शिक्षकहरुको लागि खोपको व्यबस्था गर्न शिक्षक संगठनको माग

1138 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २४ जेठ । कोरोना विद्धरुको खोप कार्यक्रमको प्राथामिकता सूचीमा शिक्षक वर्गलाई समावेश गर्न अनुरोध गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङले सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाल सरकारले कोरोना रोग विरुद्धको खोप कार्यक्रम सञ्चालनको क्रममा प्राथमिकता सूचि निर्धारण गरेर लगाउने क्रममा सयौ विद्यार्थीहरुसंग प्रत्यक्ष जोडिएर शिक्षण सिकाईको शिक्षकहरु अग्रपक्तिमा खटिनुपर्ने भएपनि खोप कार्यक्रमबाट बञ्चित गरिएको भन्दै संगठनले सोमबार धादिङका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापन पत्र बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको हो ।

संगठनको तर्फबाट अध्यक्ष ठानप्रसाद बसौला र सचिव रामबहादुर खतिवडाले हस्ताक्षर गरेर बुझाएको ध्यानाकर्षण पत्रमा समुदायको अग्रभागमा रहेर शिक्षण सिकाई अघि बढाउदै आएको शिक्षकहरुलाई नेपाल सरकारले प्रथामिकताको सूचिमा नराखेको कारण प्रमुख जिल्ला अधिकारी मार्फत सरकारको ध्यानाकर्षण गराइएको संगठनका अध्यक्ष बसौलाले वताउनुभयो ।

शिक्षकहरुलाई खोप लगाउने कार्य तत्कालै सञ्चालन नगरेमा सरकारको निर्णय अनुसार असार १ गतेदेखि सुरु हुने नयाँ शैक्षिक सत्रमा रोगको जोखिम झन उच्च हुने भएकाले त्यसतर्फ गम्भीर हुन पनि संगठनले आग्रह गरेको छ ।

नेपालमा गएको माघ १४ गतेबाट सुरु भएको खोप कार्यक्रममा स्वास्थ्यकर्र्मी, सरसफाईकर्मी, सुरक्षाकर्र्मी, सञ्चारकर्र्मी, बैंक तथा वित्तीय सस्थाका कर्मचारी, सरकारी कर्मचारी, जनप्रतिनिधिका साथै ६० वर्ष उमेर माथीका ज्येष्ठ नागरिकलाई प्राथामिकता प्राप्त सूचिमा समावेश गरेपनि शिक्षकलाई भने समावेश नगरिएको भन्दै संगठनले दुख व्यक्त गरेको छ ।

कोरोना रोगको सक्रमणको जोखिमको उच्च क्षेत्र र एकैपटक बालबालिकामा समेत भयाबह अबस्था सिर्जना हुनसक्ने भएकाले सरकारले शिक्षकहरुलाई पा्रथामिकतामा राख्ने तर्फ निर्णय गरोस भन्नका लागि ज्ञापन पत्र मार्फत सरकारको ध्यानाकर्षण गराईएको अध्यक्ष बसौलाले वताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई बुझाईएको ज्ञापन पत्रको वोधार्थ नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, नेपाल शिक्षक महासंघ र संगठनको केन्द्रिय समितिलाई समेत दिईएको छ ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा सामाजिक दुरी कायम गर्दै शिक्षक संगठनका प्रतिनिधिहरुको सहभागिता रहेको संगठनका सागर लामिछानेले जानकारी दिनु भयो ।