मारमा किसान, मालामाल बिचाैलिया, किसानबाट उपभाेक्तासम्म तरकारी पुग्दा तीन सय प्रतिशत मुनाफा

616 पटक पढिएको

सम्पादक: Dhadingnews.com

कञ्चन अधिकारी
धादिङ । धादिङ, छत्रेदेउराली-२ का शिवप्रसाद बास्कोटा  आफूले उत्पादन गरेको गोलभेँडा १७ रुपैयाँ किलोमा कालिमाटी तरकारीमा पठाउँछन् । काठमाडौंमा कति रुपैयाँ किलो छ उनलाई थाहै छैन । बारीबाट ‘माल’ उठाउने व्यवसायीले जति पैसा हातमा थमाइदियो उनी हाँसेर लिन्छन् ।

तर,  उनकै छोरा बाबुकृष्ण चाहिँ अनामनगरको फुटपाथ पसलबाट त्यही गोलभेँडा ५० रुपैयाँ प्रतिकिलोको दरमा किन्छन् । गोरखा ध्याल्चोककी इन्दिरा रेग्मी घ्याल्चोकबाट धवदी ल्याएर करेला प्रतिकिलो १० रुपैयाँमा बेच्छिन् । उनले बेचेको त्यही करेलालाई  काठमाडौंका उपभोक्ताले प्रतिकिलो ६० रुपैयाँभन्दा बेसी तिर्नुपर्छ ।
घ्याल्चोककै अर्का किसान खोमनाथ अधिकारीले छ रोपनीमा लगाएको करेलाको भाउ यसपाली परेन । लामोसमयसम्म चलेको खडेरीमा चिट्चिट् पसिना काढ्दै फलाएको करेलाले भाउ नपाउँदा उनी चिन्तित छन् । भन्छन्, ‘यसपाली व्यापारीले तरकारीको भाउ नै छैन भन्देका छन् । होला भनेर पत्याएर बसेको छु । भाउ परेन भनेर त्यतिकै फल्न पनि त भएन । जतिमा भन्छन् त्यतिमा नै दिएको छु ।’ उनका अनुसार आइतबार उनले १० रुपैयाँ प्रतिकिलोको दरले व्यापारीलाई तरकारी बेचे ।
यी माथिका घटनाले भन्छ कि किसानले उब्जनी गरेका तरकारी उपभोक्तासम्म आइपुग्दा तीन सय प्रतिशत भन्दा बढी महँगो भइसकेको हुन्छ । किसानले मरीमरी गरेको परिश्रमको फल  बिचौलियाले भने त्यति धेरै मेहनत नगरी धेरै नाफा खाइरहेका छन् ।
चाहे त्यो धादिङका किसान हुन् या गोर्खाका । काभ्रेका हुन् कि सिन्धुपाल्चोकका नै किन नहुन । काठमाडौं, पोखरा, नारायणगढ, बुटवल, सुर्खेतसम्मको लागि तरकारी उब्जनी गर्ने किसानहरुबीचमा रहेका बिचौलियाको मारमा परेका छन् ।
धादिङका धवदी, चरौंदी, बेनिघाट, सलाङघाट, मलेखु, धार्केलगायत तरकारी संकलनकेन्द्रमा गत शनिबार किसानले गोलभेंडाको भाउ दानाअनुसार किलोको २५ देखि ३५ रुपैयाँ पाए। राजधानी पठाइएका तिनै केन्द्रका गोलभेंडा मंगलबार काठमाडौंका खुद्रा पसलबाट उपभोक्ताले घटीमा प्रतिकिलो ६०रुपैयाँ तिर्नुपर्‍यो ।
काठमाडौंसँग जोडिएको जिल्लाहरुको ‘तरकारी हब’ मानिने ठाउँबाट  राजधानी ल्याउँदा प्रतिकिलो दुर्इ रुपैयाँभन्दा बढी लागत लाग्दैन। हिसाब गर्ने हो भने त्यहाँ १५ रुपैयाँमा पाइने कुनै पनि तरकारी राजधानी आइपुग्दा १७ रुपैयाँ भन्दा बढी पर्दैपर्दैन ।
