माओवादीभित्र को-को अन्तर्घाती ?

897 पटक पढिएको

सम्पादक: Dhadingnews.com

एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको आठौं पूर्ण बैठकले संविधानसभा निर्वाचन- २०७० मा पार्टी र पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरिएका घटनाको छानबिन गर्न बनेको समितिले सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रतिवेदन तयार गरेको छ, जसमा अन्तर्घात हुनुको कारण र निदान पत्ता लगाएर भविष्यमा यस्तो हुन नदिन उपायबारे सुझाउ दिनुका साथै केन्द्रीय कार्यालय र छानबिन समितिमा परेका उजुरीमध्ये केन्द्रीय सदस्य र राज्य सदस्यहरूमाथि परेका उजुरीहरूको छानबिन गरी केहीलाई सफाइ र केही गल्तीकमजोरीको स्तरअनुरूप कारबाहीको सिफारिस गरिएको छ।

१. पार्टीको वर्ग दृष्टिकोण र प्रतिबद्धतामा ह्रास हुनुका कारण संविधानसभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकका उम्मेदवार सिफारिस, छनोट र निर्वाचन परिचालन गर्दा वैज्ञानिक नीति, विधि, मनोविज्ञान, मापदण्ड र प्रक्रिया अवलम्बन नगर्नुले अन्तर्घातका लागि वस्तुगत र आत्मगत स्थिति सिर्जना ग:यो। यस विषयमा केन्द्रीय समितिको बैठकले सोपानक्रममा मुख्य नेतृत्वसहित सबैले गल्तीकमजोरी स्वीकारी आत्मालोचना गरिसकेको विषय हो। पार्टीमा विचार समूहको आवरणमा स्थायी गुट कायम हुनुले हारका अन्य कारणबाहेक प्रत्यक्षमा कैयन् सिट गुमेको कुरा यथार्थ हो, जुन अन्तर्घातको प्रधान पक्ष हो। छलफल र पहलद्वारा वैज्ञानिक निष्कर्षमा पुग्नु र केन्द्रीकृत र एकीकृत हुनु कम्युनिस्ट पार्टीको विचार, विधि र कार्यशैलीको प्रधान पक्ष हो। यसपटकको चुनाउ संस्थागत नीति पूरै पार्टी होइन, व्यक्ति लडेजस्तो र सिंगो पार्टी होइन, बुर्का उम्मेदवार भएजस्तो हुन गयो। वर्ग प्रतिबद्धतामा देखा परेको स्खलनका कारण वर्ग र दुस्मनको प्रत्यक्ष र अप्रत्यक्ष प्रभावमा परेर उजुरी नपरे पनि मुख्य नेतृत्व समूहलाई हराउन कतिपय केन्द्रीय सदस्यले नकारात्मक भूमिका खेलेको पाइयो।

२. उम्मेदवारको छनोट र कार्य विभाजनले वैज्ञानिक नीति, विधि र मनोविज्ञानको पूर्णरूपमा पालन गर्न केन्द्रदेखि तल्लो कमिटी तथा नेताकार्यकर्ताका गल्तीकमजोरीले विभिन्न स्तरको अन्तर्घातको लागि मलिलो माटो तयार गरेको पृष्ठभूमिमा उजुरीमाथि छानबिन गरी प्रतिवेदन तयारी गरिएको छ। कम्युनिस्ट पार्टीका कमिटी र नेताहरूका आफ्नै आँखा छन्, उजुरी परेपछि मात्र छानबिन हुने परम्परा बसाउने हो भने कम्युनिस्ट पार्टी र अन्य पार्टीबीच अन्तरै के रह्यो? नेतृत्वलाई थाहा छ, कसैले गल्तीकमजोरी गरे वा गर्दैछ, तर ऊ उजुरी पर्खेर बस्छ यस्तो आचरणले नेतृत्व र कार्यकर्ताको सम्बन्ध कसरी जीवन्त हुनसक्छ? आफ्नो पक्ष वा गुटको भएपछि सय खत पनि माफ हुने र अर्को पक्षको कमजोरी नहुँदा पनि खेदो पाइलो गर्ने वा बढाइचढाइ तीललाई ताड बनाउने संस्कारको विकास हुने हो भने एकीकृत र केन्द्रीकृत पार्टी निर्माण क ल्पनाको विषय मात्र हुनेछ। व्यवहारबाट अलग जीवन्त माक्र्सवाद खोज्नुको के औचित्य?

