कर्मचारी हाजिर नगराउँदा धादिङका पाँच स्थानीय तहबाट ३९ लाख अनुदान फिर्ता

1150 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । सरुवा भएर आएका स्थायी दरवन्दीका कर्मचारीलाई हाजिर नगराउने धादिङका पाँच सहित देशभरका ३५ स्थानीय तहको अनुदान रकम संघीय सरकारले कट्टा गरेको छ ।संघीय सरकारले पठाएका कर्मचारी हाजिर नगराउने धादिङका ५ स्थानीय तहबाट ३९ लाख २३ हजार ३ सय १४ रुपैयाँ ६ पैसा तलब भत्ता बापतकोअनुदान कट्टा हुने भएको हो ।

स्थानीय तहमा समायोजन भएका र विभिन्न कारणले हाजिर हुन नपाएका कर्मचारीलाई २०७७ चैत्र सम्मको तलब भत्ता सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिने भएको छ ।

स्थानीय तहहरूबाट फिर्ता भएका कर्मचारीहरूको साउनदेखि चैत्र मसान्तसम्म  तलब भत्ताबापतको रकम एक करोड अठासी लाख अठार हजार आठ सय सोह्र पैसा दश मात्र काट्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो ।

मङ्सिर ८ गतेको मन्त्रिपरिषद् बैठकले समायोजन भएका तर स्थानीय वा प्रदेशले हाजिर नगराएका कर्मचारीको तलब भत्ता ती तहका लागि प्रदान गरिएको तलब भत्ता बापतको रकम सम्बन्धित अनुदानबाट कट्टा गर्ने निर्णय गरेको थियो ।

धादिङ जिल्लामा यसरी कर्मचारी हाजिर नगराउने स्थानीय तहमा धुनिबेसी नगरपालिका, नीलकण्ठ नगरपालिका, सिद्धलेक,गजुरी र गल्छी गाउँपालिका रहेका छन ।

स्थानीय तहमा हाजिर हुन नपाएका कर्मचारी बिबरणका लागि यहाँ क्लिक गर्नुहोस

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार धुनिबेसी नगरपालिकामा टा.ना.सु. अरुणकुमारी शर्मा,उपनिर्देशक विमला धिताल र बरिष्ठ अधिृकृत नारायणप्रसाद गौतमलाई हाजिर नगराईएको हो । तीनै जना कर्मचारी फर्कंदा नगरपालिकाबाट ११ लाख ९८ हजार २६७ रुपैयाँ २० पैसा अनुदान फिर्ता भएको छ ।

त्यसै गरि नीलकण्ठ नगरपालिकाले बरिष्ठ अधिकृत सातौं अमितकुमार झा र उपनिर्देशक विजयकुमार भट्टराईलाई हाजिर नगराउँदा नगरपालिकाबाट ९ लाख ९४ हजार ९ सय ९५ रुपैयाँ २० पैसा अनुदान फिर्ता हुने भएको हो ।

गजुरी गाउँपालिकाले पनि बरिष्ठ अधिकृत नितु भट्टराई र शाखा अधिकृत रीता सुवेदी भट्टराईलाई हाजिर नगराएको कारण ९ लाख ९३ हजार ४ सय ४४ रुपैयाँ २० पैसा अनुदान फिर्ता गर्नु पर्ने भएको छ ।

गजुरी पछि सिद्धलेक गाउँपालिकाले पनि पनि इन्जिनियर सुरेन्द्र मौरवैतालाई हाजिर नगराएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । जस्का कारण सिद्धलेकबाट २ लाख २२ हजार ४ सय ७७ रुपैयाँ फिर्ता हुनेछ भने गल्छी गाउँपालिकाबाट ५ लाख १४ हजार १ सय ३१ रुपैयाँ फिर्ता गर्नुपर्नेछ । गल्छी गाउँपालिकाले लेखा अधिकृत सन्जिता शर्मालाई हाजिर नगराएको हो ।