धादिङ लगायत ४० जिल्लामा हात्तीपाइले निवारण कार्यक्रम सञ्चालन गरिने

768 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं : सरकारले माघ २५ गतेदेखि मुलुकका ४० जिल्लामा हात्तीपाइले (फाइलेरिया) रोग निवारणका लागि आमऔषधि सेवन कार्यक्रम सञ्चालन गर्ने भएको छ। कार्यक्रम दुई चरणमा सम्पन्न हुनेछ।

पहिलो चरणमा माघ २५ गतेदेखि २७ गतेसम्म भोजपुर, इलाम, झापा, मोरङ, ओखलढुङ्गा, पाँचथर, सप्तरी, सिरहा, सुनसरी, उदयपुर, अर्घाखाँची, बागलुङ, कास्की, म्याग्दी, पर्वत, जमजुङ, दाङ, प्यूठान, रोल्पा, रुकुम, सल्यान, बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, बैतडी, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुर गरी ३१ जिल्लामा सञ्चालन गरिने छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले दोस्रो चरणमा धनकुटा, तेह्रथुम, काठमाडौँ, ललितपुर, भक्तपुर अछाम, बझाङ, बाजुरा र दार्चुला गरी नौवटा जिल्लामा उक्त अभियान सञ्चालन गरिने जानकारी दिए।

हात्तीपाइले रोग कुष्ठरोग जस्तै मानिसलाई नराम्ररी शारीरिक रूपमा अशक्त, असमर्थ तथा अपाङ्ग तुल्याउने एक प्रकारको सरुवा रोग नै हो।

यो रोग एक प्रकारको मसिनो धागो आकारको परजीवीबाट सङ्क्रमण भएपछि लाग्ने गर्छ।

क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले स्वस्थ मानिसलाई टोकेर यी परजीवी शरीरमा प्रवेश गरेपछि यो रोग लाग्छ।

ज्वरो आउनु र शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, दुख्नु, पुरुषमा अण्डकोष वरपरका नसा फुल्नु, दुख्नु, अण्डकोष ठूलो हुनु, दुख्नु, गिर्खा भेटिनु, अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनु हात्तीपाइले रोगको लक्षण मानिन्छ।

यसैगरी महिलामा यौनाङ्ग अथवा स्तन सुन्निनु, दुख्नु, खुट्टा सुनिएर हात्तीपाइले हुनु, हात सुन्निनु, पिसाब सेतो वा रातो आउनु, लामो समयसम्म सुक्खा खोकी लागिरहनु, दम बढ्नु, रगतमा इपोसिनोफिलको मात्रा बढ्नु पनि हात्तीपाइले रोगका लक्षण हुन्।

निर्देशक मरासिनीले सन् २००१, २००५/२००६ र २०१२ मा गरिएको हात्तीपाइले रोगसम्बन्धी अध्ययन र एकीकृत स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीबाट प्राप्त तथ्याङ्कको आधारमा मुलुकका ६१ जिल्लामा हात्तीपाइले रोगको प्रभाव रहेको जानकारी दिए।

हात्तीपाइले रोग  प्रमुख जनस्वास्थ्य समस्याका रूपमा स्थापित भइसकेको र करिब ९० प्रतिशत जनता ती ६० जिल्लामा बसोवास गर्ने गरेको उनले बताए।

हात्तीपाइले रोगको औषधि दुई वर्ष नपुगेका केटाकेटी, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगी तथा सिकिस्त बिरामीले खान नहुने र अन्य व्यक्तिले औषधि खानुअघि केही खानेकुरा खाएरमात्र औषधि खानसमेत आग्रह गरिएको छ।

अभियानमा ४० जिल्लाका ११ हजार २६५ जना स्वास्थ्यकर्मी तथा ७६ हजार ९६१ जना स्वास्थ्य स्वयम्सेवकलाई आवश्यक तालिम प्रदान गरी परिचालन गरिने छ।

यो अभियान सम्पन्न गर्न केन्द्र र जिल्लामा गरी करिब रु ३० करोड खर्च हुने अनुमान गरिएको छ।

तीन दिने अभियानअन्तर्गत पहिलो दिन समुदायलाई पायक पर्ने ठाउँमा औषधि खुवाउने केन्द्र राखी स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयम् सेवकहरूको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने, दोस्रो र तेस्रो दिन छुटेकालाई घरदैलोमा नै गई औषधि खुवाउने कार्यक्रम छ।

नेपालमा सन् २००३ देखि हात्तीपाइले रोग निवारण अभियान सुरु भई ६१ जिल्लामा आम औषधि सेवन कार्यक्रम विभिन्न चरणमा सञ्चालन भइरहेको छ।

२० वटा जिल्ला पर्सा, मकवानपुर, चितवन, नवलपरासी, रूपन्देही, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, सिन्धुली, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, स्याङ्जा र पल्पामा ६ पटकसम्म औषधि सेवन कार्यक्रम सम्पन्न भइसकेको इपिडिमियोलोजीका निर्देशक मरासिनीले बताए।

सर्वेक्षणले ती जिल्लामा परजीवीको सङ्क्रमण निवारणको स्थितिमा पुगेको देखाएको छ।

-राष्ट्रिय समाचार समिति