३. गम्भीर प्रकृतिका गल्ती गर्नेहरू उजुरी नपरेका कारण चोखै रहने, त्योभन्दा कम र सानातिना गल्तीकमजोरी गर्ने कारबाहीमा पर्ने विगतका आयोगका इतिहासबाट शिक्षा लिएर तोकिएको अधिकार पाएको छानबिन समिति पार्टीको वर्तमान स्थिति हेरेर लागू हुन सक्ने गरी गल्तीकमजोरी गर्नेमाथि कारबाहीको प्रस्ताव केन्द्रीय कार्यालयमा पेस गरेको छ। आयोगलाई दिएको कार्यक्षेत्रका आधारमा यति गर्नु नै वैज्ञानिक हुन्छ। इतिहासबाट शिक्षा लिएर भविष्यमा कसैमाथि औपचारिक उजुरी नपरे पनि छानबिन गर्न सक्ने र कारबाहीको सिफारिस मात्र होइन, कारबाही गर्न सक्ने शक्तिसम्पन्न आयोग वा छानबिन समिति बन्नुपर्छ। कारबाही गर्ने हो भने अन्तर्घात हुने परिस्थिति निर्माण गर्ने, अनुपयुक्त उम्मेदवारको सिफारिस गर्ने, उम्मेदवारीको लागि दबाब दिने र उम्मेदवारबारे अन्तिम निर्णय गर्ने कमिटी र व्यक्तिले नीतिगत निर्णयका सन्दर्भमा जिम्मेवारी लिनुपर्छ, अन्यथा कारण आलोचना गरेर सफाइ पाउने भएपछि परिणामलाई मात्र कडा कारबाहीको माग गर्नु उचित हुन्न। मुख्यत: सापेक्षिकरूपमा उम्मेदवारको वैज्ञानिक छनोट भएका जिल्ला र निर्वाचन क्षेत्रमा आफूले उम्मेदवार नपाएको वा आफूले भनेजस्तो नभएपछि अर्थात् जनवाद भएन भन्ने बहानामा नियतवश उम्मेदवारलाई असहयोग गर्ने मनसाय राखी उदासीन, निष्क्रिय, उम्मेदवारप्रति नकारात्मक धारणा फैलाएको, सार्वजनिकरूपमा आलोचना गरेको र बागी वा विपक्षीको पक्षमा प्रचार गरेको र विपक्षी उम्मेदवारबाट पैसा र प्रलोभनमा परेर काम गरेकोलाई र सहायकरूपमा अन्यलाई पनि गल्तीकमजोरीको प्रकृतिअनुरूप कारबाहीको सिफारिस गरिएको छ। देशभरिबाट केन्द्रीय कार्यालयमा ५८ वटा उजुरी दर्ता भए पनि केन्द्रीय कार्यालयको बैठकले केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार र राज्य सदस्यको मात्र छानबिन गर्न निर्देशन गरेकाले छानबिन गर्नुपर्ने उजुरीको संख्या केही घट्न गएको छ। लिम्बूवान राज्यमा कुनै उजुरी परेको छैन।
केन्द्रीय समितिले छानबिन समितिलाई एक महिना समय दिएको थियो तर उजुरी प्रस्तुत गर्ने समय बढाउने वैज्ञानिक देखिएका कारण समितिबाट समय थप माग भएअनुरूप केन्द्रीय कार्यालयले थप गरेपछि पनि दोस्रो चरणमा छानबिन र प्रतिवेदन तयारीका लागि समय अपुग भए पुन: म्याद थप माग गर्नुपरेका कारण प्रतिवदेन प्रस्तुत हुन केही विलम्ब हुन गएकोमा समिति आत्मालोचना गर्छ। प्राविधिक कारणले केही ढिला भए पनि छानबिन समितिले सम्भव भएसम्म स्थलगत अध्ययन गरेर कुनै अनुचित प्रभावमा नपरी निष्कर्षमा पुग्ने कोसिस गरेको छ। वस्तुगत र आत्मगत प्रतिकूलता तथा साधनस्रोत र समयको सीमितताले प्रतिवेदनका कतिपय सीमा रहनु स्वाभाविक छ। छानबिन समितिका संयोजकसहित सदस्यहरूले कार्यविभाजन गरिएअनुरूप समग्र रिपोर्ट केन्द्रित गरी सर्वसम्मत प्रतिवेदन तयार गरी प्रस्तुत गरिएको छ।
(क) मिथिला, भोजपुरा, तमुवान, कोचिला राज्यमा परेका उजुरी र तत्सम्बन्धमा स्थलगत छानबिनपश्चात् गरिएका सिफारिसहरू :

१. धनुषा जिल्लाबाट केन्द्रीय कार्यालय दर्ता नं. ६२२ मा जिल्ला संयोजक क. रामचन्द्र मण्डललगायतबाट केन्द्रीय सदस्य असर्फी भिनवार यादव र पूर्वराज्य समिति सदस्यहरू बुधराम यादव, सरोज यादव, देवेन्द्र यादव, राम सुगत ठाकुर, रामजगत यादव, इन्द्रदेव यादव, देवसागर दास, मनिष जर्घा मगर, फर्मुद नदाफलगायत १८ जनाविरुद्ध उजुरी परेको थियो। यसमध्ये असर्फी भिनवार केन्द्रीय सदस्य भएर पनि उहाँले प्रत्यक्षमा उम्मेदवार नपाएकै कारण समानुपातिक उम्मेदवार भएर पनि पार्टीले गरेका निर्णयविरुद्ध असन्तुष्ट र अराजकको सक्रिय नेतृत्व गरेकाले केन्द्रीय सदस्यबाट तीन महिना निलम्बन गर्न सिफारिस गरिन्छ। यसैगरी पूर्वराज्य समिति सदस्य फर्मुद नदाफले पार्टीका आधिकारी उम्मेदवारविरुद्ध गतिविधि गरेकाले पार्टी सदस्यता रहने गरी जिल्ला समितिबाट र मोर्चाको नेतृत्वबाट हटाउन सिफारिस गरिन्छ। पूर्वराज्य समिति सदस्य बुधराज यादव, सरोज यादव, देवेन्द्र यादव, रामसुगत ठाकुर, रामजगत यादव, इन्द्रदेव यादवसहित ६ जनाले पार्टीको विद्रोही उम्मेदवारलाई सहयोग गरेकाले पार्टी सदस्यता कायम रहने गरी पार्टीका अन्य जिम्मेवारीबाट हटाउन सिफारिस गरिन्छ। पूर्वराज्य समिति सदस्यद्वय देवसागर दास र मनिष जर्घा मगरले पार्टीको उम्मेदवारको पक्षमा जिम्मेवारीपूर्वक नलागेकाले भविष्यमा यस्तो नगर्ने सर्तमा कडा आचोलना गर्ने सिफारिस गरिन्छ।

२. केन्द्रीय कार्यालय दर्ता नं. ५९५ मा सप्तरी जिल्ला क्षेत्र नं. ४ का उम्मेदवार कलाम खाँले छेदी रजक सफी, चन्द्रदेव मण्डल, सिंहेश्वर साह, देवलाल माली, रामप्रसाद मण्डल, प्रेमनारायण यादव र तनुकलाल शर्मासमेत सातजनामाथि उजुरी परेकोमा छानबिन गर्दा पार्टीले दिएको उम्म्देवार चित्त नबुझे पनि विद्रोही उम्मेदवारलाई सघाउनु गल्ती भएकाले पार्टी सदस्यता कायम रहने गरी अन्य सबै जिम्मेवारीबाट हटाउन सिफारिस गरिन्छ।

३. केन्द्रीय कार्यालय दर्ता नंं. ६२१ मा सिरहा जिल्ला क्षेत्र नं. ६ का पार्टी उम्मेदवार अमरनाथ यादवले केन्द्रीय सदस्य महेन्द्र पासवान, फुलगेन नायक, रामकुमार यादव, रामकुमार पासवान र ठगु मण्डलसमेत विरुद्ध उजुरी दिएकोमा निम्नअनुसार सिफारिस गरिन्छ। महेन्द्र पासवान केन्द्रीय सदस्य र स्वयं समानुपातिक उम्मेदवार भएर पनि पार्टी अध्यक्ष नै उम्मेदवार भएको जिल्लामा उम्मेदवारविरुद्ध सार्वजनिकरूपमा बोल्नु गम्भीर कमजोरी भएकाले कडा आलोचना गर्न सिफारिस गरिन्छ। फुलगेन नायक केन्द्रीय सदस्य भएर पनि जतिसुकै असन्तुष्टि भए पनि सक्रिय हुनुपर्नेमा सार्वजनिकरूपमा असन्तुष्टि प्रकट गर्ने काम भएकाले आलोचना गर्न सिफारिस गरिन्छ।

