राजमार्गका पुराना पेट्रोलपम्प सुधार्नुपर्ने सुझाव

904 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङन्यूज

काठमाडौं, असार ४ । धादिङ, चितवन,मकवानपुर,बारा र पर्सा जिल्लाको राजमार्गमा रहेका अधिकांश पेट्रोलपम्पहरुमा सुधार गर्नुपर्ने उच्चस्तरीय अनुगमन टोलीले सुझाव दिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगम समेतको सहभागितामा उच्चस्तरीय संयुक्त अनुगमन टोलीबाट गत जेठको अन्तिम साता धादिङ,चितवन,मकवानपुर र पर्सा जिल्लाको पेट्रोलपम्पहरुको अनुगमन गरिएको थियो।

सरकारी अनुगमन टोलीले पृथ्वी राजमार्ग, चितवन, पर्सालगायतका स्थानका पम्पको अनुगमनमा अधिकांश पुराना पम्पहरुले तोकिएको मापदण्ड पालना गर्न नसकेको अनुगमन प्रतिवेदनमा जनाएको छ ।

पेट्रोलियम पदार्थ बिक्री गर्ने पम्पहरुले नाप, तौल, मूल्यलगायत तोकिएको मापदण्ड पालना नगरेको उजुरीपछि अनुगमन गरिएको उच्चस्तरीय अनुगमन टोलीले जनाएको छ ।

टोलीले पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लाको धुनिबेसीदेखि थांक्रे, गल्छी, गजुरी, वेनिघाटरोराङ हुंदै चितवनको मुग्लिङ्ग बजारसम्म तथा चितवन, मकवानपुर, बारा र पर्सा वीरगञ्जका पेट्रोल पम्पहरुको अनुगमन गरेको जनाएको छ ।

अनुगमनमा पछिल्लो समय निर्माण भएको पेट्रोल पम्पले मापदण्डअनुसार पेट्रोलियम पदार्थ वितरण गरेको तर पुरानाका हकमा समस्या देखिएको अनुगमन प्रतिवेदनमा उल्लेख छ । पुराना पेट्रोल पम्पहरू मौजुदा मापदण्डभित्र समेटिन नसकेको हुनाले त्यस्ता पम्पहरूलाई मापदण्डबमोजिम सञ्चालन व्यवस्थापन गर्नुपर्ने प्रतिवेदनमा लेखिएको छ ।