कालिमाटी तरकारी बजारमा झारिसकेपछि किसानबाट कालिमाटीसम्म ल्याउने व्यापारीले दुर्इ रुपैयाँ नाफा राखेर कालिमाटीका थोक व्यवसायीलाई बेचे भने, थोक व्यवससायीले पनि दुर्इ रुपैयाँ नै नाफा खाएर खुद्रा पसलेलाई १९ रुपैयाँमा तरकारी बेच्ने हो र खुद्रा पसलेले पनि दुर्इ रुपैयाँ नै नाफा खाएर उपभोक्तालई बेच्ने हो भने २३ रुपैयाँ प्रतिकिलो भन्दा बढी पर्दैन ।
तर त्यही तरकारी उपभोक्ताले किन्नुपर्दा बिचमा रहेका बिचौलियाले धेरै नाफा खाँदै आँउदा उपभोक्ताले तीन सय प्रतिशतसम्म महँगो तिर्नुपर्छ । छत्रेदेउरालीका तरकारी किसान बास्कोटा भन्छन्,’हामी मरी मरी काम गर्नेले भाउ नै पाउँदैनौ । तर बीचमा मिलाएर खानेहरुले तीनगुणासम्म नाफा गर्छन् ।’
तरकारी संकलनकेन्द्रदेखि कालिमाटी र कालिमाटीदेखि खुद्रा बजारसम्म आइपुग्दा बिचौलिया व्यापारीमात्र पोसाउनाले बढी फाइदा लिनुपर्ने किसान र भाउमा राहत पाउनुपर्ने उपभोक्ता दुवै ठगिइरहेका छन्। अझ संकलनकेन्द्रबाट राजधानी ल्याउने बिचौलिया व्यापारीभन्दा कालिमाटीबाट उपत्यकाका विभिन्न क्षेत्रसम्म पुर्‍याउनेहरुले नै बढी नाफामा खाइरहेका छन् ।
रेग्मी भन्छिन्, ‘किसानसँग किनेर कालिमाटीमा बेच्नेले पनि त्यति धेरै नाफा खाँदैनन् । उनीहरुले हामीसँग करोबार गरिरहनुपर्ने भएकोले त्यति धेरै नाफा खाँदैनन् । तर चारतिरबाट भाउ बुझिबुझि बार्गेनिङ गर्नेहरुले टन्नै नाफा खान्छन् ।’
तरकारी ल्याउने आआफ्नै सञ्जाल
किसानले उत्पादन गरेको वस्तु उपभोक्तासम्म आइपुग्दा धेरै तह पार गर्नु पर्छ । उत्पादकदेखि उपभोक्तासम्म पुग्न धेरैवटा व्यापारिक तह पार गर्नुपर्दा उपभोक्ताले तरकारी महँगोमा किन्नुपर्छ । काठमाडौंसँग जोडिएको धादिङ, गोर्खाबाट तरकारी उपभोक्तासम्म आइपुग्न बढीमा छ तह पार गर्नुपर्छ- कृषक, सहकारी, स्थानीय व्यापारी, कालिमाटीका थोकबिक्रेता, उपत्यकाका क्षेत्रीय बिक्रेता र खुद्रापसले। यही धेरै चरणले गर्दा उपभोक्ताले बढी मूल्यमा तरकारी किन्नु परेको किसान अधिकारी बताउँछन् ।
किसानका अनुसार अधिकांश बिचौलियाले नाफा गरेर नै सहरका विभिन्न ठाउँका घरघडेरी जोड्न भ्याएका छन् । बास्कोटा भन्छन्, ‘तरकारी उत्पादन गर्ने हामी किसान जहाँको तहीँ छौ । तर अस्ति भर्खरबाट तरकारी ल्याउने लाने धेरैले काठमाडौंमा जग्गा किनेसके ।’
