आज पन्ध्र पुस, तमु ल्होसार मनाइँदै

692 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ, पुस १५ – आज १५ पुस, मिठामिठा पकवान तथा घिउतेलमा पकाएका खानेकुरा खाएर रमाइलो गरी आआफ्नो परम्परा अनुसार मनाईंदैछ ।

आज एक दिन भएपनि घर बाहिर पकाएर खानुपर्ने मान्यता अनुसार परिवारका सबै सदस्य वनभोज जाने र मिठा खानेकुरा खाने चलन पनि छ । पुस १५ मा तेल अथवा घिउमा झ्वाईंय पारेर पकाइएका खानेकुरा अथवा घिउ हालेको भात खाने गरिन्छ ।

गुरुङ समुदायले आज आफ्नो नयाँ वर्षको रुपमा धुमधामसँग तमु ल्होसार मनाउँदैछन् । आफन्तसंग भेटघाट गर्नुका साथै नयाँ लुगा लगाएर, सेलरोटी, खिर लगायत मिठा परिकार खाएर नाचगान गरी ल्होसार मनाउने गरिन्छ ।

तमु ल्होसारको अवसरमा देशका बिभिन्न ठाउँमा जस्तै काठमाडौको टुंडिखेलमा पनि विशेष कार्यक्रम हुँदैछ । गुरुङहरुको १२ वटा वर्गचक्रमध्ये गएराती १२ बजेदेखि त ल्हो अर्थात घोडा बर्ग सुरु भएको छ भने सफ्रिल्हो अर्थात सर्प बर्गको विदाई गरिएको छ ।

गुरुङ समुदायले पुस १५ गते तोला ल्होसारका रुपमा, तामाङ लगायतका समुदायले माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होसारका रुपमा तथा शेर्पा र भोटे लगायतका समुदायले फागुन शुक्ल प्रतिपदाका दिनदेखि ग्याल्पो ल्होसार मनाउने गर्छन् । राष्ट्रपति डा. रामवरण यादव, मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, बिभिन्न राजनीतिक दलका नेता लगायतले तमु ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रपति यादवले शुभकामना सन्देश दिँदै यस पर्वले सबै नेपालीबीच बन्धुत्व र एकताको भावना बढाउने कार्यमा सहयोग पुग्ने आशा व्यक्त गर्नुभएको छ । उहाँले नयाँ संविधानसभाले छिटै नेपाली नागरिकको भावनालाई आत्मसात गर्दै नयाँ संविधान बनाउन सकोस् भन्ने कामना पनि गर्नुभएको छ ।

तमु ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मन्त्रिपरिषदका अध्यक्ष रेग्मीले पनि छिटो संविधान बनाएर आर्थिक तथा सामाजिक विकासमा अग्रसर हुने अवसर सदुपयोग गर्न सबैसँग आग्रह गर्नुभएको छ । तमु ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

ल्होसारको अवसर पारेर लमजुङका ग्रामीण बस्तीहरुमा आमा समूह, बाबा समूह, महिला समूह, युवा समूह, बाल समूह तथा दौंतरीहरुले स्योकैं अर्थात भोज र नाचगान कार्यक्रमको आयोजना गर्दैछन् उज्यालो अनलाइनले खबर लेखेको छ ।