सुत्केरीढुंगाबाट त्रिशूली नदीमा खसेको ट्याङ्करले तिर्‍यो २१ लाख

740 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । नक्कली दुर्घटना गराएर भ्रम फैलाउनुका साथै तेल नष्ट गरेको आरोपमा एक ट्याङकर धनीबाट नेपाल आयल निगमले २१ लाख ४० हजार रकम असुली गरेको छ ।

गएको असोज ४ गते बिहान धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ सुत्केरीढुंगाबाट त्रिशूली नदीमा खसेको ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्यांकर दुर्घटना परेको नभई जानाजान त्रिशूली नदीमा खसालेको पुष्टि भएपछि सो ट्याङ्कर धनी अप्सरा पौडेलबाट नेपाल आयल निगमले नष्ट भएको पेट्रोल बराबरको रकम असुल गरेको हो ।

भारतको बरौनी रिफाइनरीबाट २० हजार लिटर पेट्रोल लिएर काठमाडौँ आउँदै गरेको सो ट्याङ्करले पेट्रोलमा मट्टितेल मिसाएको थाहा पाएपछि निगमले कारबाही थालेको सुईंको पाएर ट्याङ्कर धनीको निर्देशनमा चालक र सहचालकले नक्कली दुर्घटना गराएर ट्याङ्कर त्रिशूली नदीमा खसालेर क्षति पु¥याएको आयल निगमले ठहर गरेको थियो ।

पेट्रोलियम पदार्थ ढुवानी विनियमावली, ०७३ अनुसार नष्ट भएको सबै पेट्रोलियम पदार्थको परिणाम बराबरको रकम सम्बन्धित पक्षबाट असूल गराइएको आयल निगमले जनाएको छ । तत्कालीन बजार मूल्य प्रतिलिटर १०४ रुपैयाँका दरले २० हजार लिटर पेट्रोलको मूल्य असुल गरिएको हो ।

असोज ४ गते बिहान ३ बजेतिर ट्यांकर त्रिशूलीमा खसेको थियो भने खसेको केही बेरमा ट्याङकरमा आगजनीसमेत भएको थियो । त्रिशूली नदीमा आगजनी भइरहेको देखेपछि स्थानीयले दुर्घटनाको आशंका गर्दै सो ठाउँमा गएर हेर्दा ट्याङ्कर जलिरहेको अवस्थामा देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए ।

दुर्घटनापछि सम्पर्कविहीन भएका ट्यांकरका चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ का ३२ वर्षीय सुजित बोहोरा र सहचालक मनिष नगरकोटी सकुशल भेटिएपछि आयल निगमले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न प्रहरीलाई अनुरोध गरेको थियो ।

प्रहरी अनुसन्धानका क्रममा बयान दिँदा चालक र सह चालकले ट्याङ्करको स्टेरिङ फेल भएका कारण नदीमा खसेको र आफूहरुले हाम फालेर ज्यान जोगाएको बयान प्रहरीलाई दिएका  थिए । चालक र सहचालकलाई प्रहरीबाट उन्मुक्ति मिले पनि ट्याङ्करका धनी भने कानुनी फन्दामा परेका छन् । उनीहरुविरुद्ध अहिले पनि राष्ट्रिय सम्पति हिनामिनाको अभियोगमा अदालतमा मुद्दा चलिरहेको छ ।

आयल निगम थानकोट डिपो प्रमुख प्रदीप यादवका अनुसार जानीजानी हानी नोक्सानी पु¥याउनेलाई कारबाही गर्दा आगामी दिनमा यस्ता खाले घटना नदोहोरिने र अरुको लागि पाठसमेत हुनेछ ।