धादिङ अस्पताललाई वोन हर्ट वल्र्डवाईडको अक्सिजन सिलिण्डर सहयोग

995 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१२ जेठ । धादिङ जिल्लामा काम गरिरहेको गैर सरकारी संस्था वोन हर्ट वल्र्डवाईडले धादिङ अस्पताललाई १० थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । अस्पतालमा उपचारका लागि आएका विरामीले अक्सिजनको अभावमा समस्या भोग्न नपरोस भन्दै सिलिन्डर उपलब्ध गराईएको हो ।

सोमबार वोन हर्ट वल्र्डवाईड सस्थाका प्रतिनिधि सुर्य भट्ट र प्रतीक्षा राईले धादिङ अस्पताल संचालन व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमला र अस्पतालका मेसु डा.त्रिभुवन चन्द्र झालाई उक्त सिलिण्डर हस्तान्तरण गरेका हुन् । यसअघि क्रसर ब्यबसायी संघ धादिङले अस्पताललाई ४७ थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको थियो ।

सोमबार प्राप्त भएका समेत गरी संगै जिल्ला अस्पतालमा अक्सिजन सिलिण्डरको संख्या १६१ पुगेको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विश्वकर्माले जानकारी दिनुभयो ।

सूचना अधिकारी विश्वकर्माका अनुसार अहिले रहेका मध्ये ५३ वटा सिलिण्डर अस्पतालको आफ्नै हो भने १०८ वटा सिलिण्डर विभिन्न संघसंस्थाहरुले सहयोग गरेका हन् । अस्पतालमा रहेका १३ ओटा सिलिन्डर भने काम नलाग्ने अवस्थामा रहेको पनि उहाँले बताउनुभयो । सदरमुकाममा रहेको अस्पताल भएका कारण जहिले पनि विरामीको चाप रहने भएका कारण तत्कालिन अबस्थाका लागि अस्पतालले १२ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरि सञ्चालनमा ल्याएको छ ।

धादिङ अस्पतालको मातहतमा ५० शैय्याको अस्थायी कोभिड अस्पताल जिल्ला सदरमुकाममा सञ्चालित छ । कोभिड अस्पतालमा मंगलबार दिउँसो सम्म १७ जना पुरुष र १३ जना महिला ३७ जनाले उपचार गराइरहेको अस्पतालले जनाएको छ । अस्पतालको मातहतमा रहेका अक्सिजन सिलिण्डरहरु कोभिड अस्थायी अस्पताल र जिल्ला अस्पतालमा प्रयोग हुनेछ ।

कोरोनाको संक्रमण बढ्न नदिन धादिङ अस्पतालले परिक्षणको दायरा बढाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाण्डौबाट मान्यता प्राप्त गरि सोमबारबाट अस्पतालले कोभिड–१९ को एन्टीजिन परीक्षण सुरु गरेको अस्पतालका मेसु डाक्टर त्रिभुवन चन्द्र झा बताउनुहुन्छ ।

धादिङ अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुने 
वागमती प्रदेश सरकारको मातहतमा रहेका सात वटा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुने भएको छ । प्रदेशको सामाजिक बिकास मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौडाले सोमबार बोलपत्र आवहान गर्दै धादिङ अस्पताल सहित सात अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न लागेको जानकारी दिएको हो ।

मन्त्रालयले एक साताको समय दिए टेण्डर आह्वान गरिएको र तत्कालै ती अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुने वागमती प्रदेश सामाजिक विकास राज्य मन्त्री डाक्टर रामकुमार अधिकारीले जानकारी दिनुभयो । प्रदेश अन्तर्गत धादिङ अस्पताल, रामेछाप अस्पताल, काठमाण्डौंको टोखा अस्पताल, ललितपुरको जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रेको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि बोलपत्र आह्वान गरिएको मन्त्री डाक्टर अधिकारी वताउनुहुन्छ ।

कुल ८ करोड ५० लाख रुपैयाँ लागतमा करिब डेढ महिनाको अवधिमा सबै अस्पतालमा प्लान्ट जडान गर्ने लक्ष्य राखिएको मन्त्री अधिकारीले जानकारी दिनुभयो ।
अस्पतालमा जडान हुने प्लाण्टबाट एक दिनमा एक सय ५० सिलिण्डरका दरले अक्सिजन उत्पादन हुनेछ । हेटौंडा अस्पताल र भक्तपुर अस्पतालमा संघीय सरकारले अक्सिजन प्लान्ट जडानगर्ने भएको छ । यसैगरी सिन्धुली र त्रिशुली अस्पतालमा गतबर्षदेखिनै प्लाण्ट सञ्चालनमा रहेको छ भने चरिकोट अस्पतालमा संघीय सरकारले प्लाण्ट स्थापना गरिदिएको छ ।