धादिङका प्राय सबै क्षेत्रका किसान संकलनकेन्द्रमार्फत आफ्ना उत्पादन बिक्री गर्छन्। यस्ता केन्द्र स्थानीय कृषि सहकारीले चलाएका छन्। किसानले आफ्ना उत्पादन नजिकका संकलनकेन्द्र पुर्याएपछि व्यापारीसँग भेट्न त पाउँछन् तर भाउमा बार्गेनिङ हुँदैन। भाउ पहिले नै राजधानीमा तय गरेर गइएको हुन्छ ।
यदि किसानले बार्गेनिङ गर्ने हो भने उसको तरकारी राजधानीमा आउँदैन । किसानले त्यही कुहाउनुको विकल्प हुँदैन । ‘कतिचोटी आफैँले लगाएको तरकारी निल्नु न ओकल्नु हुन्छ’, तीनवर्ष अघि एक रुपैयाँ किलो बन्दा बेचेको सम्झँदै बास्कोटा भन्छन्, ‘भाउ पाइएन भनेर नबेचौँ तरकारी बारीमै कुहिएर जान्छ । बेचौं गाडी भाडा पनि उठेन भनेर व्यापारी भन्छन् ।’
व्यापारी र किसानलाई भेट गर्ने वातावरण मिलाइदिएबापत सहकारीले भने सेवाशुल्क लिन्छ। यसरी हेर्दा किसानहितका निम्ति भनेर चलाइएका सहकारीसमेत बिचौलिया बनेर किसानै ठगिरहेका देखिन्छन्। कतिपय ठाउँमा भने स्थानीय कृषकको तरकारी स्थानीयले नै उठाएर कालिमाटी लैजाने गरेका छन् । रेग्मी भन्छिन्, ‘सहकारी भन्छन् तर सहकारीमा भन्दा व्यक्तिले तरकारीको भाउ दिन्छन् ।’ उनले धवदीमा रहेङ्को सामूहिक कृषि सहकारी मार्फत तरकारी बेच्दै आएकी छिन् ।
धादिङका सबैजसो सहकारीले सदस्य किसानसँग दुर्इ प्रतिशत र गैरसदस्यसँग तीन प्रतिशत सेवाशुल्क लिने गरेका छन्। त्यसबाहेक व्यापारीले तरकारी हाल्ने झोला वा बोराको खर्च पनि किसानलाई तिराउँछन्।
‘सबै खर्च नजोडे घाटा भइहाल्छ नि,’ धादिङबाट पोखरा, नारायणगढ, बुटवललगायत बजारमा तरकारी पठाइरहेका चरौंदीका ईश्वर थपिलया भन्छन्, ‘गाडीबाट एउटा क्रेट झारेको मात्र मजदुरले पाँच रुपैयाँ लिन्छन्, कति तरकारी वेस्टेज जान्छ, यस्तो खर्च कसले देख्छ?’
धादिङका विभिन्न स्थानबाट राजधानी तरकारी पठाउने यस्ता व्यापारीले किलोमा कम्तीमा पाँचदेखि १० रुपैयाँसम्म नाफा लिएरमात्र कालिमाटीका थोकबिक्रेतालाई बेच्ने गरेका छन्। यसले तरकारीको भाउ ह्वात्तै बढाउने गरेको छ। सहकारीले सहजीकरण गरिदिएकै नाममा लिने शुल्कले मूल्य थप पाँच प्रतिशत बढाएको छ।
उत्पादन बढेका बेला बजारमा धेरै तरकारी आउने गरेकाले घाटा सहेको तर्क गर्दै यस्ता व्यापारीले उत्पादन कम भन्दै भाउ कस्ने गरेका छन्। यसपाली करेलाको भाउ घट्नुमा उत्पादन बढी भएको भन्दै व्यापारीले भाउ नदिएको किसानको गुनासो छ । व्यापारीले तराइको जिल्लामा तरकारी उत्पादन भएकोले तरकारीको भाउ कम बताउँदै आएका छन् ।

