धादिङमा समाचारमूलक डिजिटल पत्रिका बढ्दै

913 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ जिल्लालाई मुख्य कार्यक्षेत्र बनाएर धादिङबाट शुक्रवारदेखि  ‘जनचासो डट कम’ नयाँ अनलाइनको अनौपचारिक शुरुवात भएको छ ।
धादिङमा रहेर छापा तथा टेलिभिजन पत्रकारितामा सक्रिय रहँदै आएका पत्रकार मनिष दुवाडीको अगुवाईमा जनचासो डट कमको शुरुवात भएको हो ।

दुवाडीले शुक्रवार आफ्नो फेसबुक वालमा ‘आज ७१ औँ प्रजातन्त्र दिवस, यही छेको पारेर धादिङबेशीबाट janachasho.com मध्यान्न १२ बजेदेखि परीक्षण प्रकाशन हुनेछ ! जनचासो टिमले तपाइको अमुल्य सल्लाह सुझावको अपेक्षा गरेको छ ! कृपया सल्लाह सुझाव यही पोष्टमा दिनुहोला ‘ स्टाटस लेख्दै अनलाइन शुरुवात हुन लागेको जानकारी गराएका थिए ।

पछिल्लो समय धादिङ जिल्लामा अनलाइन  ( डिजिटल पत्रिका ) खुल्नेक्रमले निकै गति लिन थालेको छ ।
धादिङ जिल्लालाई कार्यक्षेत्र वनाएर अहिले ३५ भन्दा  बढी अनलाइन / व्लग सञ्चालनमा रहेको भएपनि नेपाल सरकारको सूचना तथा प्रशारण विभाग र वागमती प्रदेश सरकारको सञ्चार रजिष्ट्रारको कार्यालयमा दर्ता भएका अनलाइनको संख्या भने सिमित रहेको छ ।

धादिङ जिल्लामा स्थायी ठेगाना राखी सूचना तथा प्रशारण विभागमा अहिले सम्म १३ वटा र वागमती प्रदेश सरकारको सञ्चार रजिष्ट्रारको कार्यालयमा धादिङको १ मात्र अनलाइन दर्ता भएको छ ।

छोटो समयमै संसारभर सूचना समाचार फैलाउन सकिने माध्यम भएकै कारण डिजिटल अनलाइन तर्फ धेरैको चासो बढ्दै गएको हो । छापा पत्रकारितामा भन्दा डिजिटल पत्रकारितामा जनशक्तिको प्रयोग कम हुने खर्च पनि कम लाग्ने र सूचना प्रविधिसंग साक्षात्कार भएका सामान्य व्यक्तिले घरमै बसेर पनि सञ्चालन गर्न सक्ने भएकाले निजी व्लग तथा अनलाइन खोल्ने र अपडेट गर्नेहरुको संख्या बढ्दै गएपनि खुलेका अनलाइन वन्द हुने संख्या पनि बढ्दै गएको पाइन्छ ।

घर भित्रै बसेर कम खर्चमै वेबसाइटमा समाचार अपलोड हुनासाथ कुनाकन्दरासम्म एकसाथ सूचना सम्प्रेषण गर्न जति सजिलो छ यस्लाई व्यवस्थित र निरन्तरता दिलाउन उत्तिनै चुनौती पनि रहेको छ ।

अनलाइन पत्रकारितामा आम पाठक दर्शकको रुची बढ्दै गईरहेको भएपनि केर्ही अनलाइनमा आएको समाचार सत्यतथ्य र विश्वसनीय नभईदिंदा कतिपयले पाठकले आम अनलाइन पत्रकारितामा प्रश्नचिन्ह उठाउने गरेका पनि छन ।