नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय समिति विस्तार, धादिङबाट ४ जना थपिए

1007 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले महाधिबेशनको मिति घोषणा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले २०७८  मंसिर २ देखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि २०७७ चैत २५ देखि २९ सम्म गर्ने भनिएपनि मध्यावधि निर्वाचनका कारण २०७८ मंसिरमा महाधिबेशनगर्ने निर्णय गरेको हो ।

महाधिबेशनको तयारीका लागि मंगलबार बालुवाटार स्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री केपि शर्मा ओलीको अध्यक्षतामा बसेको केन्द्रिय कमिटीको बैठले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार विहान बसेको केन्द्रीय समितिको बैठकले ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको छ । जस्मा धादिङका कम्युनिष्ट पार्टीका संस्थापक जगन्नाथ नेपाल, प्रतिनिधि सभाका निवर्तमान सांसद भूमी त्रिपाठी र अखिल नेपाल महिला संघकी सचिवालय सदस्य जानुका सिम्खडा, पर्यटन व्यवसायी चन्द्र रिजाल लगायत केन्द्रीय कमिटी सदस्यमा थपिनु भएको छ ।नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय कमिटीमा यस अघि धादिङका डाक्टर पुष्पराज कँडेल,राजेन्द्रप्रसाद पाण्डे गंगालाल तुलाधर,खेम लोहनी,पुष्पविक्रम मल्ल,शालिकराम जमकट्टेल,कल्पना धमला र ओम शर्मा रहेका छन् ।

केन्द्रीय कमिटी बैठकले सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने निर्णय गरेको छ । दुई दिनभित्रै सबै प्रदेशमा भेला गर्ने गरी वक्ता र समन्वयकर्ता तोकिएका छन् । सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदिप ज्ञवाली र कर्ण थापालाई खटाइएको छ ।

त्यस्तै कर्णाालीमा शंकर पोखरेल, यमलाल कँडेल लगायतका नेता खटिएका छन् भने लुम्बिनीमा खिमलाल भट्टराईले भेलाको संयोजन गर्ने भनिएको छ ।

गण्डकीमा वक्ताका रुपमा टोपवहादुर रायमाझी तोकिएका छन् भने बागमतीको संयोजन आनन्द पोखरेलले गर्दैछन् । प्रदेश २ को संयोजन सुमन प्याकुरेलले गर्ने केन्द्रीय कमिटीमा प्रस्ताव पारित भएको छ । बैठकले अर्को केन्द्रीय कमिटी बैठक बिहीबार बस्ने पनि निर्णय गरेको छ ।