दोस्रो ठूलो पर्व ‘तिहार’ आजबाट सुरु

647 पटक पढिएको

सम्पादक: Dhadingnews.com

पहिलो दिन काग तिहार मनाईदै

Kag-Tihar-pujaकाठमाडौं, १५ कात्तिक । नेपालीहरुको दोस्रो महान चाड तिहार आज (शुक्रबार)देखि सुरु भएको छ । तिहारको पहिलो दिन देशभर परम्पराअनुसार कागको पूजा गरेर मनाईएको छ ।

काग संदेशबाहक चलाख चरा भएकाले यसको पूजा गर्ने चलन छ । यो मानवको हीतकारी पंक्षी हो । कागको पूजा नगरी खाएमा अधर्मी बनिन्छ भन्ने विश्वास छ । साँझ यमदीप दान पनि गरिन्छ । तिहार हिन्दूहरुको दोस्रो ठूलो चाड पनि हो ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म गरी पाँच दिनसम्म तिहार मनाउने भएकाले तिहारलाई यमपञ्चक पनि भनिन्छ ।

बहिनी यमुनालाई धर्मात्मा यमराजले वस्त्र, आभूषण दिएर भातृ स्नेहलाई प्रगाढ बनाएको र यमुनाले दाजुलाई पुजेका कारण यस पर्वलाई यमपञ्चक भनिएको पुराणमा उल्लेख छ ।

तिहारलाई दाजुबहिनी वा दिदीभाइको प्रगाढ सम्बन्धको प्रतीकका रुपमा लिइने गरिन्छ । भाइटीकाको दिन दाजुभाइले दिदीबहिनीलाई विभिन्न उपहार र दक्षिणा दिने गर्छन् । दिदीबहिनीले विभिन्न परिकार दिएर पूजा गरी माला पहिराउछन् ।

यसबाट आपसी स्नेह बढी दाजुभाइको यश तथा आयु बढ्ने र सुखी तथा सम्पन्न हुने विश्वास गरिन्छ ।

यस वर्ष भाइटीकाको साइत कात्तिक–१९ गते बिहान ११ बजेर २७ मिनेटको समय उत्तम रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ । यद्यपि सो दिन दिनैभरि टीका लगाउन उपयुक्त हुनेछ ।

तिहारको दोस्रो दिन कुकुर, तेस्रो दिन बिहान गाई र साँझ लक्ष्मीको पूजा तथा दीपावली, चौथो दिन गोवर्धन र गोरुपूजा गर्ने प्रचलन छ । अन्तिम दिन भाइटीका गरी जम्मा पाँच दिन तिहार मनाइन्छ ।