माघ १४ गते देखि ७७ जिल्लाबाट एकसाथ कोरोना खोप अभियान शुरु गरिने

1161 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-नेपालमा कोरोना खोप यही माघ १४ गतेदेखि लगाउन शुरु गरिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार सोमबारसम्ममा ७७ वटै जिल्लामा खोप पुगिसक्नेछ । ७७ जिल्लाका करिब ३ सय अस्पतालबाट खोप दिने तयारीमा सरकार जुटेको छ ।

भारत सरकारले नेपाललाई  उपलब्ध गराएको  १० लाख डोज कोभिड खोप माघ ८ गते बिहीबार काठमाडौं आइपुगेको थियो।

पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइने मन्त्रालयले जनाएको छ। गौतमका अनुसार सात प्रदेश र ७७ जिल्लामा करिब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने छ।

काठमाडौं उपत्यकामा भने १० भन्दा बढी अस्पतालबाट खोप वितरण गरिनेछ।  उपत्यका वाहिरका जिल्लाको हकमा जिल्ला अस्पतालमा बुथ राखेर खोप लगाईने र देशभरमा दैनिक ३० हजारलाई खोप दिइने प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

उपत्यकामा ठूला अस्पतालबाट खोप सञ्चालन गर्ने तयारी गरिएको छ। जस्मा शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, पाटन अस्पताल, वीर अस्पताल, टिचिङ अस्पताल, शिक्षण अस्पताल, सशस्त्र प्रहरी बलम्बु अस्पताल लगायतका स्थानमा बुथ राखेर खोप दिने तयारी भईरहेको छ । अनुदानमा प्राप्त खोप निजी अस्पतालबाट भने वितरण नहुने भएको छ ।

कोरोनाको खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सक्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ।

दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने छ। खोप लगाउन सुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ।

सरकारको कुल जनसंख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ। कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसंख्यालाई पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी), सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत ल्याउने तयारी गरेको छ।

खोपको व्यवस्थापनका लागि सातवटै प्रदेशमा संयोजक तोकिए 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड विरुद्धको खोपको व्यवस्थापनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ।

मन्त्रालयले कोभिड खोप अभियान सञ्चालनलाई व्यवस्थित बनाउन र खोपको उचित व्यवस्थापनका लागि महाशाखा प्रमुखलाई संयोजकको जिम्मेवारी दिएको हो।

मन्त्रालयका अनुसार डा तारानाथ पोखरेललाई प्रदेश १, डा मदनकुमार उपाध्यायलाई प्रदेश २, बागमती प्रदेशमा डा गुणराज लोहनी, गण्डकी प्रदेशमा डा जागेश्वर गौतम, लुम्बिनी प्रदेशमा डा विकास देवकोटा, कर्णाली प्रदेशमा डा अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा डा कृष्ण पौडेललाई खोप व्यवस्थापनका लागि संयोजक तोकिएको छ।

उनीहरुलाई सम्बन्धित प्रदेशमा खोप अभियानका लागि तयारी, खोप लगाउने व्यक्त्तिको नामावली, तयारीका क्रममा हुने समस्या समाधानका लागि सहजीकरण गर्नेलगायतको जिम्मेवारी दिइएको छ।