चुनाव र धोका खाएका जनता

617 पटक पढिएको

सम्पादक: Dhadingnews.com

kalpana-kharel-mainaliकल्पना खरेल। अहिलेको संबिधानसभा चुनाबको परिबेसमा जनताहरु अलमल्ल परेका छन्,प्रजातन्त्र आए देखि पटक पटक धोका खाएका जनताहरुमा कुन दल र कुन पाटिलाइ भोट दिने भन्ने कुरा अन्योलको रनाभुलमा परेका छन् । देशको ठुलै ढुकुटी रित्याएर गरिने दोस्रो संबिधान सभाको चुनाबले के देश लाइ निकाश देलात त ? पहिले पटक पनि २ बर्षको समयलाई तोकियको संबिधान सभा ४ वर्ष लगाएर पनि संबिधान बन्न नसकेको तितो यथार्थ जनता सामु छँदैछ !

विकशित प्रजातान्त्रिक मुलुकहरुमा जनताहरु अतिनै पावर फुल हुन्छन् । जनताको ईच्छा, चाहाना, आवश्यकता अनुरुप राज्यले जनताको आवश्यकता पूर्ति गर्नै पर्ने हुन्छ तर हाम्रो देशमा  त्यस्तो नभएर जो सत्तामा पुग्यो उसैको मात्र हाली मुहाली चल्छ । देश नै सत्तामा रहनेको मुठ्ठी भित्र रहन्छ। जे जति पावर जति पाटिवाद, नातावाद, फरियावादको दायरा भित्र रोमलिन्छ । जति पनि अबसरहरु सत्तामा रहनेको पाटीको झन्डा बोक्ने र आफन्तहरुले मात्र प्रयोग गर्न पाउछन् ।

सत्तामा रहनेहरुको आफन्त तथा पाटि भित्रको जो कोहिले जस्तो सुकै अपराध गरे पनि छुट हुन्छ । अरु गरिब, निमुखा सोझा, जनताहरु आफ्नु योग्यता, क्षमता अनुसार कुनै पनि काम गर्ने अवसर देखि बन्चित हुनु परेको छ । कुनै पनि पाटीको झन्डा नबोक्ने सिधासाधाहरु देशमा कुनै विकल्प नरहेर देश बाटै बाहिर पलायन हुनु परेको तितो यथार्थ छ । कैयौँ युवाहरु खाडी मुलुकको मरुभूमिमा चर्को घाम संगै रगत पसिना बगाउन विवश भएका छन् । देशमा विकास र निकासनै अलपत्र परेको अवस्था रहेको छ । अहिले सम्म कुनै पनि दल सत्तामा पुगेर जनता प्रति उत्तरदायि देखिएका छैनन् । के यस्तो अवस्थामा कसरि जनताहरुले कुन कुन दल, कुन वादी माथि भरोसा गर्ने ?

जनताका प्रश्न
यहि चुनावको बेला हो नेताहरुलाई भेट गर्न सकिने, यहि बेला हो जनतामा भ्रमको खेति लगाइने, नेताहरुले जनतालाई शिखरनै चुम्ने गरि आस्वासन बाँड्ने अर्थात् दिईने ।जनतालाइ भर्यांग बनाई सिंहदरबार र संविधान सभा सम्म पुग्ने नेताहरुलाई चुनाव जिते पछी सिंहदरबारको महल कुर्सीको मोह ,गाडी मोटर, पि.ए., सुरक्षा गार्ड, पद र पावर दुरुपयोग गर्दै कमाएको धन सम्पति सम्हाल्न व्यस्त हुन्छन्। जनता माझ भेट्ने र जनताको गुनासो सुन्ने विकासको काम गर्ने फुर्सद कहाँ हुन्छ र ? विभिन्न किसिमको एजेन्डा बोकेर हिड्ने राजनेताहरुमा जनताको पहिलो प्रथामिकतामा रहेको संविधान, गास, बास, कपास, शिक्षा स्वास्थ्य प्रति अहिले सम्म ध्यान कहाँ जान सकेको छ र ?

यहि बेला हो जनताहरुले नेताहरु संग प्रश्न गर्ने । के अबको संविधान सभाको चुनाव पश्चात सम्पूर्ण जनताको अधिकार सुनिश्चित हुने गरि संविधान कोरिन्छ त ? नेपालका बिभिन्न राजनीति परिवर्तनमा भारतको दिल्लीमा सम्झौता गरिएन्थियो, अब कोर्ने संविधान कहाँ र को सँग सम्झौता गरिन्छ ? के राजनेताहरुको अस्तित्व नै गुम्ने गरि विदेशीको बैशाखी टेक्नै पर्ने हो त ? गरिबीको रेखा मुनि रहेका जनताहरुले लोड्सेडिंग, महंगी, भ्रष्टाचार, बेरोजगारी, फितलो कानुनी व्यबस्थाको सामना कहिले सम्म गर्नु पर्ने हो ? यो देशमा राजनीतिको नाममा नारा, जुलुस, बन्द, हडताल, गुण्डागर्दी कहिले सम्म चल्ने हो ? सुशासन भन्ने शब्द व्यवहारमा भने शुन्य, के भाषणमा मात्र पर्योग हुने हो त ?

दर्दनाक यथार्थ देश र जनताले के पाए ?
हजारौको बलिदान दिएर ल्याएको गणतन्त्रको उपलब्धि के भयो ? जवानी उमेरमा पुछिएका सिन्दुर, निराश रित्तो जिन्दगि, के पायौँ के गुमायौँ भनेर युद्दकालमा आफ्ना पति गुमाएकाहरुले तिनै नेताहरुसँग प्रश्न गर्ने हो कि ? ति जवान छोरा, जवान छोरी गुमाएका, डाँडा माथिको घाम पुत्रशोकमा शोकाकुल भएका, मृत्युलाई पर्खेर बसेका तिनै बुढा बुढी बाबु आमाहरुले आफ्ना छोरा-छोरीको रगतको अमुल्य किमतको उपलब्धि खै भनि तिनै नेताहरु संग प्रश्न गर्ने हो कि ? युद्दमा बाबु आमा गुमाएका ति निर्दोष अवोध टुहुरा बाल बच्चाहरु सडकमा खाली पेट र नांगो शरीर लिएर भौतारिँदै छन् । तिनै नानी बाबुहरुले नेताहरुसँग गणतन्त्रको उपलब्धि यहि हो भनि प्रश्न गर्ने हो कि ? युद्दमा घाइते अपाङ्ग भएका जिउँदा शहिदहरु दर्दनाक पिडासँगै पल-पल तड्पिएर मृत्युलाइ पर्खिरहेका छन् । तिनै जिउँदा शहिदहरुले नेताहरुसँग पिडा कम हुने मलमको खोजि गर्दै के उपलब्धि भयो भनि नेताहरु संग प्रश्न गर्ने हो कि ? कैयौँ युद्दमा बेपत्ता भएका परिवारले आफ्नो सन्तानको बाटो पल पल तड्पिएर हेरिरहेका छन्, तिनै नेताहरुसँग कि लास कि सास खै भनि प्रश्न गर्ने हो कि ? दर्दनाक यथार्थसँग आज देशले के पायो ? जनताले के पाए र ? के गुमाए भन्ने स्पष्ट अगाडी देखिएको अवस्थामा अहिलेको चुनावमा जनाताले अतिनै संवेदनशिल भएर विवेक प्रयोग गर्नु पर्ने देखिन्छ !

एनपि न्यूज डटनेटबाट