पूर्वराज्य समिति सदस्य रामकुमार यादवको निर्वाचनका बेला जिम्मेवारी धनुषामा कार्य क्षेत्र परेकाले र ठोस प्रमाण नभेटिएकाले कारबाही गर्नुनपर्ने। पूर्वराज्य समिति सदस्य रामकुमार पासवान २०६४ को संविधानसभा सदस्य भइसकेकाले समानुपातिक उम्मेदवार नपाएकोमा असन्तुष्ट हुन सुहाउँदैन। अध्यक्ष उम्मेदवार भएको जिल्ला भएकाले संवेदनशीलतालाई नबुझ्नु कमजोरी भएकाले आलोचना गर्न सिफारिस गरिन्छ। यसैगरी पूर्वराज्य सदस्य ठगु मण्डलले जिल्लाको संवेदनशीलतालाई बुझ्न नसक्नु र निर्वाचनको अन्तिम क्षणमा ६ नं. क्षेत्रमा निस्क्रिय हुनुले शंका पैदा गर्ने ठाउँ दियो। भविष्यमा यसो नगर्ने प्रतिबद्धतासहित आलोचना गर्न सिफारिस गरिन्छ।

४. केन्द्रीय कार्यालय दर्ता नं. ६२५ सिरहा क्षेत्र नं. २ मा जितेन्द्रकुमार यादवले पूर्वराज्य समिति सदस्य कमलहरि यादव र भोगेन्द्र ठाकुरविरुद्धको उजुरीमा छानबिन गर्दा उम्मेदवार आफूलाई चित्त नबुझे पनि अध्यक्ष उम्मेदवार भएको जिल्ला भएकाले आन्तरिकरूपमा भिन्न मत राखेर सक्रिय हुनुपर्नेमा हार्दा उम्मेदवार मात्र होइन, पार्टी हार्ने कुरा बुझ्न नसक्नु कमजोरी हो। दुवै कमरेडले जिम्मेवारी बोध गर्न नसकेकोमा आलोचना गर्न सिफारिस गरिन्छ।

५. केन्द्रीय कार्यालय दर्ता नं. ६२४ सिरहा क्षेत्र नं. १ मा देवनारायण महतोले क्षेत्र नं. १ को तर्फबाट पूर्वराज्य समिति सदस्यद्वय गमकलाल थारू र अशोकरामविरुद्ध दिएको उजुरीमा छानबिन गर्दा गमकलाल थारूले थारू उम्मेदवार नभएकोमा असन्तुष्टि व्यक्त गर्नेमा मात्र सीमित नभई चुनाउको बेला विपक्षी उम्मेदवारसँग घनिष्टता देखाएकोले पार्टी सदस्यता कायम राखी पार्टीका सबै जिम्मेवारीबाट हटाउन सिफारिस गरिन्छ। अशोक रायको सम्बन्धमा उम्मेदवारप्रतिको असन्तुष्टि र पार्टीप्रति उदासीनताले भूमिका पूरा नगरेकोमा आलोचना गर्न सिफारिस गरिन्छ।

६. केन्द्रीय कार्यालय दर्ता नं. ६४८ महोत्तरी जिल्ला क्षेत्र नं. २ तुलसीप्रसाद ढुंगानासमेतले दिएको उजुरीको छानबिन गर्दा केन्द्रीय सल्लाहकार कलाउद्दिनका सम्बन्धमा उम्मेदवारी नपाएकोमा उदासीनता देखिएकोले सचेत गराउनुपर्ने सुझाउ गरिन्छ।

७. कार्यालय दर्ता नं. ६४८ महोत्तरी जिल्ला क्षेत्र नं. ४ मा केन्द्रीय सदस्य तुलसीप्रसाद ढुंगानाले केन्द्रीय सल्लाहकार राजेन्द्र साहविरुद्ध दिएको उजुरीमा छानबिन गर्दा जिल्लामा कार्यरत केन्द्रीय नेताहरूबीच अन्तरविरोध भए पनि आफू स्वयं समानुपातिक उम्मेदवार भएकाले पनि पार्टीको महिला उम्मेदवारलाई सक्रिय सहयोग गर्नुपर्नेमा उल्टै नकारात्मक वातावरण बनाएकोले सदस्यता कायम राखी केन्द्रीय सल्लाहकारबाट हटाउन सिफारिस गरिन्छ।

८. केन्द्रीय कार्यालय दर्ता न. ६२२ महोत्तरी क्षेत्र नं. ६ मा केन्द्रीय सदस्य तथा प्रत्यक्ष उम्मेदवार भरत साहले पूर्वराज्य सदस्य तथा क्षेत्र नं. ६ मा तत्कालीन इन्चार्ज शिवनाथ महतो (भोला)विरुद्ध दिएको उजुरीको छानबिन गर्दा समानुपातिकमा उम्मेदवारी नपाएको कारण असन्तुष्ट भए पनि आफू निर्वाचन क्षेत्रको प्रमुख र सिनियर कमरेड उम्मेदवार हुँदा पनि जिम्मेवारीबोध नहुनु र चुनाउको समयमा संवेदनशील समयमा एक हप्तासम्म निस्क्रिय बस्नु गल्ती भएकाले सामान्य आलोचनाको विषय बन्न सक्छ। तर पछि सक्रियतापूर्वक लागेकाले नियतमा शंका गर्नुपर्ने देखिँदैन।

९. केन्द्रीय कार्यालय दर्ता नं. ६३२ सर्लाही क्षेत्र नं. ३ का प्रत्यक्षतर्फका उम्मेदवार भरत थापाले पूर्वराज्य सदस्य केदार खत्रीविरुद्धको उजुरीको छानबिन गर्दा केदार खत्रीले बहानाबाजी गरेर छानबिन समितिका सदस्य डिल्लीराम आचार्यसँग भेट्न नचाहेको देखियो। जनतासँग बुझ्दा अन्तर्घात गरेको देखियो। अत: सदस्यता कायम रहने गरी पार्टीका सबै तहबाट हटाउन सिफारिस गरिन्छ। पूर्व राज्य सदस्य माया बलको नियतमा शंका गर्नुपर्ने नदेखिए पनि सो क्षेत्रका प्रमुख र आफूसहित समानुपातिक उम्मेदवारका हैसियतले निर्वाह गर्नुपर्ने आवश्यक भूमिकामा कमी भएकोले आलोचना गर्न सिफारिस गरिन्छ।

