नेकपा धादिङको अध्यक्षको जिम्मेवारी भूमि त्रिपाठीलाई

1782 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङको जिल्ला अध्यक्षको जिम्मेवारी भूमी त्रिपाठीले पाउनु भएको छ । जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष नेत्रराज पौडेलले व्यक्तिगत कारण देखाई पदबाट राजिनामा दिएपछि सोमवार धादिङबेसीमा सम्पन्न नेकपा धादिङको चौथो पूर्ण बैठकले त्रिपाठीलाई अध्यक्षको जिम्मेवारी दिएको हो । त्रिपाठी धादिङ १ का निवर्तमान प्रतिनिधिसभा सदस्य र नेकपाको केन्द्रिय कमिटी सदस्य हुनुहुन्छ ।

सोमवार धादिङबेसीमा अध्यक्ष नेत्रराज पौडेलको अध्यक्षतामा बसेको चौथो पूर्ण बैठकमा अध्यक्ष पौडेलले बिशेष परिस्थितिका कारण आंफुँले अध्यक्षको जिम्मेवारी बहन गर्न असमर्थ भएको भन्दै अध्यक्षको जिम्मेवारीमा नरहने घोषणा गरेपछि बैठकले तत्कालिन अध्यक्ष त्रिपाठीलाई उक्त जिम्मेवारी दिएको हो ।बैठकलाई नेकपाका स्थायी समिति सदस्य एवम केन्द्रिय लेखा आयोगका संयोजक प्राध्यापक डाक्टर पुष्प कँडेल, केन्द्रिय सदस्य खेमप्रसाद लोहनी, युवा संघ नेपालका सचिव रमेश आचार्यले सम्वोधन गर्नु भएको थियो । बैठकमा पार्टीका केन्द्रिय सदस्यहरु चन्द्र रिजाल, जानुका सिम्खडा, जगन्नाथ नेपाल लगायतको उपस्थिति रहेको थियो ।

तत्कालिन दुई ठुला कम्युनिष्ट पार्टी एकीकरण भएर नेकपा बनेपछि धादिङ जिल्ला कमिटीको अध्यक्षमा भूमी त्रिपाठी र सचिवमा शालिकराम जमकट्टेलले जिम्मेवारी पाएका थिए ।  २०७६ साल भदौ २१ गते शनिबार धादिङबेशीमा पार्टी अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा बसेको दोस्रो पूर्ण बैठकले  नेत्रराज पौडेललाई कार्यवाहक अध्यक्ष र विजय बुर्लाकोटीलाई कार्यवाहक सचिवको जिम्मेवारी दिएको थियो ।

पार्टी एकता पछि केन्द्रको निर्णयबाट तत्कालिन एमालेका अध्यक्ष त्रिपाठीलाई अध्यक्ष र तत्कालिन माओवादी केन्द्रका अध्यक्ष शालिकराम जमकट्टेललाई सचिवको जिम्मेवारी दिएर जिल्लामा पठाएको थियो । सचिव बनाईनु भएका जमकट्टेललाई पछि पार्टीले जिल्ला इन्चार्जको जिम्मेवारी दिएपछि सचिव पदमा वुर्लाकोटीलाई मनोनयन गरिएको थियो । जमकट्टेल र बुर्लाकोटी दुवै अहिले नेकपा नेपाल दहाल समूहमा रहेका छन ।

पार्टी विभाजनको औपचारिक घोषणा नभएपनि तत्कालिन नेकपा यति बेला अलगअलग कार्यक्रम गर्दै केन्द्र देखि जिल्ला सम्म आआफ्नो समूहको गतिविधि सञ्चालन गरिरहेका छन । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा अहिले एउटा समूहको नेत्तृत्व केपि शर्मा ओली र अर्को समूहको नेत्तृत्व पुष्पकमल दहाल र माधव नेपालले गरिरहेका छन् ।

धादिङमा पनि नेकपाले दुईवटा समूह मार्फत गतिविधि गरिरहेको छ । दहाल र नेपाल समूहको नेकपाले पुस ११ गते धादिङबेसीमा जिल्ला भेला गरेको थियो ।