तीन दिन भारी बर्षाको सम्भावना जोखिम क्षेत्रका बस्ती सार्न गृहको निर्देशन बिहीवार दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहने

1268 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज

धादिङ । ठूलो पानीसँगै बाढी, पहिरो तथा डुबानको जोखिम हुने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेतना अपनाउन आग्रह गरेको छ । बिहीवार दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबको ३ दिन बाढी पहिरो ,चट्याङ पर्ने र उच्च वर्षाको सम्भावना रहेको भन्दै बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।

भारतको पश्चिम बंगाल खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असर बिहीबार देखि शनिबारसम्म सबै प्रदेशमा उच्च वर्षा र बाढी पहिरोको जोखिम बढेको भन्दै प्राधिकरणले हिमाल आरोहणमा गएका पर्वतारोहीलाई समेत तत्काल फिर्ता बोलाउन आग्रह गरेको छ ।

प्राधिकरणका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती र लुम्बिनी प्रदेशको तराई भेगमा भारी वर्षा र उच्च वेगको हावाहुरी चल्ने सम्भावना छ भने गण्डकी, वाग्मती र प्रदेश १ को हिमाली एवं उच्च पहाडी भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने सम्भावना छ ।

प्राधिकरणले बुधबार प्रेस नोट जारी गर्दै विपद् व्यवस्थापनमा खट्ने सबैले बाढी पहिरोको जोखिम रहेको तटीय क्षेत्र एवं सम्भावित जोखिम क्षेत्रको बस्तीलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको हो ।