१०. केन्द्रीय कार्यालय दर्ता नं. ६३३ सर्लाही क्षेत्र नं. २ मा प्रत्यक्षका उम्मेदवार राजकुमार राय यादवले पूर्वराज्य समिति सदस्य रमेश बुढाथोकी (कमल) माथिको अन्तर्घातको आरोपमा छानबिन गर्दा पार्टीको २ नं. क्षेत्रको सिफारिस कमलको पक्षमा हुँदाहुँदै उम्मेदवार राजकुमार हुँदा असहज स्थिति पैदा भयो। यसबाट पैदा भएको अन्तर्विरोध पछि हल भए पनि आशंकाको स्थिति कायमै रह्यो। साइडसाइडमा दुवैतर्फबाट अभिव्यक्ति सन्तुलित नहुँदा सहज हुन सकेन। यसर्थ यति नै कारणले कारबाही गर्नुपर्ने देखिएन।

११. केन्द्रीय कार्यालय दर्ता नं. ६१७ बारा जिल्ला क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार ज्वालाकुमारी साहले पूर्व राज्य सदस्य हरि चौलागाई र शम्भु मण्डलविरुद्धको उजुरीमा छानबिन गर्दा हरि (लालकिरण) उम्मेदवारको छनोटमा चित्त नबुझेपछि उत्तेजित भएर टीकाटिप्पणी गरे पनि परिवार कमरेड गीताले समानुपातिकमा उम्मेदवार पाएपछि सम्हालिएको देखिन्छ। तर उत्साहपूर्ण ढंगले सक्रिय नहुनु कमजोरी भएको छ। यसैगरी शम्भु मण्डलले पनि समानुपातिक सुनिश्चित नहुँदासम्म उम्मेदवारलाई असहयोग गरेको तर पछि सामान्य भूमिका निर्वाह गरेको देखिन्छ। अत: कारबाहीभन्दा पनि कमजोरी स्वीकारी दुवै कमरेडले आलोचित हुनु पनि सिफारिस गरिन्छ। केन्द्रीय सदस्य दिनेश पटेल र राकेश यादवले पनि कमजोरी भएको स्वीकार गरी आलोचित हुन सिफारिस गरिन्छ।

१२. केन्द्रीय कार्यालय दर्ता नं. ६५० बारा जिल्ला क्षेत्र नं. ६ मा टेक बहादुर श्रेष्ठले हरि चौलागाई (लालकिरण) विरुद्धको उजुरीमा छानबिन गर्दा लालकिरणले शंका गर्ने ठाउँ नराखी काम गर्नुपर्ने तर यस्तो हुन नसक्नुमा कतै न कतै कमजोरी भएको देखिएकाले आलोचना गर्न सिफारिस गरिन्छ।

१३. केन्द्रीय कार्यालय दर्ता नं. ५९२ बारा निर्वाचन क्षेत्र नं. ४ मा प्रत्यक्षका उम्मेदवार सुरेशप्रसाद साहसहित १०४ जनाले पूर्वराज्य सदस्य रामराज चौधरी, हसन्जान अन्सारी, लालबहादुर पटेल, दीपेन्द्र कुशवाहा, अक्षय ओझा, उमेश कुशवाहा, डा. उषाकिरण अन्सारीसमेत सातजनामाथिको उजुरीमा छानबिन गर्दा जिल्ला संयोजक जयराम दाहालले निर्वाचनमा सहज वातावरण बनाउन पहल गर्दा उम्मेदवार सुरेश बैठकमा नआउनुले झन् असहज बन्दै गयो। एकअर्काप्रतिको आशंका जाँदा आरोप-प्रत्यारोपमा विकास भयो। जेजस्तो भए पनि र चित्त नबुझे पनि पार्टीका उम्मेदवारको पक्षमा वातावरण बनाउन पूर्व राज्य सदस्यहरूको भूमिका नपुगेकोले सबैलाई आलोचना गर्न सिफारिस गरिन्छ।

१४. केन्द्रीय कार्यालय दर्ता नं. ६१७ क्षेत्र नं. ६ मा पूर्वराज्य सदस्य ताराबहादुर कार्कीले जिल्ला संयोजक तथा केन्द्रीय सदस्य जयराम दाहालविरुद्धको उजुरीमा छानबिन गर्दा कुनै ठोस तथ्य पाइएन। उजुर कर्ता स्वयं एमालेमा प्रवेश गर्ने आशय राखिसकेका छन्। तर जयराम केसी र जिल्ला संयोजकको हैसियत बिर्सेर क्षेत्र नं. ६ मा निर्वाचनमा उम्मेदवारी नपाएको असन्तुष्टि यदाकदा देखाउनुले आलोचना गर्नुपर्ने देखिन्छ।

१५. केन्द्रीय कार्यालय दर्ता नं. ६०९ पर्सा जिल्ला क्षेत्र नं ४ मा प्रत्यक्षतर्फका उम्मेदवार पूर्व केन्द्रीय सदस्य प्रल्हाद गिरीले पूर्व राज्य सदस्य बलिराम साह, हिरा साह तेली र तितरीदेवी तेलीविरुद्धको उजुरीको छानबिन गर्दा उम्मेदवारको विषयमा असन्तुष्टिका कारण केही उदासीनता देखिए पनि अन्तर्घात गरेको तथ्य पाइएन, बरु प्रल्हाद गिरी हाल एमालेमा प्रवेश गरेको घटनाको अध्ययन गरेर शिक्षा लिनु जरुरी देखिन्छ। भविष्यमा पार्टी प्रवेशलाई खुकुलो नबनाउन आग्रह गरिन्छ।