थोक विक्रेताबाट उपभोक्तासम्म लैजाँदा सबैभन्दा बढी भाउ बढ्ने
किसानबाट थोकबिक्रेतासम्म तरकारी आइपुग्दा मात्रै होइन, थोकबिक्रेताबाट किनेर खुद्रा बिक्री गर्नेले झन् बढी नाफा लिने गरेका छन्। कालिमाटीबाट तरकारी उठाइसकेपछि त्यहाँको मूल्यभन्दा तरकारी प्रतिकिलोको २० देखि ४० रुपैयाँसम्म बढी लिने गरेका छन् । यसले राजधानीभित्रै खुद्रा बिक्रेताले नाफा बढी राखेर उपभोक्तालाई महँगोमा तरकारी बेच्ने गरेको देखायो।
बजार नियमन र अनुगमन निकाय वाणिज्य विभागले हालै गरेको उपभोक्ता सर्वेक्षणले महँगै परे पनि राजधानीका प्राय उपभोक्ता तरकारी किन्न सस्तो बजार पुग्दैनन्, नजिककै खुद्रापसल रोज्छन्। यसले तरकारीका खुद्राबिक्रेतालाई नजिकका ग्राहकसँगै बढी पैसा असुल्न सजिलो बनाइदिएको छ।

तरकारी किसानले बेच्ने मूल्य (रुपैयाँमा) सहकारी/व्यापारीले बेच्ने मूल्य (रुपैयाँमा) कालिमाटी थोक बजारको मूल्य (रुपैयाँमा) खुद्रा पसलेले बेच्ने वा उपभोक्ताले किन्ने मूल्य (रुपैयाँमा)
करेला १० १४ २४ देखि ३० ५० देखि ६०
रामतोरिया २० २२ देखि २६ ३५ देखि ४० ५५ देखि ६०
भेन्टा १२ १४ देखि १५ २० देखि २६ ३५ देखि ४०
लौका २० देखि २५ २६ ३० ३५
बोडी ४० ३५ ४० देखि ४५ ५० भन्दा माथि
फर्सी १५ २० २८ देखि ३२ ३५ देखि ४०
गोलभेडा २० २२ ४५ देखि ५० ६०
स्रोत: किसान, सहकारी, कालिमाटी थोक विक्रेता, कोटेश्वर तथा राजधानीका विभिन्न खुद्रा पसल

यसैबीच खुद्रा पसलेले थोरै परिमाणमा तरकारी महँगोमा बेच्नु स्वभाविक रहेको कालिमाटी तरकारी तथा फलफूल पसलका थोक विक्रेता सागर रिजाल बताउँछन् । ‘हामीले किसानबाट आएको तरकारीमा बढीमा ५ रुपैयाँ मार्जिन राखेर बेच्छौं । तर खुद्रा पसलेले त्यसको दोब्बरमा बेच्छन्,’ रिजाल भन्छन्, ‘ थोरै बेचेर नाफा निकाल्नुपर्छ, पाँच किलो लैजाने व्यापारिले दिनभरीमा तीन किलो बेच्ला दुई किलो घाटा हुनसक्छ । त्यसैले महँगोमा बेच्न बाध्य छ ।’
उनका अनुसार खुद्रा पसलेले वेष्टेज सामानको समेत पैसा उठाउनुपर्ने भएकोले पनि महँगोमा बेच्नु परेको हो । उनी उपभोक्तालाई नजिकैको तरकारी बजारमा गएर किन्दा सस्तो पर्ने बताउँछन् । रिजाल भन्छन्, ‘धेरै बेच्नेले थोरै मार्जिन राखेर बेच्छ र सस्तो पर्छ । उपभोक्ताहरुले खुद्रापसल भन्दा तरकारीको होलसेल पसलबाट बिहान आठ देखि १० बजेसम्म किन्न आए सस्तो पर्छ ।’
बेच्न व्यापारीकै भर
आफैले उत्पादन गरेको तरकारी आफैले बजारसम्म लैजाननसक्दा पनि किसानले कम मूल्यमा आफ्ना उत्पादन बेच्नु परेको छ । बास्कोटा भन्छन्, ‘आफैँ लिएर जान भ्याइन्न । व्यापारीलाई नै छाड्दियो उसैले तोकेको मूल्यमा चित्त बुझाउनुपर्छ ।’
त्यसो त कतिपय किसानलाई व्यापारीले मल बीउ थाक्रा औषधी औजार लगायतका सामाग्रीमा पहिले नै लगानी गरिदिनाले पनि किसान व्यापारीकै भरमा तरकारी बेच्न बाध्य छन् । व्यापारीले तरकारी उत्पादन भएपछि पैसा कटाउने सहमतिमा किसानमाथि लगानी गर्ने गरेका छन् । अधिकारी भन्छन् ,’हामी खेती गर्न लाग्नु कि व्यापर गर्न ? बरु उनीहरुलाई जिम्मा दिएपछि टन्टै साफ ।’ अधिकारीले यो वर्ष चार लाख बराबरको तरकारी बेचिसकेका छन् । ज्यामी, औषधी, मल र बीउ गरेर अधिकारीले यो मौसममा झण्डै डेढ लाख रुपैयाँ तरकारीमा लगानी गरेका थिए ।

-बिजमाण्डू डट कमवाट