समिति धादिङ, गजुरी गाउँपालिका धादिङ र नेपाल चेपाङ संघ धादिङको समन्वय रहेको छ। धादिङको बेनीघाटरोराङ, सिद्धलेक, गजुरी, थांक्रे गाउँपालिका र धुनिबेसी नगरपालिकामा चेपाङहरुको वसोवास रहेको छ। तीमध्ये अधिकांश भूमिहीन रहेका छन्।

तत्कालीन चेपाङ विकास कार्यक्रमले भूमिहीन चेपाङलाई व्यवस्थित बसोवासको प्रबन्ध मिलाउन २०४२ सालमा खरिद गरेको ४२ रोपनी जग्गाभित्रै चेपाङ छात्रावास वनाउन लागिएको हो। उक्त जग्गामा भूमिहीन सात घर चेपाङ र एक दलित परिवारको वसोवास रहेको छ। छात्रावासका लागि आठ रोपनी जग्गा छुट्याइएकोमा निर्माणाधीन छात्रावासले चार रोपनी पाँच आना क्षेत्रफल ओगट्ने बताइएको छ।

छात्राबासमा आवास, भान्सा तथा डाइनिङ, पुस्तकालय, पढाइ कक्ष र पाले घरसहितको आधुनिक भवन रहनेछ। भवनको निर्माण लागत एक करोड १५ लाख रुपैयाँ रहेको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिए। भवन २०७८ जेठ मसान्तसम्ममा सम्पन्न गर्ने गरि जी.ए बिल्डर्स काठमाडौंले ठेक्का जिम्मेवारी लिएको छ।

नेपालमा चेपाङको जनसंख्या ६८ हजार ३९९ रहेको छ। जसमध्ये धादिङमा १८ हजार ५०० रहेको छ। चेपाङ बसोवास भएका जिल्लाहरुमा पहिलोमा चितवन, दोश्रोमा मकवानपुर तेश्रोमा धादिङ र चौथोमा गोरखा पर्दछ। तनहुँ, लमजुङ, बाँके, बर्दिया लगायत देशका २६ जिल्लामा चेपाङहरुको वसोवास रहेको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कले देखाएको छ।

नेपाल चेपाङ संघ केन्द्रीय समितिका पूर्वसचिव एवम चेपाङ समुदायबाट पहिलो स्नातकोत्तर उत्तीर्ण तिलक चेपाङका अनुसार चेपाङहरुको साक्षरता प्रतिशत ३६.१ रहेको छ। देशभरिका चेपाङमध्ये ३० प्रतिशत अझै पनि नागरिकता प्रमाणपत्रविहीन छन् भने ७५ प्रतिशत चेपाङ लालपूर्जावहीन छन्।