१६. केन्द्रीय कार्यालय दर्ता नं. ६०५ र ६१० रौतहट जिल्ला क्षेत्र नं. ३ मा त्रिभुवन साहलगायत २१ जनाले केन्द्रीय सदस्य तथा तत्कालीन जिल्ला संयोजक सुरेन्द्र जयसवाल (अशोक) र धिरज पटेलविरुद्धको उजुरीमा छानबिन गर्दा त्यस जिल्ला संयोजक सुरेन्द्र जयसवाल (अशोक) र धिरज पटेलविरुद्धको उजुरीमा छानबिन गर्दा त्यस जिल्लामा स्वस्थ अन्तर्संघर्षका कारण शंकाले लंका पिरेको हो, अन्तर्घात भएको देखिँदैन। धिरज पटेलले अन्तर्घात गरेको नदेखिए पनि धिरजको टोलमा घरदैलोमा जाँदा निरुत्साहित गर्ने कार्य भएकाले आलोचना गर्नुपर्ने देखिन्छ।

१७. केन्द्रीय कार्यालय दर्ता नं. ६५२ रौतहत क्षेत्र नं. ४ मा विपिन जयसवालले केन्द्रीय सदस्य प्रभु साह र उपेन्द्र साहविरुद्धको उजुरीमा छानबिन गर्दा जिल्लाको अस्वस्थ अन्तर्विरोधका कारण प्रभुमाथि आशंका हुनु स्वाभाविक भए पनि अन्तर्घात गरेको पुष्टि गर्ने आधार नभएको र तर केन्द्रीय सदस्य उपेद्रको ३ नं. को जिम्मा भए पनि उम्मेदवारलाई मद्दत गर्न आफ्नो गाउँमा नजानुले राम्रो मनसाय देखिएन, तर यही कमजोरीलाई अन्तर्घात भन्न नमिल्ने। यो आलोचना हुनुपर्ने विषय भएकाले सोहीअनुसार गर्न सिफारिस गरिन्छ।

१८. केन्द्रीय कार्यालय दर्ता नं. ६४४ तनहुँ क्षेत्र नं १ मा राजकृष्ण श्रेष्ठले केन्द्रीय सदस्य भीमप्रसाद गौतमविरुद्ध गरेको उजुरीमा छानबिन गर्दा अन्तर्घात गरेको पुष्टि छैन। तर समानुपातिक उम्मेदवार बनाउन पैसा लिएको आभास हुने जसरी तल्लो कमिटीमा प्रस्तुत हुँदा केन्द्रीय सदस्यको गरिमा नराखेको देखिएकोले सामान्य आलोचनाको विषय बनेकोले सोहीअनुसार गर्न सिफारिस गरिन्छ।

१९. केन्द्रीय कार्यालय दर्ता नं. ६४५ कास्की क्षेत्र नं. २ मा रामले पूर्व राज्य सदस्य विश्वप्रकास लामिछानेविरुद्ध गरेको उजुरीमा छानबिन गर्दा आफूले उम्मेदवारी नपाएकोमा निकै असन्तुष्ट भएपनि पछि सामान्य भूमिका मात्र निर्वाह गरेको तर उत्साहजनक रूपमा नलागेकोले सामान्य आलोचना गर्न सिफारिस गरिन्छ।

२०. केन्द्रीय कार्यालय दर्ता नं. ६३१ तनहुँ क्षेत्र नं. १ मा क्षितिज लामिछानेले पूर्वराज्य सदस्य ओमकुमारी पौडेल, ओमप्रसाद पौडेल, विजय दवाडीविरुद्ध गरेको उजुरीमा छानबिन गर्दा ओमकुमारी प्रत्यक्षमा उम्मेदवार नपाएपछि पूरै निस्क्रिय बसेको र समानुपातिक तर्फको उम्मेदवार भएर पनि प्रचारमा नहिँडेकोले कडा चेतावनी दिन सिफारिस गरिन्छ। ओमप्रसाद पौडेल महिला मोर्चाको केन्द्रीय अध्यक्ष सीता पोखरेल उम्मेदवार हुँदा त्यति धेरै रुष्ट हुनु उचित देखिँदैन। यसर्थ आलोचना गर्नुपर्ने। विजय दवाडी कांग्रेसको झन्डा बोकेकाले पार्टी सदस्यताबाट निस्कासन गर्न सिफारिस गरिन्छ।

२१. कास्की क्षेत्र नं. ३ मा हेमबहादुर तथा पराजुलीविरुद्धको मौखिक उजुरीको छानबिन गर्दा आरोप प्रमाणित नभएकाले कारबाहीको प्रस्ताव गर्नु नपर्ने।

२२. केन्द्रीय कार्यालय दर्ता नं. ६१४ मोरङ जिल्लामा रामप्रसाद साहविरुद्ध गरेको बेनामी उजुरीमा छानबिन गर्दा निर्वाचनमा असन्तुष्ट भई निस्क्रिय हुनु रामप्रसादको गल्ती भएकोले आलोचना गर्न सिफारिस गरिन्छ।

५ (ख) मगरात राज्य, भेरी कर्णाली राज्य र सेती महाकाली राज्यमा परेका उजुरीको स्थलगत छानबिनपश्चात् गरिएका सिफारिसहरू :

१. केन्द्रीय कार्यालय दर्ता नं. ६०४ डोटी जिल्ला क्षेत्र नं. १ मा प्रत्यक्षतर्फका उम्मेदवार मोहनबहादुर बमले जिल्ला संयोजक त्रिलोचन भट्ट, क्षेत्र नं. १ का संयोजक जनार्दन जोशी, पूर्व राज्य समिति सदस्य चन्द्रदेव ओझा र पूर्व वागी उम्मेदवार (फिर्ता लिएको) डीसीएम योगेन्द्र बोहोरालगायत ६ जनाविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा बमको उम्मेदवारीप्रतिको असन्तुष्टिले बागी उम्मेदवारसम्म पु:यायो, बागीले उम्मेदवारी फिर्ता लिए पनि आशंका र असन्तुष्टि कुनै न कुनै रूपमा व्यक्त भइरह्यो, जसको फाइदा विपक्षीले लिइरह्यो। उम्मेदवार बममाथि कांग्रेसको सांघातिक आक्रमणपछि पार्टी पंक्तिबीचको सम्बन्ध असहज भयो। यस सम्बन्धमा उम्मेदवारका कमजोरीले केही काम गरेको भए पनि मुख्यरूपमा जनार्दन जोशी र चन्द्रदेव ओझा र सहायक रूपमा त्रिलोचन भट्टको कमजोरी पाइयो। अन्य कमरेडहरू डीसीएम भएकाले आयोगको कार्यक्षेत्रभित्र परेन। अत: जनार्दन र चन्द्रदेवलाई कडा चेतावनी र त्रिलोचनलाई आलोचना गर्न सिफारिस गरिन्छ।

