‘शैक्षिक सवालमा मनोवाद’

764 पटक पढिएको

सम्पादक: Dhadingnews.com

विष्णुप्रंसाद कोइराला
1521503_684514821589049_1764680766_n
पत्रकारितामा स्थापित केशव दाइले मलाई लेख्ने प्रेरणा दिनुभएको हो । शुरुका दिनहरुमा मैले लेख्दा विषयहरु छान्नलाई धेरै गाह्रो हुन्थ्यो, लाग्थ्यो, पछि पछि विषय छान्न सजिलो बन्दै जानेछन् । तर अहिले विषय छान्न झन्, झन् गाह्रो हुँदैछ । यो हप्ता मैले के लेख्ने होला ? भनेर मन झस्किरहन्छ । हिजो आज शैक्षिक सवालका विभिन्न पेशागत र कक्षाकोठामा गरिने क्रियाकलापहरुमा मलाई कक्षाकोठामा गरिने क्रियाकलापलाई नै बढि प्राथमिकता दिन मन लाग्छ तर लेख्न सिलसिला मिल्दैन कि भन्ने लागेर डराइरहन्छु ।
म अफिसको बाहिरपट्टि छतमा बसिरहेको थिएँ । भीमसरले एडभान्स एकेडेमीका कक्षा यु केजिका विद्यार्थीहरुलाई बाहिर चउरमा ल्याउनुभयो । चउरको विचमा विद्यार्थीहरुका अघि अघि भीम सर र पछि पछि अमिता म्याडम आउनुभयो । एकैछिनमा सबै विद्यार्थीहरुलाई चार चार जनाको समुहमा विभाजन गर्नुभयो । म एकतमास हेरिरहेको छु । अव भिम सरले अलि अघिनै तयार गरेर राख्नु भएको बालुवाको थुप्रो तिर देखाउँदै उनीहरुलाई त्यो बालुवाको थुप्रोभित्र प्लाष्टिकबाट निर्माण गरिएका अंग्रेजी अक्षरहरु छान भन्नुभयो । म अलि उत्सुक बनेर हेर्न थाले । एकैछिनमा अमिता म्याडमले अंग्रेजीमा अव म अंगे्रजी शब्दहरु भन्छु, तिमीहरु अक्षरहरु खोजेर समुह मिलाएर शब्द बनाउनु’ भन्नुभयो । भिमसर समुहलाई हेरेर सिक्न भनिरहनु भएको थियो । त्यत्तिकैमा पहिलो समुहले आफ्नो लागि म्याडमले भन्नुभएका शब्दहरु बनाउने अक्षरहरु खोज्दै शब्द बनाउँदै गर्न लागे अरु सबै आफ्नो पालो कहिले आउला र अनि खेलौला भने जस्तो गरी पर्खन लागे । यसैगरी सबै समुहले पालै पालो अक्षर खोज्दै म्याडमले भन्नुभउका शब्दहरु बनाउने क्रम जारी राखे । सबै जनाको पालो सकिएपछि वहाँहरु कक्षाकोठातर्फ लाग्नुभयो । म भने त्यसैलाई कसरी परिस्कृत गर्न सकिएला भनेर सोच्न लागें ।
सबभन्दा पहिला यस प्रकारको खेलले शिक्षकले उच्चारण गरेका शब्दको (हिज्जे) पत्ता लगाउने र हिज्जे कण्ठ गर्न सजिलो पार्ने भयो । अर्कोतर्फ सस्तो तरिकाले कक्षाकोठाको एकोहोरो रटाई गर्नुपर्ने झण्झटबाट मुक्ति आहा ! कत्ति मजा खेलि खेलि सिक्ने । यति रमाइलो खेल जान्न पाएकोमा मलाई खुसी पनि लाग्यो ।
यसमा अलि बढि अक्षरहरुको सेट व्यवस्था गर्न सके र समुह समुहलाई प्रतिस्पर्धा गराई प्रतिस्पर्धात्मक खेलमा विकास गर्न सके शब्द भण्डार बढाउन सजिलो पथ्र्यो होला । मैले यस्तै विचार गर्दै थिएँ । संयोगले केशवदाइको फोन आयो । मैले मनमनै यहि विषयलाई यस अंकको नेत्रावति साप्ताहिकको शैक्षिक सवाल मा लेख्ने विचार गरें । अनि आफैंलाई अव लेख्ने विषय झन धेरै रहेको, झन धेरै लेखन संवेदनशीलताको आवश्यकता रहेको जस्तो लाग्न थाल्यो । अब शैक्षिक सवालमा उठाउने विषय यस्ता विषयहरु हुन् कि होइनन् छुट्याउने र सल्लाह सुझाव दिने काम विज्ञ पाठकहरुको !

कोइराला एडभान्स एकेडेमी धादिङका निर्देशक हुनुहुन्छ ।