गुणस्तरको निर्देशन अवज्ञा गर्दै केपी सिमेन्ट बिक्री

813 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं /उच्च स्तरीय ढलानको लागि प्रयोगमा उपयुक्त भन्दै झुठा प्रचार गरी अवैध रुपमा उत्पादन तथा बिक्री वितरण गर्दै आएको धादिङस्थित केपी सिमेन्ट उद्योगद्वारा उत्पादित केपी ओपिसी सिमेन्ट अवैध भएको भन्दै नापतौल तथा गुणस्तर विभागले उत्पादन तथा  बिक्री वितरण बन्द गर्न दिएको निर्देशनलाई अवज्ञा गरिरहेको छ । गुणस्तरसम्बन्धी सरकारी नियमनकारी निकाय नापतौल तथा गुणस्तर विभागको निर्देशनपछि पनि धादिङ, नौबिसे–२ स्थित कारखानाबाट केपी ब्राण्डको ओपिसी सिमेन्ट बिक्री वितरण भइरहेको छ । नेपाल सरकारको प्रचलित नियम र कानुन अनुसार सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दा नापतौल तथा गुणस्तर विभागबाट लिनुपर्ने नेपाल गुणस्तर चिन्ह नलिई न्यून गुणस्तरको सिमेन्ट बिक्री गर्दै उपभोक्ता ठगी गर्दै आएको केपी सिमेन्टलाई गुणस्तर तथा नापतौल विभागले गत भदौ ४ गते उत्पादन तथा बिक्री वितरण बन्द गर्न निर्देशन दिएको थियो । विभागको निर्देशन विपरीत उत्पादन तथा बिक्री वितरण जारी राखिए पनि स्थानीय प्रशासनले कुनै चासो नदिएको बुझिएको छ । कारखाना स्रोतका अनुसार एक साताअघि विभागले निर्देशन दिए पनि दिनहुँ कारखानाबाट सिमेन्ट लोड भइरहेका छन् । सोमबारसम्म पनि केपी सिमेन्टको लोड जारी थियो । स्रोतका अनुसार सोमबार मात्रै चार हजार बोराभन्दा बढी सिमेन्ट बिक्री भिएको थियो । अन्यत्रबाट सिमेन्ट ढुवानी गर्न समस्या भएको मौकामा गुणस्तरहीन केपी सिमेन्टको बिक्री झनै बढेको बताइन्छ ।
न्यून गुणस्तरको सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको केपी सिमेन्टको ओपिसी र पिपिसी दुई थरि सिमेन्ट उत्पादन गर्ने एउटा भट्टी भएका कारण पनि समस्या हुने गरेको एक प्राविधिकले जानकारी दिए । गुणस्तर परीक्षणमा आइआरलाई मेन्टेन गरेर स्ट्रन्थ अत्यधिक न्यून रहेको केपी सिमेन्टले बनाइएका भौतिक संरचनाको आयु ४० वर्ष पनि नहुने विज्ञहरुको दाबी छ । सामान्यतया, सिमेन्टको आयु एक सय वर्ष हुनुपर्नेमा केपी सिमेन्टको आयु मुश्किलले ४० वर्ष मात्र टिक्ने कारखानामै कार्यरत एक कर्मचारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा स्वीकार गरेका छन् । ओपिसी सिमेन्टको गुणस्तर स्टाण्डर्डमा ७ दिने बलियोपना परीक्षणमा २२ एमपिए हुनुपर्नेमा जम्मा १० एमपिए र ३ दिने परीक्षणमा १६ हुनुपर्नेमा ७ एमपिए आउँदा समेत सो उद्योगका प्रबन्धनिर्देशक केपी उप्रेतीले बिक्रीका लागि लोड गर्न आदेश दिने गरेको कारखाना स्रोतको दाबी छ ।  यसैबीच, जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी अशोक सिंहले नापतौल तथा गुणस्तर विभागले केपी सिमेन्टलाई कारबाही गरेको भन्ने समाचार मिडियाबाट मात्रै आएको र जिल्ला प्रशासन कार्यालय तथा अन्य कुनै पनि सरकारी निकायबाट औपचारिक रुपमा पत्र प्राप्त नभएकाले बिक्री वितरण जारी रहे पनि आफूले केही गर्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘सरकारी निकायबाट औपचारिक रुपमा के गर्ने भन्ने व्यहोराको पत्र प्राप्त नभएकोले रोक्ने कुरा भएन । औपचारिक निकायबाट पत्र प्राप्त हुनासाथ तत्काल रोक्न तयार छौं ।’

(आर्थिक दैनिक बाट )