२. केन्द्रीय कार्यालय दर्ता नं. ६२८ अछाम जिल्ला क्षेत्र नं. १ मा तत्कालीन जिल्ला संयोजक खगेन्द्र रोकायले क्षेत्र नं. १ का उम्मेदवार दीपक साउद र केन्द्रीय कार्यालय दर्ता नं. ५७७ क्षेत्र नं. २ मा प्रत्यक्ष उम्मेदवार झंकरबहादुर रावलले अक्कल रावल, रणबहादुर विष्ट, रामराजनाथ, निर्वाचन क्षेत्र नं. १ परिचालन संयोजक झंकर साउद (भाष्कर) र जानकी साउदविरुद्ध परेको उजुरीमा छानबिन गर्दा अछाम जिल्ला निर्वाचनका जिम्मेवार कमरेडहरूबीचको असझदारीले अन्तर्विरोध र आशंकाको अनन्त शृंखला खडा भयो। तर आरोपितमाथि कारबाही गर्न प्रमाण ठोस रूपमा पाइएन, अत: पक्ष र विपक्षमा रहेका कमरेडहरूले आशंका दूर गर्न जिम्मेवार नेतृत्वको उपस्थितिमा छलफल गरेर स्थितिलाई सामान्यीकरण गर्नुपर्ने देखिन्छ।

३. केन्द्रीय कार्यालय दतां नं. ५८५ हुम्ला जिल्लामा सहिद परिवार हुम्ला जिल्लाले पूर्व जिल्ला संयोजक छिमी लामा, वीरजंग शाहीविरुद्ध, दर्ता नं. ५७६ मा अखिल क्रान्तिकारी हुम्ला काठमाडौं सम्पर्क मञ्चले छिमी लामा र वीरजंग शाहीविरुद्ध र दर्ता नं. ५६२ मा छिमी दोर्जे र वीरजंग शाहीबाट केन्द्रीय सदस्य कार्चेनविरुद्ध परेका उजुरीहरूको छानबिन गर्दा छक्कबहादुर लामाको उम्मेदवारीप्रति जतिसुकै असन्तुष्टि भए पनि पार्टी निर्णयको पालना नगरी उम्मेदवारलाई भोट नहाल्ने निर्णय गराउनुका साथै उम्मेदवारविरुद्ध सार्वजनिक रूपमा आउनु गम्भीर गल्ती गरेकाले छिमी लामा र वीरजंग शाहीलाई पार्टी सदस्यता मात्र कायम रहने गरी पार्टीका सबै जिम्मेवारीबाट हटाउन र वातावरणलाई सहज बनाउन नसक्नु केन्द्रीय सदस्य कार्चेन र उम्मेदवार छक्कबादुर लामाको कमजोरी देखिएकाले दुवैजनालाई आलोचना गर्न सिफारिस गरिन्छ।

४. केन्द्रीय कार्यालय दर्ता नं. ६३० गुल्मी जिल्ला क्षेत्र नं. ३ मा यस क्षेत्रका प्रत्यक्षतर्फका उम्मेदवार वामदेव क्षेत्री घिमिरेले चन्द्रबहादुर थापाविरुद्ध दिएको उजुरीमाथि छनबिन गर्दा चन्द्रबहादुरलाई नेतृत्वले जिल्लामा रहेको भ्रम सफा गर्न एकपटक गइदिन अनुरोध गर्दा नजानु गल्ती भएकाले आलोचना गर्न सिफारिस गरिन्छ।

५. केन्द्रीय कार्यालय दर्ता नं. ६११ म्याग्दी जिल्लाबाट परेको उजुरीमा उठेका विषयमा जिल्ला पार्टीभित्र छलफल गरी समाधान गरेकाले छानबिन समितिले सुझाउ दिनुनपर्ने देखिन्छ।

(ग) अबध, ताम्सालिङ र नेवा: राज्यमा परेका उजुरीको स्थलगत छानबिनपश्चात् गरिएका सिफारिसहरू :

१. केन्द्रीय कार्यालय दर्ता नं. ६४१ रूपन्देही क्षेत्र नं. ३ मा यस क्षेत्रका प्रत्यक्षतर्फका उम्मेदवार भरत अर्यालले वामदेव क्षेत्री, यज्ञ पोखरेल, लछमी भुर्तेल (ज्ञानप्रसाद) र विश्वदीप पाण्डेविरुद्ध दिएको उजुरीमा छानबिन गर्दा यसमा धेरैको नाम जोडिए पनि ज्ञानप्रसादले एकातिर विपक्षी कांग्रेसका उम्मेदवार बालकृष्ण खाँडलाई भोट हाल्न लबिङ गरेको र अर्कोतिर आफ्नै पार्टीको उम्मेदवारसँग सोही समयमा ५ लाखभन्दा बढी बुथ खर्च भनी लिएको पुष्टि हुन आएकाले पार्टीको सबै जिम्मेवारीबाट हटाउनुका साथै ६ महिना पार्टी सदस्यबाट निलम्बन र ५ लाख ८० हजार उम्मेदवारलाई फिर्ता दिलाउन सिफारिस गरिन्छ।

२. केन्द्रीय कार्यालय दर्ता नं. ६३९ रूपन्देही क्षेत्र नं. ७ मा यस क्षेत्रका प्रत्यक्षतर्फका उम्मेदवार मकसुद अलीले पूर्व राज्य सदस्य रामदेव यादवलगायतविरुद्ध उजुरी परेकोमा अन्य कमरेडहरू राज्य कमिटीभन्दा तल भएकाले रामदेवको सम्बन्धमा मात्र निर्णय गर्नुपर्नै हुन्छ। यसमा छानबिन गर्दा रामदेवले अन्तर्घात गरेको पुष्टि हुन नसके पनि क्षेत्र नं. ७ मा उदासीन देखिएकाले आलोचना गर्नुपर्ने।

