२० वर्षको अवधिमा मुलुकमा ८ करोड २० लाख कन्डम खपत

644 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 काठमाडौं/सन् १९९३ देखि २०१३ सम्म २० वर्षको अवधिमा मुलुकमा ८ करोड २० लाख कन्डम खपत भएको छ । नेपाल सरकारलाई यौन तथा एचआईभी÷एड्स रोकथामका लागि सहयोग गर्दै आएको अमेरिकी विकास नियोग (यूएसआईडी) को सहयोगमा सो परिमाणको कन्डम खपत भएको हो ।

खपत भएका कन्डमबाट १२ लाखभन्दा बढी यौन तथा एड्स रोगको जोखिममा रहेका सर्वसाधरणलाई फाइदा पुगेको छ भने जनसंख्या नियन्त्रणमा कमी ल्याउन मद्दत पुगेको सरोकारवालाहरूले बताएका छन् । यसरी बाँडिएका कन्डमको माध्यमबाट यौनरोग तथा एचआईभी÷एड्सको रोकथाममा उल्लेख्य सहयोग पुगेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. नरेशप्रताप केसी बताउँछन् । बाँडिएका कन्डमबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी जोखिममा रहेका करिब १२ लाख जनतालाई फाइदा पुगेको केसीले बताए ।

यसले सरकारको सन् २०११ देखि २०१६ सम्मको राष्ट्रिय एड्स रोग नियन्त्रण रणनीतिमा ठूलो सहयोग पु¥याएको उनको भनाइ छ । ‘२५ प्रतिशतले एड्स रोग नियन्त्रणमा ल्याउने र ९० प्रतिशत बालबालिकालाई यस रोगबाट मुक्त बनाउने रणनीतिलाई ठूलो सहयोग गरेको छ,’ उनले भने । यूएसएआईडीले २० वर्षको अवधिमा ११ लाख ८० हजारभन्दा बढी व्यक्तिलाई गुणस्तरीय एचआईभी रोकथाम सेवा प्रदान गरेको जनाएको छ ।

त्यसैगरी, ९२ हजार यौनजन्य संक्रमित व्यक्तिमा रोगको पहिचान गरी उपचार गरिएको सो संस्थाले सञ्चालन गर्दै आएको ‘साथ साथ’ कार्यक्रम प्रमुख शतिसराज पाण्डे बताउँछन् । उनले हाल देशभर १९ हजार एचआईभी संक्रमितलाई उपचार, हेरचाह र सहयोग गरिरहेको बताए । नेपालमा अझै पनि एचआईभी÷एड्स संक्रमित व्यक्तिहरूलाई हेयको दृष्टिले हेर्ने गरिएका कारण उनीहरू कष्टपूर्ण जीवन बिताउन बाध्य भएको एचआईभी÷एड्स राष्ट्रिय सञ्जालका संयोजक रामहरि न्यौपाने बताउँछन् । ‘पहिलाको तुलनामा एचआईभी पीडितहरूलाई समाजले गर्ने व्यवहारमा केही कम आए पनि सचेतनाको अभावमा पीडा भने व्यहोर्दै आउनुपरेको छ,’ उनले भने । पछिल्लो समय एचआईभी पीडितहरूलाई जीवनोपयोगी सीप तथा तालिम दिने क्रम बढेका कारण समाजमा घुलमिल हुन संक्रमितहरूलाई सजिलो भएको उनको भनाइ छ ।

हालसम्म देशमा यौनरोग तथा एचआईभी संक्रमित ८० हजारलाई सीपमूलक तालिम दिइएको उनी बताउँछन् । नेपालमा विदेशमा गएर काम गरी आएका र राजमार्ग तथा राजधानीमा देहव्यापारमा संलग्न महिलाहरू यौनरोग तथा एचआईभी÷एड्सको बढी संक्रमणमा रहेको न्यौपाने बताउँछन् । सुरुका दिनमा संक्रमणको जोखिममा रहेका क्षेत्रमा काम गर्दा शारीरिक तथा मानसिक यातना खेप्नुपरे पनि बिस्तारै सहज बन्दै गएको उनको अनुभव छ ।

‘राजमार्गका देहव्यापार हुने क्षेत्रमा कन्डमको प्रचार गर्न जाँदा कन्डमे आयो भनेर आक्रमण पनि गर्न खोजे तर अहिले एचआईभी÷एड्ससम्बन्धी कार्यक्रम त्यही क्षेत्रमा प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ,’ उनले भने । नेपालमा सन् १९९३ देखि एचआईभी÷एड्स नियन्त्रणका लागि प्रत्यक्ष सहयोग गर्दै आएकोे यूएसएआईडीले यस अवधिमा नेपाल सरकारलाई ८ करोड अमेरिकी डलरबराबरको सहयोग गरेको जनाएको छ । सन् २०१२ को तथ्यांकअनुसार विश्वमा ३४ करोड मानिस एचआईभीबाट संक्रमित रहेका छन् । जसमा १६ करोड ७ लाख महिला र १३ करोड ७ लाख पुरुष रहेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार तीमध्ये ३ करोड ३ लाख बालबालिका एचआईभीबाट संक्रमित छन् ।

हाल ४२ जिल्लामा २ सय ३६ सेवा केन्द्रमार्फत एचआईभी÷एड्स संक्रमितहरूलाई सेवा प्रदान गर्दै आएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ । सो केन्द्रबाट ७ हजार ७ सय संक्रमितले सेवा लिइरहेका छन् ।