ढोडेनीमा घर घरमा खानेपानी आउन थालेपछि गाउँले भए खुसी

1270 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गजुरी- धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ को ढोडेनी गाउँमा खानेपानी आयोजना सम्पन्न भई घर घरमा धारा मार्फत पानी वितरण हुन थालेको छ । अन्र्तराष्ट्रिय गैर सरकारी संस्था अक्सफामको सहयोगमा प्रयास नेपाल धादिङले पुर्णिमा कार्यक्रम अन्तरगत संचालित योजनाबाट ढोडेनीका ४२ घरमा धारा मार्फत सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध गराएपछि गाउँबासीमा खुसीयाली छाएको छ ।


प्रयास नेपाल धादिङको १४ लाख ७ हजार १ सय ९१ रुपैया, गजुरी गाउँ पालिकाको ३ लाख ६ हजार ६ सय रुपैया र स्थानीय उपभोक्ताबाट जनश्रमदान ५ लाख १५ हजार ६ सय ६५ रुपैया समेत गरि कुल २२ लाख २९ हजार ४ सय १६ रुपैयाँ खर्च गरेर गाउँमा खानेपानी योजना सम्पन्न गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले धादिङ न्यूजलाई वताउनुभयो ।

गाउँमा खानेपानी योजना सम्पन्न भएपछि त्यसको उपलव्धि, चुनौती र समुदायको अनुभव सुन्नका लागि खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गजुरीले आईतबार खानेपानी योजनाको अन्तिम चरणको सार्वजनिक सुनुवाइ तथा योजना हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

उपभोक्ता समितिका अध्यक्ष बिनम आले मगरको अध्यक्षतामा भएको कार्यक्रमलाई वागमती प्रदेश सभाका सदस्य एवम पूर्व मन्त्री शालिकराम जमरकट्टेल,गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्रबिक्रम बस्नेत उपाध्यक्ष सीता ढुंगाना , प्रयास नेपालका अध्यक्ष रेष्टन कँडेल, कार्यकारी निर्देशक दामोदर अर्याल लगायतले सम्वोधन गरेका थिए । कार्यक्रममा ५ नम्बर वडाध्यक्ष रामचन्द्र मिजार, ६ नम्बर वडाध्यक्ष अर्जुन भुजेल ,ईन्जिनियर चक्रपाणि जोशि लगायतको उपस्थिति रहेको थियो ।

गाउँपालिकाको सबै घरघरमा स्वच्छ खानेपानी वितरण गर्ने लक्ष्य अनुसार स्थानीय विकास साझेदार प्रयास नेपाल धादिङसँग समन्वय तथा सहकार्यमा वडा नं ५ को खानेपानी योजनामा गाउँपालिकाबाट ३ लाख ६ हजार रकम लगानी गरिएको अध्यक्ष बस्नेतले कार्यक्रममा बताउनुभयो ।

कार्यक्रमका उपस्थित स्थानीय उपभोक्ताहरुले घरघरमा धारा सहित खानेपानी व्यवस्थापन भए पछि ढोडेनीबासीले खुशीयाली मनाएका छन् । सोमबार सम्पन्न कार्यक्रममा गजुरी गापा, पीडागाउँ, राम्चे र च्याङ्ली खानेपानी योजनाका अध्यक्ष लगायत स्थानीय उपभोक्ताहरुको सहभागीता रहेको थियोे ।