बरिष्ठ पत्रकार सीताराम प्रसाद बर्माको शालिक निर्माण गरिने

1020 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – नेपाल पत्रकार महासंघ धादिङ शाखाका संस्थापक सभापति एवं प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार सीताराम प्रसाद बर्माको शालिक निर्माणका लागि प्रस्ताव गरिएको छ । नेपाल पत्रकार महासंघ धादिङ शाखाको शुक्रवार सम्पन्न २२ औं साधारण सभाको अवसर पारेर महासंघका केन्द्रिय सदस्य हरिहरसिंह राठौरले उक्त प्रस्ताव ल्याएका हुन ।

तीन दशक देखि निरन्तर पत्रकारितामा गर्दै आईरहेका वर्माको ७९ वर्षको उमेरमा गत कात्तिक २१ गते निधन भएको हो । वर्माको पहलमा २०५३ सालमा नेपाल पत्रकार महासंघ धादिङ शाखाको स्थापना भएको थियो । धादिङ जिल्लामा पत्रकारिताको विकास गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै महासंघका केन्द्रिय सदस्य राठौरले जिल्ला शाखाको कार्यालय परिसरमा वर्माको शालिक निर्माण गर्न आग्रह गरेका हुन । नेपाल पत्रकार महासंघ र प्रेस युनियन जिल्ला शाखा धादिङले वर्माको योगदानको सम्मानका लागि संयुक्त रुपमा दुई लाख रुपैयाँ अक्षय कोष खडा गरि यसै बर्षबाट सीताराम वर्मा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार स्थापना गरेको छ । उक्त पुरस्कार पहिलो पटक महासंघ धादिङका संस्थापक सचिव अग्रज पत्रकार राजेन्द्रप्रताप शाहलाई प्रदान गरिएको छ ।

केन्द्रिय सदस्य राठौंरको उक्त प्रस्तावलाई समर्थन गर्दै पत्रकार महासंघ धादिङले संस्थापक अध्यक्षको शालिक निर्माण गर्न पहल गर्ने प्रतिवद्धता जनाएको छ । महासंघका जिल्ला अध्यक्ष नवराज छत्कुलीले यस बिषयमा छलफल अघि बढाई छिट्टै निर्णयमा पुग्ने वताएका छन् ।

शालिक निर्माणको प्रस्तावलाई समर्थन गर्दै २२ औं साधारण सभाको दिन शालिकराम वर्मा स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकारद्धय राजाराम शर्मा र पोषनाथ अधिकारीले पुरस्कार वापत प्राप्त ५/५ हजारको दरले १० हजार रकम महासंघलाई हस्तान्तरण गरेका छन् ।

तीन दशकदेखि राष्ट्रिय समाचार समितिमा कार्यरत रही पत्रकारितामा सक्रिय बर्मालाई नेपाल पत्रकार महासंघले २०७१ सालमा ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान’ प्रदान गरेको थियो भने २०७६ सालमा प्रेस काउन्सिल नेपालले ‘प्रेस काउन्सिल क्रियाशील पत्रकािरता पुरस्कार’ बाट सम्मान गरेको थियो ।

सिरहा जिल्लाको नवराज गाउँपालिका वडा नम्बर ५ को झाझपट्टी गाउँमा बिक्रम सम्बत २००२ साल चैत २ गते पिता पशुपति उपाध्याय र माता बिकादेवी उपाध्यायको जेष्ठ पुत्रका रुपमा बर्माको जन्म भएको थियो । ३० बर्ष निजामति सेवाको सुव्वा पदवाट अवकाश लिए पछि पत्रकारिता क्षेत्रमा जोडिएका वर्मा गएको २० बर्ष देखि राष्ट्रिय समाचार समितिको जिल्ला समाचारदाता पदमा कार्यरत थिए । वर्माले कान्तिपुर दैनिकको स्थापनाकाल देखि एक दशक सम्म समाचारदाताका रुपमा समेत काम गरेका थिए ।

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले स्थापना गरेको स्वतन्त्र पत्रकार सेनानी, प्रेस काउन्लि नेपालको कृयाशिल पत्रकारिता पुरस्कार, राष्ट्रिय समाचार समितिको कृयाशिल पत्रकारिता पुरस्कार लगायतका दर्जनौं पत्रकारिता पुरस्कार प्राप्त गरेका वर्मा नेपाल प्रेस युनियन धादिङ, रिपोर्टस क्लव,नेपाल निजामति कर्मचारी संघ, नेपाल ट्रेड युनियन काँग्रेस धादिङ शाखाका संस्थापक अध्यक्ष समेत हुन ।

बर्माका तीन छोरी र दुई छोरा रहेकोमा जेठा छोरा शालिकराम वर्माको भने चार बर्ष अघि निधन भएको थियो । कान्छी श्रीमती पवित्रादेवी वर्माको गत कात्तिक १ गते निधन भएको थियो । श्रीमतीको निधन भएको २१ दिन पछि उनको पनि निधन भएको थियो ।