सल्यानटारमा डोजरको ठक्करले महिलाको मृत्यु, स्थानीयले डोजर जलाईदिए (भिडियो )

2191 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  • धादिङ न्यूज समाचारदाता

सल्यानटार –  धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटार खोल्सी नजिकै सडक निर्माणका क्रममा डोजरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको त्रिपूरासुन्दरी गाउँपालिका वडा न १ कि ४५ बर्षिया सरस्वती कुमाल रहेकी छन् । कुमालको मृत्यु पछि घटनास्थलमा तनाव बढेको छ ।

सोमबार दिउँसो सडक निर्माणका क्रममा निस्किएको माटो फाल्दै गरेका बेला घाँस काटेर घर फर्कदै गरेकी कुमाललाई डोजरले ठक्कर दिएको थियो । ठक्कर दिएपछि त्यहि ढलेकी कुमालको डोजरले फालेको माटोमा पुरिएर मृत्यु भएको अबस्थामा शव भेटिएपछि स्थानीय आक्रोशित भएका हुन ।

घटनाका प्रत्यक्षदर्शी एक स्थानीयका अनुसार डोजरको ठक्कर पछि घाइते भएकी महिला उठ्न नभ्याउँदै डोजरले माटो हालेर पुरिदिएपछि उनको मृत्यु भएको हो । घटना पछि डोजर चालक फरार भएका थिए ।

ठक्करबाट घाइते भएकी महिलालाइ डोजर चालकले उद्धार गर्नुको साटो माटोले पुरिदिएर घाइते अवस्थामै हत्या गरेको भन्दै आक्रोशित भएका स्थानीयले डोजरमा आगजनी गरेर नारावाजी गरेका छन ।


जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी निरीक्षक अरुण कुशुहवाका अनुसार सल्यानटारमा सडक खन्दै गर्दा डोजरको ठक्करबाट एक महिला घाईते भएको र घाइते महिलाको उद्धार गर्न नभ्याउँदै माटोले पुरिएर ज्यान गएको जानकारी आएकोे छ । सल्यानटार स्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोली घटना स्थल पुगेर सत्य तथ्य अनुसन्धानमा लागेको वताईएको छ ।

आक्रोशित स्थानीयले दोषि माथि कारवाही र मृतकको आश्रित परिवारलाई उचित क्षतिपुर्ति दिनुपर्ने माग गर्दै नाराववाजी गरिरहेका छन् । डोजर चालक र बाटो बनाउने ठेकेदारलाई खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

भिडियो हेर्नुहोस