हुवासिनद्वारा अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री सहयोग

915 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ न्यूज
धादिङ, २१ जेठ । धादिङको बेनीघाटरोराङ गाउँपालिकामा रहेको हुवासिन सिमेन्ट उद्योगले वाग्मती प्रदेश सरकारलाई विभिन्न स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएको छ ।

चिनियाँ कम्पनी हुवासिनले वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई आठ थान अक्सिजन कन्सन्ट्रेटर र ५०० थान एन्टिजेन किट उपलब्ध गराएको हो ।

कम्पनिका प्रतिनिधिले विहीवार सामाजिक विकास मन्त्री सरस्वती बस्नेतलाई स्वास्थ्य सामाग्रि हस्तान्तरण गरेका हुन । यसअघि कम्पनीले धादिङअस्पताल तथा सिद्धलेक, गजुरी र बेनीघाट रोराङ गाँउपालिकालाई पनि तीन दर्जन अक्सिजन सिलिण्डर उपलब्ध गराएको थियो ।

हुवासिन कम्पनिले गत वर्षको कोरोना महामारीको बेला धादिङ जिल्ला प्रशासन कार्यालय तथा विभिन्न गाउपालिकामा रु ५० लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको जनाएको छ । उद्योगले ताल्ती स्वास्थ चौकिको क्वारेन्टाइन निर्माणमा २ लाख र बेनिघाटरोराङ गाउँपालिकालाई छ लाख नगद पनि सहयोग गरेको थियो ।

तीन वर्ष अघिदेखि निर्माण कार्य शुरू गरेपनि बाढी र कोरोना महामारीको कारण उद्योगले ठुलो आर्थिक मार खेप्दै आएको जनाएको छ । उद्योगको निर्माण कार्य अन्तिम चरणमा रहेपनि लकडाउन तथा महामारीको प्रकोपका कारण निर्माण कार्य प्रभावित बन्दै गएको छ ।

उद्योगले एक विज्ञप्ति मार्फत कोभिड महामारीको प्रकोप चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गर्दै उपचारत कोरोना संक्रमितको स्वास्थ्यलाभ तथा दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली समेत व्यक्त गरेको छ ।

उद्योगका उप महाप्रबन्धक डिल्लीराज पोख्रेलले मानवजातिमाथिको यस चुनौतिको सामना आपसी सहयोग तथा स्वास्थ मापदण्डको पुर्ण पालनालेमात्रै सम्भव हुन सक्ने भन्दै सरकारलाई थप स्वास्थ्य सामग्री उपलब्ध गराउन प्रयासरत रहेको जनाएका छन ।

दैनिक तीन हजार मेट्रिक टन सिमेण्ट उत्पादन गर्ने अनुमति पाएको हुवासिनले नेपालको सिमेन्ट उद्योगमा १५ अर्ब रुपैयाँ लगानी गरेर अहिले उद्योग तथा पूर्वाधार निर्माण गरिरहेको छ । गत बर्षको कोरोना महामारी अघि घर फर्किएका चिनियाँ कामदार लकडाउनका कारण नेपाल फर्कन नपाउँदा लामो समय निर्माण कार्य प्रभावित हुन पुगेको थियो ।