हाईवे र सरस्वती बचत तथा ऋण सहकारी संस्था बिच एकीकरण

1175 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२ फागुन –   धादिङ जिल्लाको गल्छी र थाँक्रे गाउँपालिकामा रहेका समान प्रकृतिका दुईवटा बचत तथा ऋण सहकारी संस्थाले   एकीकृत कारोवार शुरु गरेका छन् ।

जिल्लाको गल्छी गाउँपालिका–६ बैरेनीवजारमा मुख्य कार्यालय रहेको हाइवे बचत तथा ऋण सहकारी संस्था र थाक्रे गाउँपालिका–७ जुँगेखोलामा रहेको सरस्वती महिला बचत था ऋण सहकारी संस्था बीच फागुन १ गते एकीकरण भएको हो ।

दुई संस्था एकीकरण गरी एक सक्षम सहकारी संस्था निर्माण गर्ने उद्देश्यले समान प्रकृतिका दुई सहकारी संस्था एक भएको हाईवे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष उमा सिम्खडाले वताउनुुभयो ।

संस्थाका व्यवस्थापक ऋषिराम नेपालका अनुसार एकीकृत भएको हाइवे सहकारीमा कुल ३४ सय १८ सेयर सदस्य मध्ये १९ सय ८२ महिला सदस्यहरु रहेका छन् । कुल २२ करोड ६० लाख संयुक्त कारोबार रहेको उक्त संस्थाको २ करोड ३१ लाख सेयर पुँजी, १६ लाख ६ करोड बचत र १६ करोड ४१ लाख ऋण लगानी रहेको छ ।


संस्थामा रहेका महिला सेयर सदस्यहरुलाई लक्षित गरि छिट्टै लघुवित्त सेवाका साथै महिला उद्यमशिलता प्रवद्र्धनका कार्यक्रमहरु अगाडि बढाइने योजना रहेको व्यवस्थापक नेपालले बताउनुभयो ।

गत मंसिर र पुसमा बार्षिक साधारणसभा सम्पन्न गरेका दुवै संस्थाले एकीकरणमा जाने प्रस्ताव ल्याए सँगै दुईवटा सहकारीका बिच एकीकरण सम्भव भएको हो । एकीकरण पश्चात संस्थाको अध्यक्षमा हाईवे बचतकी उमा सिम्खडा र उपाध्यक्षमा सरस्वती महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कल्पना सिंहलाई चयन गरिएको छ । दुबै सहकारीका प्रतिनिधित्व रहने गरी संचालक समितिको गठन गरिएको छ ।


सहकारी एकीकरण घोषणा कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आचार्य, पूर्व अध्यक्ष नेत्रराज पौडेल, थांक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य, उपाध्यक्ष अम्विका रुपाखेती, थांक्रे ७ का वडाअध्यक्ष रामकुमार बस्नेत लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा दुबै सहकारी संस्था संचालक समितिका पदाधिकारी, अन्य सामाजिक लव्ध प्रतिष्ठित व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो ।

धादिङ जिल्लाको १३ वटै स्थानीय तहमा गरी ४२५ वटा सहकारी संचालनमा रहेका छन् ।  जिल्लामा अहिले जिल्ला संघ १, बिषयगत संघ ५ का साथै कृषि तथा बहुउद्धेश्यीय २३१, बचत तथा ऋण ८९, दुग्ध १७, बिद्युत १५, स्वास्थ्य ५,संचार ५, उपभोक्ता ५, यातायात ३, जडिबुटी, पर्यटन, पशुपालन तथा अन्य बिषयगत ५० वटा सहकारी रहेका छन् ।