मलेशियामा कम्पनीको यातना सहन बाध्य नेपाली

602 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

 मलेशिया, जेठ १७ – मलेशियाको शाह आलामशिरमुडामा रहेको एक स्टिकर कम्पनीमा काम गर्ने ११ जना नेपाली कम्पनीको ज्यादती सहेर बस्न बाध्य भएका छन् ।

समयमा तलब नदिने तथा कार्य स्थलमा सुपरभाइजरबाट हरेक दिन यातना सहेको उनीहरुको गुनासो छ ।

मलेशियाको राजधानी क्वालालुम्परको छेउमै रहेको शाहआलामशिरमुडामा अबस्थित मेघा लेबल कम्पनीमा काम गर्ने ११ नेपालीहरु सेवा सुबिधा तथा अन्य काममा सन्तुष्ट छैनन ।

सिन्धुलीका तोपलाल श्रेष्ठले यस कम्पनीमा काम गरेको ४ वर्ष भयो । ४ वर्ष अघि नै नेपालबाट मेनपावरले पठाउँदा १५ सय रिङ्गेट मासिक तलब हुन्छ भनेकोमा अहिले ४ वर्ष बितिसक्दा पनि उहाँले त्यति तलब पाउनुभएको छैन । ‘एजेन्टले त हामीलाई १५ सय रिङ्गेटसम्म कमाइ हुन्छ भनेको थियो, तर खै’ उहाँले दुखेसो पोख्नुभयो ।

हुन त एजेन्टका मीठा कुरामा मन गुलियो बनाएर परदेश आउने र यहाँ तीतो भोग्नेमा उहाँ मात्रै एक्लो होइन । अरु धेरैले यस्तै समस्या भोगिरहेका छन् । नेपालमा केहि एजेन्टहरुले बिदश जाने कामदारलाई मेनपावर कार्यालयसम्म पनि पुर्याउँदैनन् । यसरी आफुलाई बिदेश पठाउने मेनपावरको नाम र आधिकारिक ठेगाना नै थाहा नपाउने नेपाली पनि मलेशियामा भेटिन्छन् । यिनैमध्येका एक हुनुहुन्छ, सिन्धुलीका हिरा तामाङ्ग ।

उहाँ विगत ४ वर्षदेखि मेघा लेबल कम्पनीमा कार्यरत हुनुुहुन्छ । उहाँ पनि अरु जस्तै एजेन्टका मीठा कुरामा भर पर्नाले अहिले समस्यामा पर्नुभएको हो । आफुलाई बिदेश पठाउने मेनपावरको नाम ठेगानै पत्तो नपाएका नेपाली पनि यस मेघा लेबल कम्पनीमा कार्यरत छन् ।

आफु कुन संस्थामार्फत बिदेश जाँदैछु त्यो संस्थाले नेपालीलाई बिदेश पठाउने अनुमती पाएको छ कि छैन, उक्त सँस्था कानुनी रुपमा मान्यता प्राप्त हो कि होइन जस्ता धेरै कुरामा सँस्थाको पुरा जानकारी स्वयं विदेश जाने कामदारले खोजीनीति गर्नुपर्छ । यसो गर्दा आफुलाई उक्त संस्थाले भने अनुसारको काम र सेवा सुबिधा पाइएन भने संबन्धित निकायमा उजुरी गर्न र न्याय खोज्न सजिलो हुन्छ । फेरि कुरा मेघा लेबलकै । यस कम्पनीमा चार वर्षदेखि काम गर्दै गरेकादेखि भर्खरै आएका नेपाली पनि छन् ।  बस्ने होष्टल पनि राम्रो छैन । कामको सिलसिलामा सानो गल्ती हुँदा पनि हातपात गर्ने गरेको सबै नेपालीको गुनासो छ । ‘काम गर्दै गयो, गर्दागर्दै कहिलेकाहीँ ससानो गल्ती हुन्छ । त्यस्ता साना गल्तीबाट हामीले धेरैपटक सुपरभाइजरको पिटाइ समेत पाएका छौं’ कम्पनीले आफुहरुमाथि गरेको अमानवीय ब्यबहार सम्झँदै सिन्धुलीकै हिरा तामाङ्गले बताउनुभयो ।

अर्का पीडित काभ्रेका एकबहादुर तामाङ्ग भन्नुहुन्छ ‘हामीले सुपरभाइजरको गालीनपाएको त कुनै दिन नै हुँदैन । बेला बेलामा त पिटाइ पनि पाइन्छ । ’ अझ यस कम्पनीमा नया आउने नेपालीहरु बढी मर्कामा परिरहेका छन् । मेनपावरसँग गरेको सम्झौता अनुसारको केही पनि सेवा सुबिधा नपाउनु तथा सुपरभाइजरको किचकिच मेघा लेबलमा काम गर्ने नेपालीका लागि पैतालाको काँडै बनेको छ ।

कम्पनीमा दुई वर्षदेखि कार्यरत इलामका सोमनाथ लिम्बु भन्नुहुन्छ, ‘नआउनु आइहाल्यो । त्यत्तिकै फर्कौं साहुको ऋण छ । कम्पनी छाडौं अबैधानिक काम गर्दा ज्यान जोखिममा । त्यसैले पनि आफुहरु बाध्य भएर यस कम्पनीमा काम गरिरहेका छौं ।’

मेघा लेबल जस्तो कम्पनी मलेशियामा धेरै छन् । जहाँ नेपालीको मेहनत र पसिनाको महत्व बुझिएको छैन । उचित कदर भएको छैन  । नेपालबाट आउँदा आउन लागेको कम्पनीका काम, कमाइ तथा सेवा सुबिधाका बारेमा राम्रोसँग सोधखोज गर्न अनिवार्य छ । मेघा लेबलमा काम गर्ने ११ नेपालीले नयाँ आउने नेपालीका लागि यो सन्देश दिएका छन् ।

-उज्यालो अनलाइनवाट साभार