धादिङका चेपाङ गाउँमा अनिकाल 'घरमा अन्न छैन जंगलमा भेटिन छाड्यो कन्दमुल'

1562 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी

धादिङ, २१ जेठ । धादिङ जिल्लाको दक्षिणी भेगको माथिल्लो बस्तीमा बसोबास गर्ने चेपाङ समुदायलाई बर्षेनी यतिबेला दुई छाक खान धौ धौ पर्ने गर्दछ । सिमान्तकृत वर्गमा सूचिकृत अधिकांश चेपाङहरुको लागि चामलको भात त धेरै परको कुरा दुई छाक खोले फाँडो, ढिंडोे खान पनि मुस्किल हुने गर्दछ ।

जिल्लाको वेनिघाटरोराङ गाउँपालिकामा चेपाङहरुको अधिक बसोवास रहेको छ । चेपाङ बसोवास रहेको जिल्लाको जोगीमारा, धुषा, वेनिघाट र महादेवस्थान गाविसलाई समेटेर वेनिघाट रोराङ गाउँपालिका बनाइएको छ । रोराङ शव्दको अर्थ चेपाङ भाषामा फुलबारी भन्ने हुन्छ ।वेनिघाटरोराङ बाहेक गजुरी,सिद्धलेक,थांक्रे गाउँपालिका र धुनिबेसी नगरपालिकामा पनि चेपाङहरुको बसोवास रहेको छ ।

स्याउलाले छाएको घोचेबार भएको नाम मात्रको घरमा बस्दै आएका चेपाङहरुको घरमा चैत लागेदेखि कहिलेकाँही मात्रै घरमा खानेकुरा पाक्छ, धेरै छाक कन्दमूलको भर पर्नुपर्दछ । धादिङको महाभारत क्षेत्रमा पर्ने सबै चेपाङ बस्तीमा अनिकाल सुरु भएको छ । आफ्नो खोरियाको उब्जनीले मुस्किलले ६ महिना खान पुग्ने चेपाङ बस्तीमा चैत लागेपछि कन्दमूलले छाक टार्र्नुपर्ने वाध्यता रहेको नेपाल चेपाङ संघ धादिङ अध्यक्ष भीमबहादुर चेपाङ बताउँछन । अध्यक्षका अनुसार ‘टाँकीको मुन्टा, कोइरालो, सिब्लिगान लट्टेको साग, चिउरी र सिस्नोका साथै गिठ्ठा, भ्याकुर, प्यांल्याङ, तरुल, चोया, भर्लाङ, ट्याकुनालगायत कन्दमुलको भरमा चेपाङहरुले सास अड्याइरहेका छन् ।

‘चेपाङ बस्तीमा जेठ र असार महिना अन्न बाली भित्रिइसकेको हुँदैन, साग सिस्नु पनि बारीमा हुँदैन । कन्दमूल पनि सकिन्छ ।’ नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष चेपाङले भन्छन, ‘मंसिरमा भित्रिएको अन्न जेनतेन चैत वैशाखसम्म चल्छ । साउनमा मकै नपाकुन्जेल हरेक बर्ष चेपाङ गाउँमा भोकमरी नै हुन्छ’ ।

बेनीघाट रोराङ गाँउपालिका वडा नं. वडा नम्बर २, ६ र ८ का चेपाङ समुदाय अनिकालको सामना गरिरहेका छन् । अघिल्लो बर्षमा पनि समस्या नभएको होइन ,यो बर्ष निषेधाज्ञा भएपछि झन समस्या थपिएको छ । ज्यालामजदुरी गरेर खानलाई बजार झर्न पाइएको छैन । हिडडुल गर्न नपाएपछि काम गर्न पनि पाइदैन । कमाई गर्ने आधार नभएपछि साहुसंग उधारो माग्न पनि अप्ठेरो भएको चेपाङहरु बताउँछन ।

