नुन कम खानुस्, क्यान्सरबाट बँच्नुस्

739 पटक पढिएको

सम्पादक: Dhadingnews.com

खानामा नुन कम राखेर खाने मानिसलाई उच्च रक्तचाप तथा मुटु सम्बन्धि रोगको खतरा केही कम हुने कुरा त धेरै जनालाई थाहा होला । तर नुन कम भएको खाना खाने मानिसमा क्यान्सर जस्तो असाध्य रोग लाग्ने सम्भावना समेत कम हुन्छ भन्ने कुरा भने थाहा नहुन सक्छ । थाहा होस् पनि कसरी हालैमात्र एक अनुसन्धानले यस्तो कुरा पत्ता लगाएको हो ।

विश्व क्यान्सर अनुसन्धान कोषले गरेको अनुसन्धानले भोजनमा नुन लगायतका लवणको मात्रा कम गर्ने मानिसमा पेटको क्यान्सर हुने सम्भावना कम हुन्छ । जो मानिसले बढि नुन हुने ब्रेड जस्ता तयारी खाद्य पदार्थ कम खान्छ र तरकारीमा समेत नुनको मात्रा नियन्त्रण गर्छ उसमा पेटको क्यान्सर हुने सम्भावना घटेर जाने शोधको निष्कर्ष छ ।
कति नुन खानु उपयुक्त ?
भोजनमा धेरै नुन हुनु रक्तचापका लागि समेत हानिकारक हुन्छ र यसले अन्य मुटुरोग तथा हृदयाघात जस्ता समस्याको समेत खतरा बढाउँछ । यतिमात्र होइन बढि नुनले क्यान्सर समेत गराउँछ । त्यसैले हामीले भोजनमा नुनको मात्रा नियन्त्रणमा अति सावधानी अपनाउनुपर्ने भएको छ । भोजनमा प्रत्येक दिन ६ ग्राम सम्म मात्र नुन खानु स्वास्थ्यको लागि लाभदायक मानिन्छ । यो भनेको लगभग एक चियाचम्चा जत्ति हो । तरकारी,अचार तथा अरु खानामा गरी हामीले अवश्य पनि यो भन्दा बढि नुन खाइरहेका हुन्छौँ । यसले अवश्य पनि हामीलाई पेटको क्यान्सरतर्फ अग्रसर गराइरहेको कुरा थाहा पाउनैपर्ने हुन्छ । हामीले मात्र कहाँ हो र विश्वमा हरेक व्यक्तिले प्रत्येक दिन औषतमा ८.६ ग्राम नुन खाने गरेको क्यान्सर अनुसन्धान कोषको तथ्यांकले देखाउँछ । यदि नुनको यो मात्रालाई ६ ग्राममा झार्न सकेमा पेटको क्यान्सरमा १४ प्रतिशतले कमी हुने कोषको भनाइ छ । खानलाई स्वादिलो बनाउन मात्र होइन नुन लगायतका लवण सरीरका लागि अत्यावश्यक पनि हुन्छन् । तर यस्ता लवणको मात्रा आवश्यकता भन्दा बढि भयो भने त्यो हानिकारक हुन्छ । त्यसैले आफैले तयार पार्ने तरकारी तथा अचार लगायतका खाद्यपदार्थमा नुन कम राख्ने गर्नु उपयुक्त हुन्छ । साथै नुनको मात्रा बढि हुने विभिन्न फास्टफुड पनि कम मात्र खानु हितकर हुन्छ ।(समाबेशी अनलाइनबाट )