धादिङको रुवीभ्याली सहित देशका तीन स्थानीय तहमा अझै पुगेन बैंक

950 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

राजधानी काठमाण्डौं संगै सिमाना जोडिएको धादिङ जिल्लाकै सबै स्थानीय तहमा अझै सम्म बाणिज्य बैकको शाखा पुग्न सकेको छैन । धादिङको रुवीभ्याली सहित मुलुकभरका अब तीन मात्रै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुल्न बाँकी रहेका छन् । कूल ७५३ वटै स्थानीय  तहमा वित्तीय सेवा तथा पहुँच पुर्‍याउने सरकारको योजना अधुरै रहँदै आएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अब धादिङको रुबीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको काँडा गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ । केन्द्रीय बैंकले कूल ७५३ स्थानीय तहमध्ये ७५० स्थानीय तहमा (क) वर्गका वाणिज्य बैंकका शाखा विस्तार भएको जनाएको छ । २०७६ सालको चैत मसान्तसम्मको विवरणमा भने कूल ७४६ स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुलेका थिए । २०७७ को चैत मसान्तसम्म भने ७५० स्थानीय तहमा शाखा खुलेका छन् ।

बाँकी रहेका स्थानीय तहमा समेत आवश्यक भौतिक पूर्वाधार, सूचना सञ्चार तथा अन्य सुरक्षाको प्रबन्ध गरेर छिट्टै वाणिज्य बैंकका शाखा खुल्ने केन्द्रीय बैंकले विश्वास लिएको थियो । ग्रामीण क्षेत्रका नागरिकलाई समेत सहज रुपमा वित्तीय सेवा र पहुँच पुर्‍याउनका लागि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पनि विशेष सुविधा र सुहलियत दिँदै आएको छ ।

यस्तै गत चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको संख्या १४० रहेको छ । त्यसमध्ये २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७४ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्चालनमा छन् । देशभर बैंक तथा वित्तीय संस्थाको शाखा संख्या १० हजार ५४६ पुगेको छ । (रासस)