साउनमा दुई सय महिलामाथि हिंसा

785 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, भदौ १० – साउनमा झण्डै दुई सयजना महिलामाथि हिंसा भएको छ । महिला अधिकारको क्षेत्रमा कार्यरत संस्था ओरेक नेपालका अनुसार साउन महिनामा महिला हिंसाका एकसय ९८ वटा घटना भएका छन् ।

यसमध्ये ७५ वटा घरेलु हिंसा भएका छन् । जसमा श्रीमान् र परिवारका अन्य सदस्यहरूको कुटपट, मानसिक यातना, घर निकाला, गाली गलौज, शारीरिक यातना पर्छन् ।

यस्तै ४१ वटा सामाजिक हिंसा भएका छन् । जस अन्तर्गत बोक्सीको आरोपमा कुटपीट, बाल विवाह र गाली गलौज आदि छन् ।

साउनमा ४१ जना महिलामाथि बलात्कार भएको छ । १४ जनालाई बलात्कारको प्रयास भएको ओरेक नेपालले जनाएको छ । साउनमा ९ जना महिलाको हत्या भएको छ ।

सरकारले गएको श्रावण १६ गते कुनै पनि गम्भीर प्रकृतिका अपराध वा हिंसाका घटनाको निरन्तर सुनुवाई गरी तत्काल फैसला गर्न परमादेश जारी गरिसकिएको अवस्थामा पनि महिलाहरु हरेक दिनजसो नै कुनै न कुनै प्रकारका हिंसाबाट पिडित भईरहेको भन्दै ओरेक नेपालले चिन्ता व्यक्त गरेको छ ।

ujyaaloonline.com