धादिङका उच्च भेगमा हिमपात,चिसोले जनजिवन प्रभावित (फोटो फिचर सहित)

982 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ, २४ माघ । शनिवार दिउँसो देखि पर्न थालेको हिमपातले धादिङको रुबीभ्याली गंगाजमुना, खनियाबास, नेत्रावतीडवजोङ गाउँपालिकाका विभिन्न स्थान हिउँले ढाकिएर सेताम्मे भएका छन । शनिवार विहानै देखि शुरु भएको हल्का बर्षापछि दिउँसोबाट जिल्लाका उच्चभागमा हिउँ पर्न थालेको हो ।


धादिङको तिप्लिङ, लापा, सेर्तुङ,झार्लाङ,दार्खा,रिगाउँ,गुम्दी,फुलखर्क, मार्पाक, सेमजोङ, बसेरीका विभिन्न स्थानका साथै नीलकण्ठ नगरपालिकाको धुंवाकोट,जुरेथुम लगायतका स्थानमा हिमपात भएको स्थानीयले वताएका छन् । हिमपातका कारण उत्तरी धादिङको उच्च भागमा पर्ने लब्दुङ, लिंङजो, ठूलोगाउँ, नेवेर, लापा, कपुरगाउँ खादीङ, झार्लाङ, गंगाजमुनाको पोखरा लगायतका गाउँक्षेत्र हिउँले ढाकिएर सेताम्मे भएको स्थानीयले जानकारी दिएका छन ।

गाउँबस्ती हिउँले ढाकिएपछि उत्तरी धादिङको जनजीवन कष्टकर भएपनि किसानहरु भने खुसी भएको लापाका सामाजिक कार्यकर्ता पुरन तामाङले धादिङ न्यूजलाई बताउनुभयो । शनिवार दिउँसो देखि शुरु भएको हिमपातपछि यस भेगका अधिकांश मानिस घरभित्रै सुरक्षित बसिरहेका छन् । हिमपातपछि हिमाली भेगमा खेतीवाली राम्रो हुने जनविश्वास रहेको छ ।

धादिङका उच्च पहाडी भेगमा यो बर्ष पहिलो पटक हिमपात भएको हो । शुक्रवार देखि भएको मौसम बदलीसँगै शनिवार दिउँसोबाट उच्च पहाडी भेगमा हिमपात भएको हो ।

शनिबार बिहानदेखि परेको सिमसिम पानीले धादिङ जिल्लाको सदरमुकाम र अन्य स्थानमा समेत अत्याधिक चिसो बढेको छ ।

हिमपातले जनजिवन अत्यन्तै कष्टकर वनेपनि हिउँपरेपछि जिल्लाका उच्च क्षेत्रका खेतबारीमा लगाइएको गहुँ, जौ लगायतका बालि राम्रो हुने स्थानीयले बताएका छन । माथिल्लो लेक क्षेत्रमा हिमपातका कारण अत्यधिक चिसो बढ्ने भएकाले त्यहाँ चराउन लगिएका भेडा, बाख्रा, चौरी, खच्चर लाई चिसोबाट बचाउन तल्लो भेगमा झार्न सुरु गरिने भएको छ ।

 

पानीसँगै हिउँ पर्न थालेपछि हिमाली भेगका जनजीवन कष्टकर बन्दै गएको छ । त्यहाँका सर्वसाधारण बाहिर निस्कन सकिरहेका छैनन् । समयमै परेको हिउँले माटो मलिलो बनाउने भन्दै किसान भने खुसी भएका छन् । जिल्लाको सबै भू–भागमा शुक्रवार र शनिवार दिनभर घाम लागेन भने शनिवार विहानै देखि उच्चभेगमा बर्षा शुरु भएपनि महाभारत र बेसीभेगमा भने दिउँसो मात्रै हल्का बर्षा भएको थियो ।

  • तस्बिर सहयोग 
    – पुरन तामाङ/लापा
    – शिखर तामाङ /दार्खा
    – दिपक अधिकारी / फुलखर्क