चेपाङ गाउँमा गाउँमा कसै कसैको घरमा त सिस्नुमा मिसाउने पिठो पनि छैन । त्यति मात्रै होइन पैचौं ल्याउने ठाउँ समेत छैन ।  चेपाङ परिवारहरुमा खानेचीजको अभाव सुरु भएको छ । महाभारत लेकका चेपाङबस्तीमा यतिवेला  खानेकुराको अभाव बढ्दै गएको छ । सिंगो गाउँमै अनिकाल लागेको छ । जेठ र असार महिना बाँच्न कठिन हुने चेपाङहरु बताउँछन् । उनले भने, ‘कसैका पनि घरमा अन्नपात छैन, जंगलमा गिठा भ्याकुर पनि राम्रोसँग पाइँदैन परिवारलाई के खुवाउने भन्ने चिन्ता गाउँलेहरुमा छ ।खानेकुराको अभावले जेष्ठनागरिक, सुत्केरी, गर्भवती, बालवालिका र विरामीहरु झनै समस्या परिरहेको र अधिकांशमा कुपोषणको समस्या देखिएको स्वास्थ्यकर्मीहरु बताउँछन ।

महाभारत लेकमा रहेका चेपाङ बस्तीका मानिसहरु खाने कुराको खोजी गर्न जंगल जान थालेका छन् बेनीघाट रोराङ गाँउपालिका वडा नं. ८ का वडा अध्यक्ष विरबहादुर श्रेष्ठले बताए । घरमा खानेकुराको अभाव भएपछि चेपाङबस्तीमा घरपिच्छे मानिसहरु विरामी भएका छन् । पोषणयुक्त खाना त परै जावोस दुई छाक पेटभरी खान नपाउनेको संख्या आफ्नो वडामा तीन सय ५० चेपाङ परिवार रहेको वडाअध्यक्ष श्रेष्ठले वताए । अधिकांश चेपाङ परिवारलाई चैतदेखि साउनसम्म हरेक बर्ष अनिकालको समस्या हुन्छ ।

जिल्लाको यारवाङ, भारिङटार, जिरवाङ, केततुङ,दुङवाङ, जिरवाङ, धाङमाङ, साचाक, मिजार गाँउ, बाकुराङ, पार्लाक, चोतेस, ब्रुसबाङ, मासखर्क, काउती, कात्तिके लगायतका चेपाङ बस्तीमा खानेकुराको अनिकाल फैलिएको चेपाङ संघका जिल्ला अध्यक्ष भिमबहादुरले वताए ।
चेपाङहरु पाँच जना देखि १४ जनासम्मको परिवार रहेको छ । गत वर्ष कोरोना माहामारीको संक्रमण रोक्न गरिएको वन्दावन्दीले रासायनिक मल अभाव हुदाँ यहाँका चेपाङहरुले बारीको मकैमा मल हाल्न पाएनन् । मल नहालेका कारण मकै उव्जाउ पनि कम भयो ।

नेपाल चेपाङ संघ केन्द्रिय अध्यक्ष बेनिघाट रोराङ गाउँपालिकाकै वासिन्दा हुन । उनका अनुसार लेकमा रहेको चेपाङबस्तीमा हरेक बर्ष अनिकाल हुने गर्दछ । खेतीयोग्य जमिनको अभावका कारण भिर पखेरामा गरेको खेतीले चार महिना पनि पेटभरी खान पुग्ने परिवार निकै थोरै मात्रै रहेको उनी बताउँछन् ।   चेपाङहरु हरेक बर्ष बैशाख अन्तिम सातादेखि नै जंगली कन्दमुलको भरमा छाक छार्न बाध्य छन् । वर्षौ देखि चेपाङहरु भोक र रोगसंग मात्र लडिरहनु परेको छ ।  ३७ वर्षसम्म प्रजा विकास कार्यक्रम चल्यो तर ९९ प्रतिशत चेपाङहरुको अवस्था उस्तै रहेको अध्यक्ष चेपाङले बताए ।