३. केन्द्रीय कार्यालय दर्ता नं. ६२९/५८८ कपिलवस्तु जिल्ला क्षेत्र नं. ३ मा प्रत्यक्षतर्फको उम्मेदवार सन्तोषी पाण्डले क्षेत्र नं. ४ का संयोजक जनक चौधरी, पूर्व राज्य सदस्य रमेश यादव (मुकुत यादव) रणजित यादव (नन्दकिशोर यादव) र जगत केसीविरुद्ध दिएको उजुरीमाथि छानबिन गर्दा तथ्य प्रमाणले पुष्टि गरेन बरु उल्टै गलत मनसायले उजुरी गरेको देखिन्छ। यसर्थ यलियस मुसलमान, इन्द्रबहादुर चौधरी, जगत केसी, मुकुत यादव र नन्दकिशोर यादवलगायतलाई आलोचना गर्न सिफारिस गरिन्छ।

यससँगै जोडिएर आएको ४ नं. क्षेत्रीय इन्चार्ज यलियस मुसलमानसहित ५ जना राज्य सदस्य र २७ जना पूर्व डीसीएम (कतिपय हस्ताक्षर फर्जी पाइएको) हरूले क्षेत्र नं. ४ को उम्मेदवार सन्तोषी पाण्डेविरुद्ध दिएको उजुरीमा छानबिन गर्दा उम्मेदवारले विपक्षी उम्मेदवारसँग पैसा लिएको देखिँदैन। यसर्थ कारबाही गर्नुनपर्ने।

४. केन्द्रीय कार्यालय दर्ता नं. ६०७ काठमाडौं क्षेत्र नं. ५ का प्रत्यक्षतर्फका उम्मेदवार महेन्द्र श्रेष्ठले पूर्व राज्य सदस्य शिव कोइरालाविरुद्ध दिएको उजुरीमा छानबिन गर्दा उम्मेदवार हुने शिवको इच्छा भएको र पहल गर्दा नपाएपछि असन्तुष्ट भएका कारण उहाँलाई पार्टीले अर्को क्षेत्रमा सरुवा गरेको पाइयो। सरुवापछि यस क्षेत्रमा कुनै प्रकारको अन्तर्घात गरेको पुष्टि हुने आधार फेला नपरेकोले सफाइ दिनुपर्ने देखिन्छ।

५. केन्द्रीय कार्यालय दर्ता नं. ६४९ काठमाडौं क्षेत्र नं. ३ मा यस क्षेत्रका प्रत्यक्षतर्फका उम्मेदवार गणेश रेग्मीले मनु हुमागाई, लक्ष्मण कार्की, गणेश लामा र विश्वनाथ योञ्जनविरुद्धको उजुरीमा छानबिन गर्दा वागी उम्मेदवार दिन लगाएर असहज स्थिति बनाएको पछि फिर्ता लिएपछि केही सकारात्मक भए पनि सक्रिय नभएपछि आशंकाको स्थिति बनिरहेको देखिन्छ। तर अन्तर्घात गरेको पुष्टि हुँदैन, सामान्य आलोचना गर्नुपर्ने।

६. केन्द्रीय कार्यालय दर्ता नं. ६१२ नुवाकोट क्षेत्र नं. ३ मा बलरामप्रसादको नेतृत्वमा बनेको तीन सदस्यीय आयोगले छानबिन गरेकोमा वेदनिधि मुडवरी र राधिका तामाङले अन्तर्घात गरेको देखिँदैन। एक आरोपी रामलाल भट्टले कांग्रेसको पक्षमा काम गरेको र हालै वैद्य माओवादीमा प्रवेश गरेको पुष्टि भएकोले निष्कासनको औपचारिकता पूरा गर्नुपर्ने देखिन्छ।

७. केन्द्रीय कार्यालय दर्ता नं. ६१२ धादिङ क्षेत्र नं. १ मा प्रत्यक्षतर्फका उम्मेदवार केन्द्रीय सदस्य पुष्पविक्रम मल्लले पूर्व राज्य कमिटी सदस्य उत्तम कँडेल, तारा भण्डारी र रामबहादुर भण्डारीविरुद्धको उजुरीमा छानबिन गर्दा अन्तर्घात पुष्टि गर्न निकै गाह्रो भए पनि चुनाउमा सहयोग नगरेको मात्र होइन, भ्रमपूर्ण कुरा गरेकाले रामबहादुर भण्डारीबाहेक अन्य दुईजनालाई कडा चेतावनी दिन सिफारिस गरिन्छ।

८. केन्द्रीय कार्यालय दर्ता नं. ६५१ सिन्धुली जिल्ला क्षेत्र नं. २ मा यस क्षेत्रका उम्मेदवार गंगानारायण श्रेष्ठले लेखनाथ दाहाल (राजन) विरुद्ध परेको उजुरीमा छानबिन गर्दा डीसीएम तथा नगरसचिव दीपराज बस्नेतलाई क्षेत्र नं. २ मा कुनै काम नदिएकोमा उनले गुनासो गरेपछि १ नं. क्षेत्रमा सहयोग गर्न राजनले बोलाएको देखिन्छ। गंगाले फर्काउन राजनसँग नभनेकाले अन्तर्घातभित्र यो विषय परेन।

थारूवान राज्यमा परेका उजुरीको स्थलगत छानबिनपश्चात् गरिएका सिफारिस :

१. केन्द्रीय कार्यालय दर्ता नं. ६४६ कैलाली जिल्ला क्षेत्र नं. ५ मा यस क्षेत्रका प्रत्यक्षतर्फका उम्मेदवार केन्द्रीय सदस्य लेखराज भट्टबाट केन्द्रीय सदस्य शक्ति बस्नेत र जिल्ला संयोजक हरिप्रसाद चौधरी (उत्सव) विरुद्ध परेको उजुरीमा छानबिन गर्दा थारूवान र अखण्ड सुदूर पश्चिमको सबालमा गत संविधानसभाको पृष्ठभूमिमा पार्टीमा मतमतान्तर भयो। यसले साम्प्रदायिक र क्षेत्रीय रूप लियो । जनस्थरसम्म यसको असर प:यो। यस सबालमा असन्तुष्ट थारू समुदायका युवा, जो उत्सवकै गाउँका हुन्,ले त्यो गाउँको निर्वाचन कार्यक्रममा लेखराजलाई निकै अप्ठ्यारो पर्ने गरी प्रश्न राखेको कुरासमेतले लेखराजलाई उत्सवप्रति शंका पैदा हुनु स्वाभाविक देखिन्छ। बाख्रा हराउनु र चितुवा कराउनु जस्तै भयो। तर सुरेश सिंशले थारूवानको मुद्दालाई बलियो बनाउन पनि लेखराजले जित्नुपर्छ भनेपछि उत्सव पनि कन्भिन्स भएको जानकारीको रिक्तताका कारण लेखराजलाई उजुरी हाल्नुपर्ने स्थिति बनेको देखिन्छ तर अन्तर्घातको आरोप पुष्टि हुन सक्ने देखिँदैन।

