दरियाँल खोला किनारमा युवकको शव भेटियो कुटपिट पछि हत्या गरेर लास लुकाएको आशंका

1522 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २३ जेठ । धादिङको गजुरी गाउँपालिकाको वडा नम्बर ६ चालिसे स्थित दरियाल खोला किनारमा गाडिएको अबस्थामा एक युवकको शव भेटिएको छ ।

खोला छेउमा हिलोले पुरिएको अबस्थामा भेटिएको शव गजुरी गाउँपालिका–७ स्याम्मैडाँडाका २४ बर्षिय अर्जुन श्रेष्ठको भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

श्रेष्ठ जेष्ठ २० गते साँझ ८ बजे घरबाट बाहिर निस्किएपछि हराई रहेका थिए । श्रेष्ठको खोजी कार्य भईरहेको बेला आईतबार दिउँसो खोलामा शव भेटेपछि गाउँलेहरुले प्रहरीलाई खबर गरेका थिए ।

खोलाको किनारमा पुरिएको अवस्थामा शव भेटिएकाले घटना रहस्यमय भएको भन्दै प्रहरीले केही व्यक्ति माथि निगरानी बढाई अनुसन्धानका लागि २ महिला एक पुरुषलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काले जानकारी दिनुभयो ।

कुटपिट पछि हत्या गरेर पुरेको अबस्थामा युवकको शव फेला परेको घटनास्थल पुगेका सञ्चारकर्मीहरुले वताएका छन् । मृतक श्रेष्ठ ट्रिफर चालकको रुपमा कार्यरत थिए ।