निरक्षरलाई साक्षर बनाउन स्थानीय स्तरबाट नै पहल आवश्यक

671 पटक पढिएको

सम्पादक: Dhadingnews.com

संगिता आलेमगर
धादिङ,३० पुस । सरकारले सुरु गरेको साक्षरता अभियान सफल बनाउन स्थानीय स्तरबाट नै पहल आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । “साक्षर बनौँ, साक्षर बनाऔँ, साक्षरता हाम्रो अधिकार” भन्ने नारा सहित मंगलबार धादिङबेसीमा आयोजित साक्षर नेपाल अभियानमा सरोकारवालाहरुको भूमिका विषयक अभिमुखिकरणमा सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरका निर्देशक बाबुराम पौडेलले अभियान सफल बनाउन स्थानीयहरु नै लगनशिल र आत्माविश्वासका साथ लागि पर्नुपर्ने बताउनुभयो । राजधानीको नजिक रहेर पनि शिक्षा क्षेत्रमा धादिङ तुलनात्मक रुपमा पछाडि रहेकोले लगनशिल र आत्माविश्वास लिएर अगाडि बढ्न सक्नु पर्ने उहाँले बताउनुभयो । धेरै निरक्षर भएको जिल्ला भएर पनि सबैको साथ र सहयोग मिलेकोले ०७०÷७१ मा साक्षरता अभियान सफल हुनेमा आफु विश्वस्त रहेको पौडेलको भनाई थियो ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले निरन्तर सिकाईका लािग सामुदायिक अध्ययन केन्द्रको ठूलो भूमिका रहेकोले सामुदायिक केन्द्रहरु सक्रिय भएर लागि पर्नुपर्ने बताउनुभयो । ग्रामीण क्षेत्रमा रहेका गाविसहरुमा पनि विभिन्न समूहहरु परिचालन गरेर अभियान संचालन गरिरहेकोले तोकिएको समय भन्दा अगाडि नै धादिङलाई साक्षर जिल्ला घोषणा गर्न सकिने बताउनुभयो । हाल जिल्लामा ५० हजार ५सय ६७ जना निरक्षर रहेका छन् । त्यस्तै गतवर्ष २० गाविसबाट १२ हजार ८१ जना साक्षर बनाउन सफल भएको उदाहरण देखाउनुहुँदै सुवेदीले बाँकी निरक्षरहरुलाई साक्षर बनाएर तत्काल साक्षर जिल्ला घोषणा गर्न जिल्ला शिक्षा कार्यालय लागिपरेको बताउनुभयो ।

अनौपचारिक शिक्षा केन्द्रबाट सञ्चालित कार्यक्रमहरु र साक्षर कसरी हुन्छ र साक्षर अभियानका मापदण्डहरु के–के हुन् भन्ने विषयमा अनौपचारिक शिक्षा केन्द्र सानोठिमी भक्तपुरका उपनिर्देशक बद्रिप्रसाद पौडेल र शाखा अधिकृत विमला मिश्रले जानकारी गराउनुभएको थियो ।
अनौपचारिक शिक्षा केन्द्र सानोठिमीको आयोजना र जिल्ला शिक्षा कार्यालय धादिङको संयोजनमा भएको साक्षर नेपाल अभियानमा सरोकारवालाहरुको भूमिका विषयक अभिमुखिकरण कार्यक्रममा नेकपा एमाले धादिङका अध्यक्ष खेमप्रसाद लोहनी, नेपाली काङ्ग्रेसका भक्तबहादुर लामा, एकिकृत नेकपा माओवादीका रामबहादुर भण्डारी, जिल्ला विकास समिति धादिङका विनोद अर्याल, गैर सरकारी सस्था महासंघ धादिङका अध्यक्ष दामोदर अर्याल लगायत विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

zp8497586rq