२. केन्द्रीय कार्यालय दर्ता नं. ६३८ कन्चनपुर जिल्लामा मनवीर ओड, श्यामकुमार राना र अनिलकुमार गिरीबाट केन्द्रीय सदस्य खड्ग बस्नेत र अजवसिंह रानाविरुद्धको उजुरीमा छानबिन गर्दा निर्वाचनभन्दा केही महिनाअगाडिदेखि जिल्ला पार्टीमा पूर्व राज्य समितिमा सदस्यबीचको चर्को विवादमा केन्द्रीय सदस्य खड्ग बस्नेत तानिनुभएको थियो।

संविधानसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक उम्मेदवारको छनोटको विषयमा खड्ग र पूर्व राज्य सदस्य अजव सिंह राना झन् विवादमा पर्नुभयो। क्षेत्र नं. १ बागी उम्मेदवारको विषयले झन् जटिलता थपिदियो। यद्यपि बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि वातावरण केही सहज भयो तर समानुपातिकको झमेला बाँकी नै रह्यो। आशंका र अविश्वासको जटिलताकै बीचमा हुने चुनाउ प्रचारले न व्यक्तिको हित ग:यो न त पार्टीको। अजबसिंह राना क्षेत्र नं. १ को संयोजक बन्ने कि अरू कोही बन्ने विषयमा भएको बहसले राम्रो निष्कर्षमा पु:याएन। खड्ग समानुपातिकको उम्मेदवार भएर पनि उत्साहपूर्वक नलागी कतिपय सन्दर्भमा पार्टीलाई सहयोग गर्न चाहिरहेका पार्टी बाहिरका व्यक्तिलाई उत्साहित गर्नुपर्नेमा सो नगरी उल्टै पार्टीको उम्मेदवार हार्छ भन्ने अभिव्यक्ति दिनु गल्ती भएको छ। उहाँमाथि कडा आलोचना गर्न सिफारिस गरिन्छ। अजबसिंह रानाको भूमिका सन्तुलित नदेखिएकाले आलोचना गर्न सिफारिस गरिन्छ।

३. केन्द्रीय कार्यालय दर्ता नं. ६२७ बर्दिया जिल्ला क्षेत्र नं. १ मा निर्वाचन अन्तर्घात छानबिन समितिले १ नं. का इन्चार्ज पूर्व राज्य सदस्य केशव पौडेलविरुद्धको उजुरीको छानबिन गर्दा आफूले प्रत्यक्ष र समानुपातिकमा उम्मेदवार नपाएपछि रुष्ट भएर पार्टीका जिम्मेवार कमरेडले उम्मेदवारविरुद्ध बोल्दै हिँंडेको र शंकास्पद गतिविधि गरेको देखिएकाले नसिहतसहित कडा आलोचना गर्न सिफारिस गरिन्छ।

४. केन्द्रीय कार्यालय दर्ता नं. ६२६ बाँके जिल्ला क्षेत्र नं. ४ मा बागेश्वरी गाविसको नाममा ३ नं. क्षेत्रका संयोजक डम्बर विकविरुद्ध परेको उजुरीको छानबिन गर्दा ४ नं. की उम्मेदवार केन्द्रीय सदस्य पूर्णकुमारी सुवेदीको उम्मेदवारीप्रति चित्त नबुझी नकारात्मक भाव दिने अभिव्यक्ति दिनु डम्बरको कमजोरी देखिन्छ। यो अन्तर्घातको विषय बन्न प्रमाण पुग्दैन। सामान्य आलोचनाको विषय बन्छ।

५. बाँके जिल्ला क्षेत्र नं. ३ का प्रत्यक्ष उम्मेदवारतर्फका उम्मेदवार दामोदर आचार्यबाट केन्द्रीय सदस्य महेश्वर गहतराज, केन्द्रीय सदस्य पूर्णकुमारी सुवेदी र केन्द्रीय सदस्य अतहर हुसेन फारुकी, पूर्व राज्य सदस्यहरू डम्बर विक, वेदप्रसाद आचार्य र सालिकराम सापकोटासमेतविरुद्ध परेको मौखिक उजुरी प्राविधिक कारणले छुट्न गएकाले जिल्लामा केन्द्रीय सदस्यहरूसहित सम्बद्ध सबै पक्ष बसेर हल गर्न निर्देशक गर्न सुझाउ गरिन्छ।

(ङ) किरात राज्यमा परेका उजुरीको स्थलगत छानबिनपश्चात् गरिएका सिफारिस :

केन्द्रीय कार्यालय दर्ता नं. ६१९ खोटाङ जिल्लामा केन्द्रीय सदस्य रामकुमार राईले पूर्वराज्य सदस्य हरीश्चन्द्र गिरीविरुद्ध दिनुभएको उजुरीको छानबिनका लागि हरीश्चन्द्रसँग सम्पर्क गर्न पहल गर्दा सम्भव नभएकाले लामो समय सम्पर्कबिहीन भएको आधारमा जिल्ला समितिबाट हरिशचन्द्रलाई निलम्बन गर्न र उजुरीलाई मुतलवी राख्न सिफारिस गरिन्छ।

पार्टीमा यतिखेर अराजकता व्याप्त भइरहेको सन्दर्भमा छानबिन समितिको रिपोर्ट रूपान्तरण र शुद्धीकरणका निम्ति कार्यान्वयन हुनु आवश्यक र अनिवार्य छ। यसर्थ यो प्रतिवेदनको मूल आत्मा कायम राखी अविलम्ब कारबाही गर्न केन्द्रीय कार्यालयसँग अनुरोध गर्दछौं अन्नपूर्ण पोष्ट डट कम अनलाईनले खबर लेखेको छ ।

१. संयोजक : हरिबोल गजुरेल

२. सदस्य : डिलाराम आचार्य

३. सदस्य : नवराज सुवेदी

४. सदस्य : विश्वनाथ साह

५. सदस्य : धर्मशिला चापागाई

-एकीकृत नेकपा माओवादीले गठन गरेको संविधानसभा निर्वाचन -२०७० अन्तर्घात छानबिन समितिको प्रतिवेदन।